×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना प्रभाव : गोकर्णेश्वरमा हुने चामुण्डा रथयात्रा स्थगित !

LAXMI SUNRISE BANK

कोरोना प्रभाव : गोकर्णेश्वरमा हुने चामुण्डा रथयात्रा स्थगित !

१७ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा आयोजना गरिने ऐतिहासिक चामुण्डा रथयात्रा यस वर्ष कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण स्थगित गरिएको छ । चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँका दिन गोकर्णेश्वरको जोरपाटी र काठमाडौँ महानगरपालिका–६ बौद्ध क्षेत्रमा गणेश, भैरव र चामुण्डादेवीको रथयात्रा गर्ने परम्परा थियो । यात्रामा हजारौँ भक्तजन सहभागी हुन्थे । रथयात्रा गर्दा भीड जम्मा भई रोगको सङ्क्रमण बढ्न सक्ने भएकाले यस वर्षका लागि स्थगित गरिएको हो । 
यस वर्ष कोरोनाका कारण यात्रा गर्न नसके पनि मूर्ति निकालेर पूजाआजाको विधि भने पूरा गरिने कोषका अध्यक्ष विमलमान श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यसैगरी अष्टमीकै दिन चैत १९ गते यात्रा चलाउन नसकेकामा क्षमापूजासमेत गरिने छ । कोरोनाकै कारण यस वर्ष चैत्र नवरात्रका अवसरमा देशभरका देवी मन्दिरमा कमै मात्र भक्तजन देवीको दर्शन गर्न आएका छन् । वर्षका चार नवरात्रमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षको नवरात्रमा चामुण्डालगायत देशभरका देवी मन्दिरमा पूजापाठ र दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस वर्ष पशुपति क्षेत्रस्थित गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, कालिकास्थान, बिजेश्वरी, शोभा भगवती, रक्तकाली, श्वेतकाली, इन्द्रायणीलगायत देवी मन्दिरमा कमै मात्र भक्तजन देखिएका छन् ।
विशेषगरी बिहानै भक्तजन आएर बाहिरबाटै दर्शन गरेर फर्कने गरेका छन् । चामुण्डा मन्दिरमा कोरोनाको महामारी अन्त्य भई विश्वभर शान्ति कायम होस् भन्ने संकल्पले चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत १३ गतेदेखि शतचण्डी आयोजना गरिएको छ । कान्तिभैरव गुरुकुल उत्तरवाहिनीका ब्राह्मण वटुकले चण्डी पाठ गरिरहेको कोषले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी