Skip to content
LAXMI SUNRISE BANK

विपतका बेला विद्युत प्राधिकरणको उपहार : इन्डक्सन चुल्हो प्रयोग गर्दा विद्युत महसुलमा २० प्रतिशत छुट !

अर्थ सरोकार

काठमाण्डौं । सरकारले लकडाउनका बेला विद्युतीय चुल्हो (इन्डक्सन) बाट खाना पकाउँदा विद्युत महसुलमा छुट दिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले इन्डक्सनबाट खाना पकाउँने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन गरी इन्डक्सन चुल्हो प्रयोग गर्दा लाग्ने शुल्कमा छुट दिन निर्देशन दिएका हुन् । इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १ सय ५० युनिटसम्म २० प्रतिशत महसुल छुट दिन मन्त्री पुनको निर्देशन छ ।
मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताउनुभयो । ‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ, विद्युत हाम्रो आफ्नै उत्पादन हो,’ मन्त्री पुनले भन्नुभयो, ‘यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्छ, व्यापार घाटा पनि कम हुन्छ ।’मन्त्री पुनले ग्यासमाभन्दा सस्तो पर्ने भएको उपभोक्तालाई इन्डक्सनमा खाना पकाउन आग्रहसमेत गर्नुभयो । ‘महसुल छुट नदिँदा पनि ग्यासभन्दा इन्डक्सन सस्तो पर्छ’, भन्नुभयो, ‘छुटपछि त झन् सस्तो पर्न आउँछ ।’
विद्युतको आन्तरिक खपत बढाउन पनि मन्त्रालयले यस्तो निर्णय गरेको बताउनुभयो । यो निर्णय तत्काल कार्यान्वयनमा आउने पनि मन्त्री पुनले स्पष्ट पार्नुभयो ।
कोरोना भाइरसको संक्रमणका कारण मुलुक नै लकडाउन भएपछि विद्युत खपतमा भारी गिरावट आएको छ ।बिहान बेलुकाको समयमा विद्युतको माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकामा हाल सो घटेर पिक आवरमा समेत ९ सय ४५ मेगावाटमा सीमित भएको छ ।
यसअघि बुधबार बसेको नोभेल कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो । यसअघि इन्डक्सन चुल्हो आयातमा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK