काठमाडौं । सरकारले पशुपति आर्यघाटमा सकेसम्म २५ जनाभन्दा बढी मलामी नआउन अनुरोध गरेको छ ।सरकारले एकै ठाउँमा २५ जनाभन्दा बढी भेलामा प्रतिबन्ध लगाएसँगै पशुपति आर्यघाटमा सकेसम्म २५ जनाभन्दा बढी मलामी नआउन अनुरोध गरेको हो । सरकारको निर्णयलाइ ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन आग्रह गरेको हो ।
कोषका सदस्य सचिव प्रदीप ढकालले यसको लागि घाटमा सूचना दिइसकिएको जानकारी दिए । नियमित नित्य पूजा नियमित चलिरहन्छ, तर बाहिरको पशुपति आरती भने भोलिदेखि बन्द हुने पनि उनले बताए । कोषका कार्यकारी निर्देशक डा. घनाश्याम खतिवडाका अनुसार मन्दिर क्षेत्रभित्र प्रवेश गर्ने यात्रुलाई हात धोएर मात्रै जाने व्यवस्था गरिएको छ । साथै पूजाअर्चनामा पनि विशेष सतर्कता बढाइएको छ । त्यसैगरी घाट र विद्युतीय शवदाह गृहको सरसफाइलाई पनि ध्यान पुर्याइएको छ ।