×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोच्चमा एनसेलको चलखेल, लाभकर नतिरी उम्कन खोज्दै सतिशलाल

PRIME CA

सर्वोच्चमा एनसेलको चलखेल, लाभकर नतिरी उम्कन खोज्दै सतिशलाल

१८ मंसिर २०७५, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

  • दृष्टि साप्ताहिकबाट 
काठमाडौं – एनसेल बिक्रीबापत करिब ७० अर्ब रुपैयाँ पूँजीगत लाभकर असुलीसम्बन्धी मुद्दाको सुनुवाइ पुनः स्थगित भएको छ । गत बिहीबार एनसेल सम्बन्धी मुद्दाको पेशी सर्वोच्च अदालतले पुनः स्थगित गरेको छ । गएको असोज १८ मा एनसेलको मुद्दा सर्वोच्चको संयुक्त इजलासले हेर्दाहेर्दैमा राखेको थियो । हेर्दाहेर्दैमा राखिएको मुद्दाको पेशी छिटोछिटो तोकेर टुंगो लगाउनुपर्ने हुन्छ । तर, सर्वोच्चले २ महिनापछि पेशी तोकेर पुनः स्थगित गरेको छ ।
एनसेलको लाभकर असुली मुद्दा २०७४ पुसदेखि अहिलेसम्म पटक पटक स्थगित हुँदैआएको छ । एनसेलले लाभकर नतिरेसम्म मुनाफा विदेश लैजान राष्ट्रबैंकले रोक लगाएपछि सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । जुन रिटमा सर्वोच्च अदालतले २०७४ पुस ९ मा मुनाफा विदेश लान पाउने फैसला गरेको थियो । जुन फैसलाले गर्दा मुनाफा रोकेर लाभकर असुल्ने सरकारको रणनीति पनि असफल भएको छ । एनसेल नेपालमा दर्ता भएको कम्पनी हो र ब्यवसाय पनि नेपालमै गरेकाले त्यसको खरिदबिक्रीमा लाभकर तिर्नैपर्ने हुन्छ । लाभकर नतिरी कम्पनीको सेयर खरिदबिक्री सम्झौता गर्नुमै ठूलो आर्थिक घोटाला थियो । त्यसपछि न्यायालयबाट लाभकर विदेश लान पाउने अन्तरिम आदेश भएको १ बर्ष पुग्न लाग्दा पनि मुद्दा टुंगो लाग्न नसक्नुले राज्यलाई अर्बौ राजश्व नोक्सान भएको छ । कुनैबेला इटलीमा माफियाले सरकार चलाएजस्तै नेपालमा पनि हुन थालेको एनसेलले लाभकर नतिर्न राज्यका सबै निकायमा पारेको प्रभावबाट देखिएको छ । एनसेलले लाभकर तिर्नुपर्छ भन्ने पक्षमा २०७० को ब्यवस्थापिका संसद अन्तर्गत सार्वजनिक लेखासमितिमा कडा अडान राख्ने पूर्वसांसद रामहरि खतिवडाले भनेजस्तै इटलीमा मन्त्री र प्रशासकदेखि न्यायाधीशसम्म माफियाको इशारामा बन्थे भनेजस्तै नेपालमा पनि एनसेलले सबै निकायमा प्रभावमा पारी लाभकर मुद्दामा उन्मुक्ति पाउने चलखेल गर्दैआएको पुष्टी हुन थालेको छ । 
सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ दैनिक पेशी सूचीमा चढ्नुअघि नै स्थगित भएपछि एनसेलको प्रभाव राज्यका सबै निकायमा परेको स्पष्ट भएको छ । एनसेलका लगानीकर्ता सतिशलाल आचार्य र सचिनलाल आचार्यले अदालतमार्फत् एनसेल मुद्दा टुंगोमा पुग्न नदिने योजनामा सफल भएका छन् । आचार्य दाजुभाइले मिश्र आगामी पुस १६ गते अवकाश भएपछि चोलेन्द्रशमशेर राणाबाट एनसेलको मुद्दा आफूअनुकूल फैसला गराउनेगरी सेटिङ गरेकाले हेर्दाहेर्दैमा राखिएको मुद्दाको पेशी स्थगित गरिएको स्रोत बताउँछ । चोलेन्द्रशमशेर राणालाई प्रधानन्यायाधीश बनाउनका लागि आचार्यहरुले ठूलै लगानी गरेको हल्ला र मुद्दाको पेशी सार्दैसार्दै उनी प्रधानन्यायाधीश भएपछि मात्र अनुकूल फैसला गराउन खोजिएको देखिएपछि यसलाई संयोगमात्र मान्न सकिंदैन । एनसेलको लाभकरको मुद्दा सर्वोच्च अदालतका न्यायाधीशहरु शारदा घिमिरे, विश्वम्भरप्रसाद श्रेष्ठ, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ र टंक मोक्तानको संयुक्त इजलासले गएको असोज १८ मा हेर्दाहेर्दैमा राखेका थिए । 
महालेखा परीक्षकको बार्षिक प्रतिवेदन २०७३ मा आयकर कानुनबमोजिम एनसेलले पुँजीगत लाभकर तिर्नैपर्ने ठहर गरी उसले तिर्नुपर्ने रकम बेरुजु कायम गरेको थियो । महालेखाले बेरुजु कायम गरेपछि एनसेलले २३ अर्ब ५६ करोड लाभकर तिरेको छ । तर अझै करिब ७० अर्ब तिर्न बाँकी छ । २०७४ पुससम्म ६५ अर्ब लाभकर तिर्नुपर्ने देखिए पनि अहिले ब्याज र जरिवाना समेत गरी ७० अर्ब रुपैयाँ नाघिसकेको छ । तर एनसेलले ७० अर्ब लाभकर तिर्नु भन्दा पनि राजनीतिक दलका नेता, संसदीय समिति, अख्तियारलाई प्रभावमा पारेर नभई रिटमार्फत् अदालतमा सेटिङ गरी बिक्री गर्ने टेलियासोनेराले नै लाभकर तिर्नुपर्ने फैसला गराउने योजनामा छ । सतिसलाल दाजुभाइले त्यसकै लागि चोलेन्द्रशमशेर राणालाई प्रधानन्यायाधीश बनाएपछि मात्र फैसला गराउने डिजाइन अन्तर्गत पेशी सार्दै आएका छन् । जुन डिजाइनमा उनीहरु सफल भएका छन् । अब एनसेलको पेशी मिश्र प्रधानन्यायाधीशबाट बिदा भएपछि र चोलेन्द्रशमशेर आएपछि मात्र हुने बताइन्छ । जबकि २३ अर्ब ५६ करोड लाभकर एनसेलले यसअघि तिरिसकेकाले ऊ दायित्वबाट उम्कन कानुनतः सक्दैन । तर चोलेन्द्रशमशेर राणाजस्ता विवादास्पद न्यायाधीशले स्व. राजा वीरेन्द्र शाहको सम्पत्तिलाई प्रेरणा शाहको दाइजो भनेर फैसला गर्नसक्नेले टेलियासोनेराले लाभकर तिर्नुपर्छ भनेर फैसला नगर्लान् भन्न सकिंदैन । किनकि टेलियासोनेरा आफ्नो सेयर बिक्री गरी उम्किसकेको छ । उसलाई करको दायरामा ल्याउन संभव छैन । एनसेलका सतिसलाल आचार्यहरुको दाउ यही हो । तर यो देशका राजनीतिक दलका शीर्षनेताहरु एनसेलबाट लाभकर असुली गर्नेबारेमा मौन छन् ।
(यो समाचार दृष्टि साप्ताहिकबाट साभार गरिएको हो । )
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: