
काठमाडौं । भारत भ्रमणका क्रममा गरेका सम्झौताका कारण तीव्र विवादमा तानिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकाको न्युयोर्क यात्रा स्थगित गर्नुका मुख्य तीन कारण खुलेका छन् ।
आफूले गरेका गल्तीको माफी माग्दै भारतसँग मिलेर अघि बढ्ने र चीनसँग दूरी बढाउने भनी सहमति गरी फर्किएका प्रचण्डका लागि देशभित्र र बाहिर पनि समस्याका चाङ छन् । ‘अकास्मात न्युयोर्क भ्रमण स्थगनको निर्णय नेपालभित्रको समस्या सुल्झाउन गरिएको हो ’,स्रोतले भन्यो, ‘अरू खास कारण छैन ।’ तर, महासभामा भाग लिन पाउने अवसरलाई प्रचण्डले यसै भने छाडेका होइनन् ।
एमालेलगायत प्रतिपक्षी दल र सामाजिक सञ्जालमा भारतमा गरिएको सम्झौताको तीव्र आलोचना भएपछि सरकारविरुद्ध बढेको जनमत मत्थर बनाउन प्रचण्डले गृहकार्य गर्ने भएका छन् । विदेश नीति र समर्थनका विषयमा भारतसँग परामर्श गर्ने भन्ने विषयको तीव्र आलोचना भएको थियो । ‘यो आलोचना चिर्न पनि न्युयोर्क यात्रा स्थगन गरिएको हो’, स्रोतले भन्यो, ‘यसबाहेक माओवादीलाई फसाउन अन्य योजना पनि बनेका छन्, संविधान संशोधनको विषयमा सहमति पनि गर्नुछ ।’
स्रोतका अनुसार प्रचण्डलाई अर्को डर अमेरिकामा उनीविरुद्ध पर्न सक्ने उजुरी विरोधको कार्यक्रम पनि थियो । विश्वमा आतंकवादी र विद्रोहीको विरोधमा अहिले अमेरिकामा चलिरहेको बहस, राष्ट्रपतीय चुनावको पूर्वसन्ध्यामा चर्चामा छ । यही बेला प्रचण्डविरुद्ध पर्न सक्ने उजुरीले माहोल बिग्रन सक्ने अड्कल बालुवाटारले काटेको थियो । त्यसकारण पनि प्रचण्डको न्युयोर्क यात्रा स्थगन भएको स्रोतको दाबी छ ।
अस्ट्रेलियामा जस्तै अमेरिकामा पनि माओवादी विरोधीले उजुरबाजुर गर्न सक्ने र विरोध गर्ने शंका देखेपछि प्रधानमन्त्री पुष्कमल दाहालले भ्रमणमा नजाने निधो गरेका थिए । अन्तिम समयमा प्रचण्डविरुद्ध अस्ट्रेलियामा उजुरी परेपछि प्रचण्डले भ्रमण स्थगन गरेका थिए । त्यसपछि उनले भनेका थिए, ‘त्यो झमेलामा पर्नुभन्दा नपरेको राम्रो भनेर नगएको हुँ ।’
राष्ट्रसंघको सुरक्षा परिषद्मा भारतलाई मतदान गर्ने भन्ने सहमतिको विरोध चलिरहेको छ । त्यहीँ माथि नेपालको संविधान संशोधनको विषय दुई प्रधानमन्त्रीबीच संयुक्त वक्तव्यमा आएपछि झन् विरोध चुलिएको छ । यता, अख्तियारको पत्रकार सम्मेलनमा माओवादी क्यान्टोनमेन्ट भ्रष्टाचारको मुद्दा ब्युँताउने कुराले पनि प्रचण्ड संकटमा परेका थिए । सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारबीच चलिरहेको तेहेरो विषयले पनि समस्यामा पारेपछि प्रचण्डले समस्या समाधानका नाममा न्युयोर्क भ्रमण रद्द गरेका हुन् ।
यता, प्रचण्डको अनुपस्थितिमा कार्यबाहक प्रधानमन्त्रीका रूपमा रहने विमलेन्द्र निधिले जथाभावी निर्णय गराउनेतर्फ पनि प्रचण्ड सचेत छन् । भारत जानासाथ पत्रकार सम्मेलन गरी मधेसका सबै मुद्दा फिर्ता लिने निर्णय विवादमा तानिएपछि प्रचण्डले निधिको सातो पनि लिएका थिए । प्रधानमन्त्रीसँग कुनै सल्लाह नै नगरी निधिले एकलौटी रूपमा पत्रकार सम्मेलन गरी मधेसका मुद्दा फिर्ता लिने बताएका थिए । जबकि मधेसमा क्रुर तरिकाले मारिएका प्रहरीहरूका परिवारले हत्याराविरुद्ध किटानी जाहेरी नै गरेका थिए ।
‘मधेसको समस्या समाधानका लागि गम्भीर हुनुपर्ने बेला छ । त्यही ँमाथि बिदैबिदा आइरहेका बेला विदेश भ्रमण मात्र जाने हो भने मुलुकको समस्या कसरी समाधान हुन्छ ? त्यसैले समस्या समाधानका लागि उहाँ नजानु भएको हो, अरू केही कारण छैन’, स्वकीय सचिव प्रकाश दाहालले भने, ‘सरकार विरोधीले चलाएको हल्लाजस्तो केही पनि होइन ।’
यता, प्रचण्डले समस्या समाधानका लागि आफू गम्भीर रहेको बताइरहँदा संविधान दिवस पनि मनाएका छन् । त्यसक्रममा जायज विषयलाई लिएर संविधान संशोधन हुने प्रचण्डको भनाइ छ । उता, भारत भ्रमणका विषयमा जानकारी गराउन प्रचण्डले सर्वदलीय बैठक सोमबार बोलाएका थिए । तर, संविधान दिवसलाई कालो दिनका रूपमा मधेसी दलले मनाएको र एमाले पनि छुट्टै संविधान दिवसको कार्यक्रम रहेका कारणले उनको बैठकमा कोही पनि सहभागी भएनन् । जनप्रहार साप्ताहिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्