×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संविधान दिवस: राष्ट्रपतिदेखि नेतासम्मको शुभकामना

LAXMI SUNRISE BANK

संविधान दिवस: राष्ट्रपतिदेखि नेतासम्मको शुभकामना

३ आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संविधानको कार्यान्वयनमार्फत लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र सम्पूर्ण नेपालीलाई समर्पित हुन आब्हान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले देशवासीको नाममा सन्देश दिँदै नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिन असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको संविधान कार्यान्वयनलाई गति दिन सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएका छन् । उपराष्ट्रपति पुनले संविधान दिवसका अवसरमा शुभकामना दिँदै संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढिरहेको भए तापनि संविधानको तीव्र कार्यान्वयनतर्फ सबै नेपालीको ध्यान केन्द्रित हुनुपर्ने र कार्यान्वयनको विषय सबैको साझा एजेन्डा बन्नुपर्नेमा जोड दिएका छन् ।
यस्तै नेपालको संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देश जारी गर्दै संविधानको स्वीकार्यता बढाएर संविधान कार्यान्वयनमा सफलता मिल्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्रीले सोमबार जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधान पनि गतिशील र जीवन्त दस्तावेज भएकाले हाम्रो मुलुकको वस्तुगत परिस्थिति अनुसार यसलाई संशोधन गर्नुपर्ने हुन्छ । र, एकचोटि यसका महत्वपूर्ण अंशमा संशोधन भइसकेको छ भने सरकार अर्को संशोधनका लागि गम्भीरतापूर्वक लागि परेको यहाँहरुलाई विदितै छ । गरिन लागेको संशोधनबाट मधेशी, थारु आदिवासी लगायत समुदायका गुनासाहरुको यथोचित सम्बोधन भई संविधानको स्वीकार्यता अझ फराकिलो हुन गै यसको पूर्ण कार्यान्वयनले गति लिने विश्वास लिएको छु ।’
यस्तै शुभकामना सन्देश दिँदै नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताका निर्वाचित प्रतिनिधिद्वारा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान नेपाली इतिहासको एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, सामाजिक न्यायजस्ता कुराको मूलभूत विशेषता रहेको यस संविधानले खासगरी उपेक्षित र उत्पीडित जनताका अधिकार सुरक्षित गर्न सफल रहेको बताएका छन् ।
यसैगरी एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको सफल कार्यान्वयनका लागि मुलुकमा स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन अपरिहार्य भएको र यसका लागि सरकार, राजनीतिक दल र सम्बद्ध पक्ष जागरुक रुपमा तयार रहनु आवश्यक भएको उल्लेख गरेका छन् ।
यस्तै एमाले नेता माधव कुमार नेपाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा अध्यक्ष पशुपति शमशेर राणालगायतका विभिन्न दलका नेताहरुले पनि शुभकामना दिएका छन् । उनीहरुले असन्तुष्ट पक्षका भावना र विचारलाई समेट्दै संविधान संशोधनको माध्यमद्वारा उचित माग सम्बोधन गर्न जोड समेत दिएका छन् ।
संबिधान दिवसका अबसरमा आज सार्वजनिक बिदा दिइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी