×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE : दिनमा लाखौँले हेर्ने नेपाली अनलाइनहरु मज्जाले चल्छन्, आन्तरिक राजस्व विभागको साइट किन यति ‘थर्डक्लास’ ?

LAXMI SUNRISE BANK

EXCLUSIVE : दिनमा लाखौँले हेर्ने नेपाली अनलाइनहरु मज्जाले चल्छन्, आन्तरिक राजस्व विभागको साइट किन यति ‘थर्डक्लास’ ?

२४ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ – आन्तरिक राजश्व विभागको वेव साइट www.ird.gov.np नचल्दा सेवाग्राहीहरु निकै मर्कामा परेका छन् । यतिसम्मकि जव करको विवरण बुझाउने दिन आउँछ, त्यहि बेला साइटमा अनेकौं खालका समस्या देखिन्छन् । न विवरण हाल्न मिल्छ, न भेरीफाई हुन्छ । फाइल अपलोडको त कुरै छोडौं । किन यति धेरै समस्या छ आन्तरिक राजस्व विभागको वेव साइटमा ? अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले आन्तरिक राजस्व विभागका सुचना प्रविधि विज्ञ प्रेमशरण श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :    
जहिले कर विवरण बुझाउने अन्तिम समय आउँछ, तव किन विभागको वेव साइटमा समस्या आउँछ ?
सिष्टम हो । सिष्टममा समस्या हुनु नौलो कुरा होइन । तर अन्तिम समयमा आएर धेरै करदाताले एकै पटक साइटमा काम गर्दा समस्या आएको हो ।  यसपाली समस्या अलि जटिल नै भयो भन्ने कुरा हामी स्वीकार्छौं । गत महिना त्यस्तै भयो अहिले त्यहि समस्या दोहोरियो । हामी पनि दुखी छौँ ।   
एक पटक होइन, दुइ पटक होइन जहिले पनि यस्तो समस्या किन ?
जहिले पनि होइन । पहिलोपटक  गत महिनामा यस्तो समस्या आयो । हामी समस्या कहाँ छ भन्ने कुरा बुझ्न लागि रहेका छौं । साथीहरु काम गरिरहनु भएको छ । पहिला पहिला पनि यस्तो समस्या थियो भन्ने तपाईंको कुरा म मान्दिन । विभाग चुप लागेर बसेको नै छैन । हामी काम गरिरहेका छौं । तर साइटमा समस्या कहाँ नेर छ भन्ने नै थाहा हुन सकेको छैन ।

यति धेरै कर्मचारीहरुले के गर्छन् त ?
सबै जना काममा अहोरात्र लाग्नुभएको छ । यो अन्तिम समयमा आएर त साथीहरु रातीपनि काम गरिरहनु भएको छ । यो टेक्निकल कुरा यस्तै हुन्छ । कहाँनेर समस्या छ भनें पत्ता लाग्यो भने एकछिनमै समाधान हुन्छ । त्यो समस्या कहाँ नेर भएको हो भन्नेनै थाहा नभएर हो । ‘कोडीङ’मा समस्या छ भन्ने कुरा हामीले बुझेका छौं । त्यहि हेर्दैछौं ।
नेपालमा दैनिक लाखौँ भिजिटर भएका अनलाइनहरु राम्रैसँग चल्छन्, विभागको साइट किन यस्तो थर्डक्लास ?
विभागकोस साइट पूरानो प्रविधिमा बनेको छ । यसलाई सुधार्न समय लाग्छ । तर हामी मेहेनत गरिरहेका छौं । यत्रो काम भएको छ, एकाएक आजको भोलि सिष्टम परिवर्तन गर्न पनि सकिने कुरा हुँदैन । विभागको ठुलो लगानी यो सिष्टममा छ । हामीले करदाताले सहज रुपमा कसरी विवरण बुझाउन पाउँछन् भन्ने कुरालाई गम्भीर रुपमा लिएर काम गरिरहेका छौं । समस्या छ, हामीलाई पनि राम्रोसँग थाहा छ । त्यसको समाधानको बाटोमा लागेका छौं ।     

तपाईंले जे भनेपनि करदाता त मर्कामा परे नि ?
त्यो हामीले बुझेका छौँ । करदातालाइ हाम्रो कारणले जरिवानामा  पार्नुहुन्न भन्ने कुरामा हामी सचेत छौं । यसपाली ठुलै समस्या आइलागेको छ । हामी सकेसम्म चांडो यसलाई निवारण गर्ने प्रयास गरिरहेका छौं ।
के विभागसँग स्रोत नै नभएर पो हो कि ? वा साइट निर्माणमा कमिसनको खेल भएर पो हो कि ?
त्यस्तो होइन । विभागले पीसीएस नामक कम्पनीसँगको सहकार्यमा काम गरिरहेको छ । सिष्टम हाम्रो हो तर हामी कन्सलटेन्सी उक्त कम्पनीबाट लिइरहेका छौं । यसपाली साँच्चै समस्या आएको छ भन्ने कुरा हामीले बुझेका छौं । तर समस्या कहाँ छ र त्यो समस्या कसरी समाधान गर्ने भन्ने बारेमा सोचेर काम गर्नुको विकल्प पनि हामीसँग छैन ।   

जहिले पनि समस्या नै समस्या, समस्या समाधान गर्न नसक्ने कम्पनीसँग विभाग किन काम गर्छ त ?
यो प्रक्रियाको कुरा हो । पीसीएसले जे काम गरेको छ त्यो काम अरु कसैले गर्छु भनेर आउंदै आउँदैन । हामीले काम नगरेको होइन । कामको रिजल्ट नआएको पक्कै हो । हामीले त्यो बुझेका छौँ । विभागको साइटमा समस्या हुँदा जनता मारमा परेका छन् भन्ने पनि हामीलाई थाहा छ । जनताको त्यहि समस्याको समाधान गर्न हामी अहोरात्र खटीरहेका छौं ।     
तर विभागलाइ त कमिसनको खेलमा उक्त कम्पनीलाई काम दिएको भन्ने आरोप छ नि ?
त्यो आरोप गलत हो । उसले गरीरहेको काम अरुले गर्न सक्छन् जस्तो लाग्दैन । म त भर्खर यहाँ सरुवा भएको हो । मलाइ पीसीएस बारे अन्य जानकारी थाहा छैन । तर उसले राम्रो काम गर्छ । महिनौंसम्म समस्याको समाधान खोजीरहेको छ । केहि समस्या समाधान पनि भएका छन् । पूरानो प्रविधि भएकाले केहि समस्या आएको हो । आजको भोलि नयाँ प्रविधिमा जान सकिन्छ भन्ने हुँदैन ।                  
देशमा यति धेरै कम्पनीहरु छन्, त्यो कम्पनी मात्र सक्षम होला त ?
त्यस्तो त नहोला तर कोहि पनि काम गर्छौं भनेर आउनुनै भएको छैन । हामी त नयाँ कम्पनी कसैले काम गर्न सक्छ बहने उसलाई स्वागत गर्छौं । तर यो सिष्टममा अनेकौं कोडहरु छन् । अहिले काम गरिरहेकाहरुलाइ झन् धेरै थाहा हुन्छ । नयाँ कम्पनीलाई ल्याउँदा समस्या हुन सक्छ । त्यसैले अहिले समाधानतिर लागिरहनुभएको छ साथीहरु । समस्या छिट्टै नै समाधान हुन्छ ।                         
अव जनताले कहिले मुक्ति पाउने यो समस्याबाट ?
हामी कोशिस गरिरहेका छौं । सिष्टममा समस्या कहाँनेर छ भन्नेनै पत्ता लागेको छैन । पहिला त्यो समस्या पत्ता लगाएर हामी समाधानको बाटोमा जान्छौं । हामीले सम्बन्धित कर कार्यालयलाई अनलाइनमा समस्या भएको खण्डमा म्यानुअल विवरण लिनु भनेर सर्कुलर गरीसकेका छौँ । करदाताले समस्या भोग्नु हुन्न भन्ने कुरामा हामी गम्भीर छौं । हामी सकेसम्म चांडो यो समस्यालाइ समाधान गर्ने प्रयास गरिरहेका छौं ।
अन्त्यमा तपाईंहरुको कामबाट दिक्क मानिरहेका जनतालाई के भन्नुहुन्छ ?
करदाताले पनि बानी सुधार्नु पर्यो । अन्तिम दिननै काम गर्नुपर्छ भन्ने हाम्रो बानीलाइ सुधार्नु पर्यो । हामीपनि प्रयास गरिरहेका छौं । छिट्टै नै समस्या समाधान हुन्छ । हाम्रा साथीहरु रातदिन काम गरिरहनुभएको छ । राती राती फोन आउँदा हामीलाई पनि दुख लाग्छ । छिट्टैनै समस्या समाधान हुन्छ भन्ने कुरामा हामी आशाबादी छौं ।    

यो पनि पढ्नुहोस् 
यो कस्तो नियम ? गल्ती कर कार्यालयले गर्ने, जरिवाना करदाताले तिर्ने !

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी