×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थविद्हरुले एक स्वरमा भने – बासी योजना पस्केर प्रधानमन्त्रीले जनतालाई मुर्ख बनाए

LAXMI SUNRISE BANK

अर्थविद्हरुले एक स्वरमा भने – बासी योजना पस्केर प्रधानमन्त्रीले जनतालाई मुर्ख बनाए

२४ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार संसदमा गरेको सम्बोधनलाई अर्थविद्हरुले जनता झुक्याउने कर्मको संज्ञा दिएका छन् ।
प्रधानमन्त्रीको भाषणमा पुरानै योजनाहरु दोहोरिएका, पूरा हुन नसक्न हावादारी र महत्वाकांक्षी कुराहरु समावेश भएकोले भाषण उत्साहविहीन रहेको अर्थविद्हरुको दाबी छ ।
शुक्रबार अर्थमन्त्रालय सम्हालिसकेको अनुभव भएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गर्दै प्रधानमन्त्रीलाई कसैले झुक्याएर त्यस्तो भाषण गर्न लगाएको उल्लेख गरेका छन् ।
भट्टराईले धारिलो प्रतिक्रियामा लेखेका छन्, ‘न यो औपचारिक नीति कार्यक्रम, न पूरक बजेट भाषण । कसरी होला प्रमको वक्तव्य कार्यान्वयन ? प्रमलाई कसैले झुक्याएको त होइन ? शंका व्याप्त सुनियो ।’
अर्थविद केशव आचार्यले त प्रधानमन्त्रीले पार्टीका कार्यकर्तामाझ गर्नुपर्ने भाषण झुक्किएर संसदमा गरेको हुन सक्ने बताए । उनले कुराकानी गर्दै भने, ‘पार्टीका कार्यक्रममा बोल्न तयार पारेको भाषण झुक्किएर संसदमा बोलिदिनु भयो कि जस्तो लाग्यो । ’
अर्थविद आचार्यले प्रधानमन्त्रीको प्रतिबद्धता पूरा नहुँने र शुरु पनि नहुने किशिमका भएको दाबी गरे । उनले भने, ‘सात प्रदेशमा सात विश्वविद्यालय कसरी बनाउनु हुन्छ ? बनाउने नै भए कसले बनाउने ? सरकारले, निजी क्षेत्रले वा साझेदारीमा ? भएकै विश्वविद्यालय सरकारलाई निल्नु न ओकल्नु भएको छ फेरि सात वटा थप्ने कुरा हावादारी नै हो । ’
अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाइसकेको त्रिभुवन विश्वविद्यालय, रामपुर कृषि विश्वविद्यालयको दुरावस्था सच्याउने कुरा छैन, नयाँ थप्ने योजनाले केही उत्साह नदिएको आचार्यले टिप्पणी गरे ।
उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारतले भूकम्पपीडितका लागि थप सहयोग गर्ने आश्वासन दिएका आधारमा प्रधानमन्त्रीले भूकम्पपीडितलाई थप एक लाख अनुदान घोषणा गरिएको उनले बताए ।
पोहोर बैशाखमा भैचालो गयो । जेठ असारमा राष्ट्र बैंकका गभर्नरले वाणिज्य बैंकलाई निब्र्याजी ऋण दिने र त्यो रकम दुई प्रतिशतमा भूकम्पपीडितलाई ऋण दिइने उल्लेख गरे । त्यो दुईलाख अहिलेसम्म पीडितले पाएका छैनन् । अहिले प्रधानमन्त्रीले तीन लाख निब्र्याजी, दुइलाख सहुलियतमा कार्यान्वयन हुन नसक्ने आचार्यले दाबी गरे ।

बेला न कुबेला आएको प्रधानमन्त्रीको भाषणको कुनै वैधानिक र कानूनी हैसियत नभएकोले कार्यान्वयन नहुने उनले बताए ।

अर्थविद रामेश्वर खनालले त अझै कडा टिप्पणी गरेका छन् ।  कुराकानीका क्रममा बोल्दै उनले भने, ‘यी कम्युनिस्ट प्रधानमन्त्रीहरुले अर्थतन्त्र ध्वस्त पार्न मात्रै जानेका छन् । ढुकुटी कसरी बलियो बनाउने भन्ने केही योजना, सोच, बुद्धी, कार्यक्रम छैन । भएको पैसा बाँडेर सिध्याइ हाल्न मात्रै जानेका छन् । ’
हुलाकी राजमार्ग, सात प्रदेश सात विश्वविद्यालय, सात मेडिकल कलेज सबै पूराना कार्यक्रम हुन् ।भूकम्पपीडितलाई थप एक लाख रुपैयाँ दिँदा सदुपयोग भए त ठीकै छ । पाउनेले पैसा दुरुपयोग गरिदिए भने अझ ठूलो समस्या हुने खनाल बताउँछन् ।
प्रधानमन्त्रीको वक्तव्यमा सुशासनका कुरा छैनन् । दुर्घटनाले जनताको अकालमा ज्यान गइरहेको छ, सिन्डिकेट हटाउने कुरा छैन । टिचिङबाट युवाहरु उपचार खर्च नपाएर मरिरहेका छन् । त्यस्ता कुरामा सम्बोधन छैन । राज्यको संयन्त्रलाई चुस्त बनाएर सुशासन शुरु गर्नु पर्ने बेलामा हावादारी बासी योजना पस्केर प्रधानमन्त्रीले जनता झुक्याएको खनालले बताए ।
झुठा सपना देखाउँदा लोकप्रिय होइन्छ भन्ने मनोभावले काम गरेको देखियो –खनालले भने । यस्ता हावादारी वक्तव्य प्रधानमन्त्रीले किन तयार पार्नुभयो होला ? खनाल भन्छन्, ‘राजनीतिक दलहरु मुलुकको नीति कार्यक्रममा त्यति जानकार हुँदैनन् । मन्त्रालयहरुलाई कार्यक्रमबारे जानकारी दिन प्रधानमन्त्रीले परिपत्र गर्छन् । वर्सेनि कार्यक्रम दोहोर्याएर लैजाने बेवकुफ कर्मचारी माथिल्लो तहमा हुँदैनन् । उनीहरुले थोरै नयाँ कार्यक्रम दिन्छन् । यो त छोटो भयो अलि लामो बनाउनूस भन्ने आदेश हुन्छ । अनि कर्मचारीले के गरुन् नयाँ पुराना एउटै टोकरीमा राखेर लैजान्छन् । त्यही कुरा प्रधानन्त्रीको वक्तव्यका रुपमा जनतामाझ जाने हो ।’

पुराना कार्यक्रम प्रधानमन्त्रीले आफ्नो वक्तव्यमा नराखेको भए भाषण १० मिनेटभन्दा लामो नहुने खनालले ठोकुवा गरे । प्रधानमन्त्रीले वक्तव्यमा ‘वर्तमान सरकारले भ्रष्टाचार गर्दैन । सुशासनमा अवरोध गर्नेविरुद्ध सम्झौता नगरी अगाडि बढ्छ । ’ यति मात्रै भनिदिएको भए सबै कुरा समेटिने थियो – खनालले भने, ‘वर्तमान संयन्त्रले सरकारका कुनै पनि कार्यक्रम कार्यन्वयन गर्ने ल्याकत राखेको देखिएन । कसरी हुन्छ प्रधामन्त्रीले बोल्दैमा ?’
  • नेपाल आज 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी