×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाजिर ठोकेर सांसदहरु आइएनजिओको कार्यक्रमतिर, विधेयकहरु अलपत्रै!

LAXMI SUNRISE BANK

हाजिर ठोकेर सांसदहरु आइएनजिओको कार्यक्रमतिर, विधेयकहरु अलपत्रै!

२४ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं – व्यवस्थापिका संसदको बैठकमा हाजिर ठोकेर सांसदहरु बाहिरिएपछि आज पारित गर्न तयार पारिएका तीन विधेयक ‘अलपत्र’ परेका छन्। गणपुरक संख्या नै संसद बैठकमा उपस्थित नभएपछि बैठक स्थगित हुन पुगेको हो।
नेपालको संविधानको धारा ९४ अनुसार कूल सांसद संख्याको एक चौथाइ सांसद संख्यालाई गणपूरक मानिन्छ। न्युनतम यो संख्या नभइ संसद चल्न सक्दैन। गणपुरक हुन अहिले १ सय ४९ सांसद व्यवस्थापिका संसदमा अनिवार्य उपस्थित हुनुपर्छ।
आजको बैठकमा भूमिगत जलश्रोतसम्बन्धी र बैंकिङ कसुर तथा सजाय (संशोधन) दुईवटा विधेयक पारित भए। तर, संसदको कार्यसूचीमा रहेका तीनवटा विधेयकहरु भने सांसदको संख्या नपुग्दा पारित हुन सकेनन्। कार्यसूचीमा रहेका न्याय सेवा आयोग, न्याय प्रशासन र न्याय परिषद विधेयक पारित हुन नसकेको हो।

नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले संसदमा गणपुरक संख्याको विषय उठाउँदै सभामुख ओनसरी घर्तीको ध्यानाकर्षण गराएका थिए। उनले ध्यानाकर्षण गराएपछि सभामुख घर्तीले ३ मिनेट घन्टी बजाउन लगाइन र सांसदहरुको ध्यानाकर्षण गराइन्। भित्र रहेका सांसदको संख्या गन्दा एक चौथाईको पनि उपस्थिति देखिएन।

२ सय ४० गायव!
संविधान कार्यान्वयनको जटिल मोडमा रहेको संसद यतिखेर सबैभन्दा बढी व्यस्त र सक्रिय हुनुपर्ने समय हो। यतिखेर पारित हुनुपर्ने विधेयका सूचीहरु लामो छ। त्यसैले राजनीतिक दल र सांसदहरु सबैभन्दा बढी जिम्मेबारी संसदतिरै हुनुपर्थ्यो। तर, भयो फरक। सांसदहरु हाजिर ठोकेर लागे – गैर सरकारी संस्थाको कार्यक्रमतिर। आज पारित हुनुपर्ने विधेयक संविधान जारी भएको एक वर्षभित्र स्थापना हुनुपर्ने उच्च अदालत र न्याय प्रशासन पुनर्संरचनासँग जोडिएका महत्वपूर्ण विधेयक हुन्। अशोज ३ गते संविधान जारी गरेको एक वर्ष पूरा हुँदैछ। त्यसअघि नै यी विधेयक पारित भएर कार्यान्वयनमा आइसक्नुपर्ने छ।
संसदमा ३ सय ६६ सांसदले शुक्रबार बिहान हाजिर गरेका थिए। तर, जब सभामुख घर्तीले गणपूरक संख्या पुगे नपुगेको तय गरिन् त्यतिखेर १ सय २६ सांसदमात्रै उपस्थित थिए। सांसद संख्या अपुग भएपछि संसदको नियमित सूची नै खल्बलियो। सभामुख घर्तीले संसदको अर्को बैठक आगामी आइतबारका लागि तोकेर आज पारित हुनुपर्ने सूचीलाई आइतबारको क्यालेन्डरमा तय गरिन्।
हाजिर ठोकेर आइएनजिओको कार्यक्रमतिर
बिहान ३ सय ६६ जना सांसदले हाजिर गरेको भए पनि संसदमा गन्दा २ सय ४० सांसद गायव देखिए आज। मुलुकको भविष्यसँग जोडिएका महत्वपूर्ण कानुन निर्माणको समयमा गायव भएका सांसदहरु भने गैर सरकारी संस्थाको कार्यक्रमतिर ओइरिएका थिए।
सांसदहरुलाई लिन बिहानै दुईवटा निलो प्लेटका माइक्रोबस संसद भवन बानेश्वरको परिसरभित्रै तयार थिए। अन्तर्राष्ट्रिय गैर सरकारी संस्था नेसनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडिआई)ले द्वन्द्व व्यवस्थापनबारे बुढानिलकण्ठस्थित पार्क भिलेजमा राखेको कार्यक्रममा त्यही माइक्रो चढेर सांसदहरु गएका हुन्। एनडिआई अमेरिकी सरकारको आर्थिक सहयोगमा सञ्चालित अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो।
घन्टी बज्दा पनि फर्केनन् सांसद
संसद संख्या गढना गर्न घन्टी बजिरहँदा पनि त्यहाँ रहेका केही सांसदहरु भने भित्र पसेनन्। गेटैमा रहेका राजविक्रम शाही, सरिता प्रसाईहरु संसदभित्र छिरेनन्, विपक्षी दलका सांसदको त कुरै भएन। संसद बैठकमा सदस्य संख्या अर्थात् कोरम पुर्‍याउने जिम्मेबारी दलका प्रमुख सचेतकहरुको हो। तर, संसदको महत्वपूर्ण समयमा उनीहरु यसमा फितलो देखिए।

संसदको आगामी वैठक आइतबार ११ बजे बस्नेछ।
  • मनोज सत्याल/पहिलोपोस्ट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी