×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डले के–के गर्दैछन् दिल्लीमा ?

LAXMI SUNRISE BANK

प्रचण्डले के–के गर्दैछन् दिल्लीमा ?

२४ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – मन्त्रिपरिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राष्ट्रसंघको महासभाका लागि ३ देखि १२ असोजसम्म न्युयोर्क भ्रमण तय गरेको छ ।

भारत भ्रमणबारे अर्को बैठकबाट निर्णय हुने भएको छ । भारत भ्रमणका अधिकांश कार्यक्रम भने तय भइसकेका छन् ।

‘प्रधानमन्त्रीज्यूको न्युयोर्क भ्रमण तय भयो,’ बिहीबार बसेको मन्त्रिपरिषद् निर्णय उल्लेख गर्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भने, ‘भारत भ्रमणबारे अर्को मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । हामी आवश्यक तयारी गरिरहेका छौँ ।’ प्रधानमन्त्री प्रचण्डको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री डा. महत २६ भदौमा नयाँदिल्ली जाने भएका छन् ।

भारतका विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा महत दिल्ली जान लागेका हुन् । ‘परराष्ट्रमन्त्रीज्यू चार दिनअघि नै भ्रमण तयारीका क्रममा दिल्ली जानुहुन्छ,’ परराष्ट्र स्रोतले भन्यो ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा परराष्ट्रमन्त्री महत दिल्लीमै सहभागी हुनेछन् । प्रधानमन्त्री भ्रमण सकेर २ असोजमा स्वदेश फर्किएपछि सोही दिन महत दिल्लीबाटै संयुक्त राष्ट्रसंघको महासभाका लागि न्यूयोर्क जाने भएका छन् ।

कस्ता छन् दिल्लीका कार्यक्रम  ?
औपचारिक निर्णय हुन बाँकी रहे पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका अधिकांश कार्यक्रम तय भएका छन् । ३० भदौको बिहान ११ बजे नेपाल एयरलाइन्सबाट प्रधानमन्त्री नयाँदिल्ली जानेछन् भने २ असोज दिउँसो १ बजेको उडानबाट स्वदेश फर्किने तय भएको छ ।

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा राष्ट्रपति भवनमा बस्नेछन् । प्रधानमन्त्री प्रचण्ड ३० भदौमा दिल्ली जानासाथ तीन कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्रीले दिल्लीमा रहेका माओवादी केन्द्रका अगुवा कार्यकर्तासँग भेटवार्ता गर्नेछन् । त्यसलगत्तै भारतका बुद्धिजीवी, सांसदलगायतसँग प्रधानमन्त्रीको भेट हुनेछ । साँझ नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डका सबै उच्चस्तरीय भेटवार्ता ३१ भदौमा हुनेछन् । प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिभवनमा भारतीय सेनाले गार्ड अफ अनर दिनेछ । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपतिभवनमा राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता हुनेछ । प्रधानमन्त्री प्रचण्डले मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गर्नेछन् भने राष्ट्रपति विद्या भण्डारीका तर्फबाट मुखर्जीलाई नेपाल भ्रमणको निमन्त्रणा दोहो¥याउनेछन् । हैदराबाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा पत्रकार ब्रिफिङ गर्ने कार्यक्रमको गृहकार्य भइरहेको छ । ‘यसका लागि कोसिस भइरहेको छ,’ परराष्ट्र स्रोतले भन्यो ।

सोही दिन प्रधानमन्त्री प्रचण्डलाई भारतका विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, विदेशसचिव एस जयशंकर, मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्नेछन् । सोही दिन साँझ नेपाल र भारतबीच संयुक्त विज्ञप्ति प्रकाशन हुनेछ ।

प्रधानमन्त्रीलाई भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय कंग्रेस, कम्युनिस्ट पार्टी माक्र्सवादी, जनता दल युनाइटेडका शीर्ष नेताले पनि भेट्ने कार्यक्रम छ । भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड हिमाचल प्रदेशस्थित कोलड्याम हाइड्रोपावरको बाँध निरीक्षण गर्न जाने कार्यक्रम छ । बिहान बाँध हेर्न गएर अपराह्न दिल्ली नै फर्किने र राजनीतिक भेटवार्ता पनि हुनेछन् । प्रधानमन्त्री प्रचण्डलाई बेंग्लोर लैजाने भारतको प्रस्ताव थियो । तर, प्रचण्डको इच्छा नभएका कारण भारत सरकारले हिमाञ्चल लैजाने कार्यक्रम बनाएको हो ।

यसमा प्रधानमन्त्रीले कूटनीतिक च्यानलमार्फत सहमति जनाएका छन् । प्रधानमन्त्री प्रचण्ड २ असोजको बिहान राजनीतिक भेटवार्ता सकेर दिउँसो स्वदेश फर्किने कार्यक्रम छ । फर्किएको भोलिपल्ट प्रधानमन्त्री न्युयोर्क जानेछन् ।

प्रधानमन्त्री प्रचण्डले ८ असोजमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् । न्युयोर्क पुग्नासाथ प्रधानमन्त्रीले आप्रवासन तथा शरणार्थीसम्बन्धी कार्यक्रममा सहभागिता जनाउने तय भएको उनका परराष्ट्र मामिला सल्लाहकार डा। ऋषि अधिकारीले जानकारी दिए ।

  • नयाँ पत्रिका

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी