×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रित्तो सेफका लागि प्रहरीको ‘इन्काउण्टर’

LAXMI SUNRISE BANK

रित्तो सेफका लागि प्रहरीको ‘इन्काउण्टर’

२४ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम


काठमाडौँ – चन्द्रागिरीको घना जंगलसँगैको कच्ची बाटो त्यत्ति चल्ती नभए पनि काठमाण्डुबाट मकवानपुर जाने नाका भएकाले प्रहरीको २४ घन्टे ड्युटी थियो । महानगरीय प्रहरी प्रभाग मातातीर्थका असई देउबहादुर चन्द ड्युटीको रोलक्रम अनुसार बिहान २ बेजे उठेर सहयोगी हवल्दार नवराज खड्का लिएर ड्युटीमा खटिए ।
उनी १३ दिन अघिमात्रै मातातीर्थ पुगेका थिए । प्रायः सुनसान हुने भएकाले यी दुवै गफ गर्दै मातातीर्थबाट बाउँथली चोकमा पुगे र त्यहीं बसे । बिहान ५ बजेसँगै उज्यालो सुरु भयो । उनीहरु चोकमै रहेको बेला काठमाण्डुतिरबाट ना. १ ज ३९४८ नम्बरको खरानी रंगको टाटा सुमो हुत्तिँदै उकालोतिर आयो ।
‘कच्ची सडक भएकाले फाट्टफुट्ट मोटरसाइकल र मिनीट्रक चले पनि सुमो चल्दैनथ्यो,’ चन्दले भने ‘बिहानै हुत्तिदै आएकाले शंका लाग्यो ।’ चन्द र खडाले सुमो रोक्न हात दिए तर रोकिएन । किचौलाझैं गरी हुत्तिँदै उकालोतिर हुइँकिएपछि चन्दले मोटरसाइकल स्टार्ट गर्न लगाएर गाडीको पिछा गरे ।
गाडीको गति तीव्र थियो । कच्ची बाटो र उकालो भएकाले उनीहरुको मोटरसाइकले सुमो भेट्न सकेन । दुवै सशस्त्र प्रहरीको क्याम्प नजिकै पुगे तर सुमो देखिएन । बाटो फरक पर्यो भन्दै फर्किएर सशस्त्रको निर्माणाधीन तालिम केन्द्र नजिक आइपुग्दा त्यहाँ सुमो रोकिइरहेको थियो ।

‘चालकको ढोका खुल्ला थियो, एक जना बाहिर उभिएर फोनमा कुरा गरिरहेका थिए,’ चन्दले भने ‘सुमोभित्र ३ जना थिए ।’
चन्दले सोधपुछ सुरु गरे ।
कहाँ जान लागेको ?
सुमोभित्र भएका एक जनाले भने ‘मकवानपुरमा बहिनी बिरामी भएकाले लिन जान लागेको उकालो चढ्न सकिएन ।’

बाहिर रहेका चालक मोबाइलमा कसैलाई निर्देशन दिँदै थिए ‘केटाहरु चाँडो ल्याओ ।’
दुवै प्रहरी अझै नजिक गए । हल्वदार गाडीको दायाँ हुँदै अगाडि बढे, चन्द सुमोको बायाँतिर थिए । गाडीको नजिक पुगे लगत्तै हवल्दार खड्का चिच्याए, ‘साप, बन्दुक ।’

लगत्तै सुमोमा रहेकाहरुले २ राउण्ड गोली प्रहार गरे । सुमोमा भएकाहरुलाई ताक्दै चन्दले पनि २ राउन्ड गोली चलाए । चारै जना सुमो छाडेर जंगलतिर भागे । गोली कसैलाई लागेन ।
‘खड्का साप केही अगाडि बढेलगत्तै सुमोभित्र भएकाहरु बाहिर निस्किएर ताक्दै गोली चलाएछन्, धन्न उनी कमान्डो तालिमप्राप्त भएकाले गाडीको अगाडिको भागको कभर लिएर जोगिए,’ बिहीबार बिहानको घटना सम्झदैं उनले भने, ‘म केही पछाडि भएकाले गाडिकै आड लिएर गोली हानें, तर अध्याँरो भएकाले जोगिए ।’
गोली चलेलगत्तै चन्दले महानगरिय प्रहरीको कन्ट्रोल रुम १००, महानगरीय प्रहरी वृत्त थानकोट र महानगरिय प्रहरी परिसर काठमाण्डुमा खबर गरे । उनी कार्यरत प्रभागबाट १० मिनेटमै थप ६ जनाको मद्दती टोली पुगेपछि सुमोभित्र हेर्दा पछाडिको सिटको बीचमा फलामे सेफ देखियो । करिब १५ मिनेटमा थानकोट र काठमाण्डु दुवैतिरको थप टोली घटनास्थलमा पुग्यो र सुमोसहितको सेफ बोकेर फर्कियो ।

‘तस्करीको सामान लिएर मकवानपुर हुँदै मधेस हिँडेका हुन् भन्ने लागेको थियो तर चोर रहेछन्’, चन्दले भने ।

काठमाण्डु परिसरमा सेफ ल्याएपछि प्रहरीले गाडीको नम्बरको आधारमा सवारी धनी र चालकसँगै सेफबारे खोजबिन गर्दा ललितपुरको चापागाउँमा रहेको सन्तानेश्वर बचत तथा सहकारी संस्थामा चोरी भएको खुल्यो । तत्काल सहकारीका अधिकारी टेकुस्थित परिसरको कार्यालय आएर सेफ हेरेर सनाखत गरे ।
सहकारीको टन्न पैसा भएको आशंकामा बढो सकसका साथ फलामे सेफ चोरी गरे पनि आखिर त्यो पैसा विहीन निस्कियो । उनीहरुको योजना अनुसार सेफ मकवानपुरमै पुगे पनि उनीहरुको हातमा सहकारीको कागजमात्रै फेला पर्ने रहेछ ।
काठमाडौँ  परिसरका एसपी प्रधुम्न कार्कीका अनुसार सहकारीको ग्रीलको ताल्चा काटेर बेलुका चोरी भएको खुलेको छ । स्थानीयबासीले बेलुका १२ बजेतिर गाडीको आवाज सुनेकाले सोही समयमा चोरी भएको प्रहरीको अनुमान छ ।

टन्न पैसा भएको आशंकामा सहकारीको फलामे सेफै बोकेर हिंडे पनि सहकारीका अधिकारीले प्रहरीलाई दिएको जानकारीअनुसार त्यसमा पैसा थिएन, सहकारीको महत्वपूर्ण कागजपत्र मात्रै थियो । यसभन्दा अगाडि पनि सहकारीमा चोरीको प्रयास भएकाले उनीहरुले सेफमा पैसा राख्न छाडेका थिए । चोरी ललितपुर क्षेत्रमा भएकाले काठमाण्डु प्रहरीले सेफ ललितपुर प्रहरीलाई बुझाएको छ ।
सेफसँगै टाटासुमोमा फेला परेको मकवानपुर फाखेल–५ का हर्कबहादुर तामाङको नाममा जारी भएको सवारी चालक अनुमतिपत्रको प्रतिलिपी र रामेछाप सुकाजोर–६ घर भएकी गंगा तामाङको नाममा जारी भएको नागरिकताको प्रतिलिपीका आधारमा प्रहीले अनुसन्धान अघि बढाएको छ ।

  • कान्तिपुर दैनिक
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी