- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अहिले काठमाडौँका चोक चोकमा दृष्टिविहिनहरु बाँच्नका लागि संघर्ष गरिरहेको देख्न सकिन्छ । मीठो स्वरमा ट्रयाकमा बजिरहेको धुनमा गीत गुन्जिन्छ । सँगै एउटा स्पिकर र त्यसमा प्रयोग हुने ब्याट्री छ । हातमा माइक र संगै लडिरहेको रिमोट । कोहि समूह मिलाएर त कोहि जोडी मिलेर, बाँच्नका लागि गईरहेको देख्न सकिन्छ ।
सिन्धुपाल्चोकमा सुमन सापकोटा । उनीसँग गाएर बाँच्नुको विकल्प छैन । ‘पहिला त गाउन आउँदैनथ्यो । साथीहरुले गाएरै बाँच्ने मेलो गरीरहनु भएको छ भन्ने सुनेपछि सिकें ।’ उनीसँगैकी उनकी धर्मपत्नी भन्छिन्, ‘सार्है गाह्रो छ । दिनभर गाउँदा निकै गाह्रो हुन्छ । तर पनि विकल्प छैन । ‘ रामेछापका आत्माराम सिग्देलको दैनिकी पनि यस्तै छ । विहान हिड्यो, दिनभर गायो अनि बेलुका आयो । विकल्प नै छैन । छोराछोरी पढाउनु पर्यो, खानु पर्यो, लाउनु पर्यो । कोठा भाडा तिर्नुपर्यो । ‘
कमाइ कति हुन्छ ?
‘दिनमा ३०० देखि १ हजारसम्म दिन हेरेर हुन्छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने । ‘दिनमा ३०० देखि १ हजारसम्म त हुन्छ तर औसतमा त्यस्तै ५०० सम्म हुन्छ । कोठाभाडा तिर्नुपर्छ । खानु पर्यो, लाउनु पर्यो निकै गाह्रो छ ।’ तर ठाउँ हेरेर पनि पैसा घटी बढी हुन्छ । न्यूरोडतिर बस्न पाए अलि बढी हुन्छ । कोटेश्वर तिर खासै बढी कामै हुँदैन ।
ट्राफिकले त सहयोग नै गर्छन्
यसरी सडकमा बस्दा ट्राफिकले केहि भन्दैनन् ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘हामी दृष्टिविहिन भन्ने उहाँहरुलाई थाहा छ । माया गर्नुहुन्छ । धेरै भीड हुँदा त उहाँहरुलाई पनि गाह्रो हुन्छ होला । तर अहिलेसम्म नराम्रो व्यवहार गर्नु भएको छैन । उनी अगाडी भन्छन्, ‘हामीलाइ पनि उहाँहरु निकै मन पर्छ । हामीलाई अरु जसरि लखेट्ने हो भने त हाम्रा बालबच्चा भोकैले मर्छन् ‘
गायकहरुले धेरै कमाउँछन् रे भन्ने सुनेको छु
तपाइंलाई थाहा छ नेपालका गायकहरुको कमाइ कति हुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘थाहा छ। उनीहरुको राम्रो माग छ । पैसा खुब कमाइ हुन्छ । हामीलाई पनि मौका दिने हो भने राम्रो गाउँन सक्छौं । अरुलाई नचाउन गाउनु र बालबच्चा बचाउन गाउनुमा फरक छ ।