- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रममा काठमाडौंका करदातालाई छुटैछुटको व्यवस्था ल्याएको छ ।
महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने भएको छ । यस्तै कोरोनाबाट प्रभावित करदाताहरू तथा सार्वजनिक निजी साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुट दिइने भएको छ । प्रवाह गर्ने सेवासँग सम्पत्ति कर, वहाल कर, व्यवसाय कर र विज्ञापन करलाई एकीकृत रुपमा आबद्ध गरी राजस्व संकलन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
महानगरपालिकाबाट प्रवाह हुने सेवाको गुणस्तर अभिवृद्धिका लागि विषयगत सर्वेक्षण र वार्षिक सर्वेक्षण गरी नागरिकको सुझाव संकलन गरी क्रमशः कार्यान्वयन गर्दै लगिनेछ । यस्तै वहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर वहाल रकममा १० प्रतिशत वा २५ हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट पाउने छन् । यस कार्यका लागि निजी क्षेत्र समेत परिचालन गरिनेछ ।