काठमाडौं । होन्डाको ७०औं वार्सिकोत्सवको शुभकामनासहितको म्यासेज लिङ्क अहिले म्यासेन्जरमा फैलिइरहेको छ । लिङ्कमा क्लिक गरेपछि स्कुटर उपहार जितेको सन्देशसहित केही नियमहरू राखिन्छ । उक्त लिङ्कसहितको म्यासेज पाँच ओटा ग्रुप अथवा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने शर्त पनि राखिएको छ । त्यसपछि ५ देखि ७ दिनभित्रमा स्कुटर डेलिभर गरिने विषय उल्लेख गरिएको छ ।
तर तपाईं भने त्यहाँ दिइएको कुनै पनि नियम पालना नगर्नुहोस् । म्यासेन्जरमा आएको लिङ्क पनि नखोल्नुहोला । किनकि तपाईंलाई झुक्याएर तपाईंसँग सम्बन्धित सूचना सङ्कलन गर्न जारी गरिएको ‘स्पाम’ म्यासेज हो । यस्ता म्यासेजहरु हामीले सोचेजस्तो एकछिन झुक्याउन वा दुःख दिन मात्रै पठाइँदैन । बरु त्यस्ता म्यासेजहरु दूरगामी प्रयोजनका लागि पठाइएका हुन्छन् ।
यस्ता स्पामरहरूले तपाईंसँग सम्बन्धित सूचनामा पहुँच राख्न सक्छन् । कतिपय अवस्थामा फेसबुकलगायत सामाजिक सञ्जालमा अनधिकृत पहुँचको माध्यम पनि बन्न सक्छन् । यसो त होन्डाको ७०औं वार्षिकोत्सव सन् २०१८ सेप्टेम्बर २४ मै पुरा भैसकेको छ । नेपालमा म्यासेन्जर प्रयोगकर्ताको संख्या बढी भएकोले होन्डाको म्यासेन्ज लिङ्क सजिलै अनि छिटो फैलिन सक्ने भएकाले यस्तो गरिएको हो ।