
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका जलविद्युत् आयोजना समस्यामा फसिरहेका बेला निजी क्षेत्रका परियोजना एकपछि अर्को गर्दै निर्माण सम्पन्न भइरहेका छन् ।
प्राधिकरणका अनुसार गत साउनदेखि हालसम्म करिब ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । गत साउनयता हालसम्म साना तथा मझौला गरी कूल सात जलविद्युत् आयोजना सम्पन्न भएको छ ।
साना तथा मझौला जलविद्युत् आयोजनाले उत्पादन शुरु गरिसकेका छन् । सरकारी स्वामित्वको प्राधिकरणका आयोजनामा समय र लागत बढ्दै गइरहेका बेला निजी क्षेत्रको सार्थक प्रयासले केन्द्रिय प्रसारण लाइनमा विद्युत् प्रवाहका लागि थप सहजता भएको छ ।
साउनयता निर्माण सम्पन्न सात आयोजनाको विद्युत् प्रणालीमा थप भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताउनुभयो । प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोडिएका आयोजनामा १३.६ मेगावाट क्षमताको थापाखोला, ५.१ मेगावाटको माथिल्लो माई ‘सि’, चार मेगावाटको सवाखोला, चार मेगावाटको पुवाखोला, चार मेगावाटको सार्दी खोला, ४.९ मेगावाटको फावाखोला र तीन मेगावाटको गर्जाङ खोला आयोजनाले व्यापारिक उत्पादन शुरु गरिसकेको र प्रणालीमा जोडिइसकेको छ ।
प्रवक्ता अधिकारीका अनुसार प्राधिकरणको प्रसारण लाइनमा निजी क्षेत्रले उत्पादन गरेका करिब ४० मेगावाट बराबरको विद्युत् जोडिँदा भार व्यवस्थापनमा सहयोग पुगेको छ । निजी क्षेत्रको विद्युत् थपिँदा माग र आपूर्ति व्यवस्थापनमा सहज भएको र कतिपय स्थानमा रहेको भार व्यवस्थापनको समस्यामा कमी आएको छ ।
प्रवक्ता अधिकारीका अनुसार १३ मेगावाटको सिक्लेस, तीन मेगावाटको मिदिम, सात मेगावाटको मोलुङ र ३.२ मेगावाटको गेलुङ आयोजना विद्युत् उत्पादन गर्ने अन्तिम चरणमा पुगेका छन् । यी आयोजनाबाट उत्पादन शुरु भएपछि प्रणालीमा थप ६६ मेगावाट विद्युत् उपलब्ध हुनेछ ।
आगामी चैतसम्ममा निजी क्षेत्रले थप १५१ मेगावाट विद्युत् उत्पादन गर्नेछ । चैतभित्रमा २५ मेगावाटको काबेली बिएक, २२ मेगावाटको माथिल्लो चाकु, २० मेगावाटको तल्लो मोदीसहित ९४ मेगावाटलगायतका नौ आयोजनाले उत्पादन शुरु गर्ने जानकारी प्राधिकरणलाई गराएका छन् ।
आगामी साउनसम्ममा निजी क्षेत्रको थप ५० मेगावाट विद्युत् प्रणालीमा जोडिने प्राधिकरणको दाबी छ । चालू आवमा निजी क्षेत्रको हिस्सा २०० मेगावाटको हाराहारीमा पुग्ने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंको भनाइ छ ।
“निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । हामी आगामी दुई वर्षभित्र थप ५०० मेगावाट विद्युत् उत्पादन गरिसक्छौँ, तीन वर्षभित्र त्यो हिस्सा बढेर करिब एक हजार मेगावाटको हाराहारीमा पुग्नेछ ।”
निजी क्षेत्रले तीव्ररुपमा विद्युत् उत्पादन गरिरहेका बेला प्राधिकरणको चमेलिया आयोजना व्यापारिक उत्पादन शुरु गर्ने तयारीमा छ । हाल परीक्षण उत्पादन भइरहेको दार्चुलामा आयोजनास्थल रहेको चमेलिया ३० मेगावाट क्षमताको छ । सो आयोजनाले व्यापारिक उत्पादन शुरु गरेपछि प्रदेश नं ७, ६ र ५ मा विद्युत् प्रवाहमा सहजता आउने प्राधिकरणले जनाएको छ ।
प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादनमा समान हिस्सा भइसकेको छ । तथ्यांकअनुसार विद्युत् उत्पादनमा निजी क्षेत्रले प्राधिकरणलाई उछिनिसकेको अवस्थामा थप विद्युत् जोडिएपछि प्रणालीमा प्राधिकरण ४० प्रतिशत र निजी क्षेत्र ६० प्रतिशतको हाराहारीमा पुग्ने अध्यक्ष गुरागार्इंको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्