
काठमाडौं – राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दुई नम्बर प्रदेश बाहेक बाँकी प्रदेशमा बिहान १० बजेदेखि मतदान भइरहेको छ । २ नम्बरबाट चुनिने आठै सदस्य निर्विरोध भइसकेकाले उक्त प्रदेशमा चुनाव गर्न नपर्ने निर्वाचन आयोगले जानकारी दिएको छ।
सातै प्रदेशबाट छानिने ५६ मध्ये २४ सिटमा उम्मेदवारी मनोनयनकै बेला निर्विरोध भइसकेको छ। बाँकी सिटका लागि ६ वटा प्रदेशमा मतदान हुन लागेको छ। निर्वाचन आयोगका अनुसार ३२ सिटमा ५२ प्रतिस्पर्धी छन्। प्रदेश नम्बर ३ र ६ मा मात्रै सबै पदका लागि चुनाव हुने आयोगले जनाकारी दिएको छ।
चुनाव हुन लागेका ६ वटा प्रदेशमा स्थानीय तहका १ हजार २ सय ३४ तथा प्रदेशसभाका ४ सय ४३ जना गरी १ हजार ६ सय ७७ मतदाता छन्।
प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर ३ मा ललितपुरको पाटन, प्रदेश नम्बर ४ को पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को डोटीमा रहेका आयोगका निर्वाचन अधिकृतको कार्यालय नजिकका सार्वजनिक स्थानमा मतदान स्थल तोकिएको छ।
प्रत्येक मतदान स्थलमा प्रदेशसभा सदस्यका लागि छुट्टै र स्थानीय तहका पदाधिकारीका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।
आयोगले निर्वाचनमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र वा विकल्पमा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ ।
मतदान सकिएलगत्तै मतगणना कार्य शुरु गर्न र मतगणना कार्यलाई निरन्तर जारी राखेर पूर्णता दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जानकारी गराउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, ‘मतगणना कार्यलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सबै प्रदेशमा सहयोग गर्न टोलीसमेत खटाइसकेका छौँ ।’ आयोगले निर्वाचनको अनुगमनका लागि सबै प्रदेशमा सहसचिव खटाएको छ ।
आयोगले सकेसम्म माघ २४ गते नै र नभए माघ २५ गतेसम्म सबै पदको मत परिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको छ । आयोगले सातवटै प्रदेशको अन्तिम परिणाम प्राप्त गरेपछि आवश्यक तयारी पूरा गरी राष्ट्रियसभा सदस्य चुनावको अन्तिम मत परिणाम यथाशीघ्र राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरेको उनले बताए।
नेपालको संविधानको धारा ८६ मा प्रत्येक प्रदेशबाट आठ जनाका दरले कूल ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ । त्यस्तै, सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीन जनासमेत गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्