काठमाडौँ । हालसालै प्रकाशित रिपोर्ट अनुसार चीनङ्को सिन्जियाङमा बसोबास गर्दै करीव ११ मिलियन उइगरहरूको दुर्दशा उजागर गरेको छ । उइगरहरु टर्किक जातीय समूह हो, जसका सदस्यहरू मुख्यतया मुस्लिम हुन् ।
चीनले उनीहरुको अस्तित्व नै नस्ट गर्ने व्यवस्थित अभियान सुरु गरेको विभिन्न रिपोर्टहरुले संकेत गरेका छन् । चीनले उनीहरुको पहिचान मेटाउन उनीहरूको संस्कृति, परम्परा, विश्वासमाथि आक्रमण गरी जनसंख्या वृद्धि घटाउने योजना बनाएको छ । सामूहिक रूपमा एक समुदायमाथि गरिएका चिनियाँ गतिविधिहरु गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरु भएको भन्दै अन्तर्राष्ट्रिय समुदायबाट चर्को विरोध भइरहेको छ ।
सन् २००९ मा उइगर र हान चिनियाँबीच हिंसात्मक झडप भएको थियो । जसमा करीव २०० जना मानिस मारिएका थिए । सन् २०१४ मा राष्ट्रपति सि जिनपिङले सिन्जियाङमा भ्रमण गरेपछि उइगरहरुमाथिको आक्रमणलाई तीव्रता दिइएको थियो ।
सन् २०१७ देखि सिन्जियाङमा हिरासत कक्षहरु बनाइए । जसलाई चीनले “व्यवसायिक शिक्षा र प्रशिक्षण केन्द्रहरू” को नाम दिएर शिविर स्थापना गरेको छ । अन्तर्राष्ट्रिय अनुसन्धान पत्रकारहरुको कन्सोर्टियमले चिनियाँ सरकारको वर्गीकृत निर्देशनहरुमा पहुँच पुर्याएको छ जसले हिरासत केन्द्रहरुका लागि सञ्चालन योजनाहरु प्रदान गरेको छ । उनीहरुका अनुसार उक्त हिरासतमा सामूहिक नजरबन्द गर्ने आदेश दिइएको थियो ।
नाजी युगका यातना शिविरहरूको सम्झना दिलाउने शिविरहरू सन् २०१७ मा सुरु गरिएका थिए । उक्त शिविरहरुमा करिब १० देखि २० लाख मानिसहरु छन् । लिक भएको भिडियोमा कैदीहरूलाई आँखामा पट्टी बाँधेर डोर्याएको देखाइएको छ । रिपोर्टहरूले गम्भीर यातनाहरु दिएको, श्रम शोषण गरिएको र महिला र किशोरीहरुलाई जबरजस्ती यौन दुर्व्यवहार र बलात्कार गरिएको जनाइएको छ ।
क्यानबेरास्थित अष्ट्रेलियाली रणनीतिक नीति संस्था (एएसपीआई) को अर्को रिपोर्टले सन् २०१७ देखि चीनको सिन्जियाङमा ८० हजार कैदीहरुलाई चीनका विभिन्न कारखानामा सारिएका छन् । त्यस्ता कारखानाहरुले ८३ विश्वस्तरका ब्रान्डका सामानहरु उत्पादन गर्दछन् । ‘सरकारद्वारा प्रायोजित उइगर श्रम’ को लागि विज्ञापनहरु पनि देखाइएका छन् । एउटा विज्ञापन यस्तो लेखिएको छ, ‘सिन्जियाङका कामदारको फाइदाहरु : अर्ध-सैन्य शैली प्रबन्धन, कठिनाइको कामहरु गर्नसक्ने, कुनै कर्मचारीको नोक्सान नुहुने र न्यूनतम एक सय कामदार’ ।
सर्वव्यापी निगरानीको सिकार भएका उइगरलाई अपराधको रूपमा नभई विदेशमा मानिससँग सम्पर्क राख्ने, मस्जिदहरूमा भाग लिने, तीनभन्दा बढी बच्चाहरू जन्माउने, कुरान वाचन गर्ने, कपाल र दाह्री पाल्ने, सुँगुर खान अस्वीकार गर्नेजस्ता चीजहरूको लागि पक्राउ गरिएको छ ।
उइगर पहिचान उन्मूलन गर्ने क्रममा चीनले इस्लामिक विश्वासको सीधा निन्दा गरेको छ । चीनले सयौं वर्षदेखि रहेको मस्जिद र चिहानहरूलाई नष्ट गर्ने काम गरेको छ ।सीएनएनका अनुसार गत दुई वर्षमा १०० भन्दा बढी चिहानहरू ध्वस्त भएका छन् । त्यस्तै एउटा होतानको सुल्तानिम कब्रिस्तान हो जुन एक सयभन्दा धेरै वर्षदेखि नै एउटा फारममा अवस्थित थियो ।
स्याटेलाइट तस्बिरहरुका अनुसार यसलाई २०१२ द्वारा समतल पारिएको थियो र यहाँ अहिले पार्किङस्थल बनाइएको छ । एउटा ध्वस्त मस्जिद सार्वजनिक शौचालयको लागि बाटो बनाएको छ ।
जनसांख्यिकीय हिसाबले उइगरलाई कमजोर पार्ने प्रयासहरू पनि भइरहेका छन् । जेम्सटाउन फाउन्डेशनका लागि एड्रियन जेन्जको रिपोर्टका अनुसार, चीनले सिन्जियाङ उइगर र अन्य मुस्लिमहरूको जनसंख्या घटाउन गर्भावस्था जाँच, बलपुर्वक विभिन्न अस्थायी साधनको प्रयोग गर्न लगाउने, नसा काट्ने, गर्भपतन गर्न लगाउने काम भइरहेको छ ।
सन् २०१९ मा बच्चा जन्माउने उमेरका ८० प्रतिशत किशोरीहरुले पाठेघर फालेका छन् । चिनियाँ यो अभियान सफल भएको मानिएको छ । सन् २०१५ देखि २०१८ मा होटान र काश्गरको अधिकतर उइगर क्षेत्रहरूमा जन्मदर ६० प्रतिशतभन्दा बढीले कम भएको छ । सन् २०१९ मा २४ प्रतिशतले घटेको छ ।
यसरी जबरजस्ती वंश नाश गर्नु नरसंहारको दायरामा पर्दछ । यसविरुद्ध अन्तर्राष्ट्रिय आलोचना चर्किए पनि चीनले कुनै वास्ता गरेको छैन । संयुक्त राज्य अमेरिकाले मानव अधिकार हननको आरोपमा फसेका पार्टी अधिकारीविरूद्ध प्रतिबन्ध लगाएको छ । बेइजिङ्लाई सन् २०२२ को ओलम्पिकमा सहभागी नगराउने प्रक्रिया सुरु भएको छ ।
तर, आफूलाई मुस्लिम अधिकारको च्याम्पियनको रूपमा प्रस्तुत गर्ने पाकिस्तान यस मुद्दामा मौन रहेको छ । इमरान खानले आफूलाई यसबारे जानकारी नभएको बताएका छन् । पाकिस्तानको मौनताले कश्मीर मुद्दाको बारेमा कुरा गर्ने आफ्नो विश्वसनीयतालाई मात्र ध्वस्त पारेन तर यसले चीनले मुस्लिममाथि गरेको आक्रमणको विरोध गर्ने नैतिकतासमेत गुमाएको छ । -पब्लिक न्युज एजेन्सी