
धनगढी । धनगढी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । लकडाउनका कारण गत चैतदेखि बन्द भएको हवाई सेवा सोमबारदेखि सञ्चालनमा ल्याउन लागिएको हो । निजी क्षेत्रको बुद्ध एयरले काठमाडौँ—धनगढी—काठमाडौँसम्मको हवाई सेवा शुरु गर्न लागेको विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिनुभयो ।
एउटै समयमा धेरै उडान गर्दा बढ्ने भीडभाडले कोभिड—१९ को जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर एक पटकमा एउटा मात्र उडान हुन लागेको उहाँले बताउनुभयो । समिट यएरले केही दिनअघि नेपालगन्ज—बाजुरा—धनगढी र धनगढी—बाजुरा—नेपालगन्जसम्म दुई चार्टर उडान गरेको थियो । यात्रु सङ्ख्याका आधारमा आगामी दिनमा समिट एयरले सुदूरपश्चिमका केही जिल्लामा नियमित हवाई सेवा शुरु गर्न सक्ने जनाइएको छ ।
प्रदेशका डोटी, बैतडी र बझाङमा रहेका विमानस्थलको धावन मार्गको कालोपत्रलगायत कामको स्तरोन्नति भइसकेकाले यी विमानस्थलमा परीक्षण उडान गर्ने तयारी गरिएको छ । यात्रुको सङ्ख्या बढ्दै गएमा आगामी दिनमा यी विमानस्थलमा नियमित रुपमा हवाई सेवा सञ्चालन गर्न सकिने देखिएको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको धनगढीस्थित कार्यालय बन्द गरिएको छ । निगमसँग धनगढी रुटमा चल्ने जहाजको अभाव भएकाले काउन्टर बन्द गर्नुपरेको कार्यालयका प्रमुख हरिदत्त पन्तले बताउनुभयो । निगमले धनगढी विमानस्थलबाट कोभिड—१९ को सङ्क्रमण फैलिनुअघि गत चैतसम्म काठमाडौँ—धनगढी—काठमाडौँसम्म हप्तामा तीन दिन ‘एमए ६०’ जहाजमार्फत हवाई सेवा उपलब्ध गराउँदै आएको थियो ।
“नयाँ जहाजको व्यवस्था नहुन्जेल काउन्टर पुनः सञ्चालन हुँदै”, उहाँले भन्नुभयो, “एमए ६० जहाज खर्चिलो र उपयुक्त नभएको देखियो ।” निगमको धनगढी कार्यालय (काउन्टर) बन्द भएसँगै त्यहाँ ज्यालादारी र कारार सेवामा कार्यरत कर्मचारीको म्याद नथपिएको जनाइएको छ । पाँच स्थायी कर्मचारीमध्ये कार्यालय प्रमुख पन्तसहित चार जनाको काठमाडौँ र एक जनाको दाङ सरुवा भएको छ ।
देशभरका नाफा कमाउने दश विमानस्थलमध्ये धनगढी पनि हो । कोरोना सङ्क्रमण रोकथामका लागि चैत ११ गतेदेखि यो विमानस्थलमा हवाई सेवा बन्द हुँदा परेको प्रभावको असर विमानस्थलको आम्दानीमा पनि परेको छ ।विमानस्थल कार्यालयका प्रमुख बुढथापाले भन्नुभयो, “महिनामा रु २५ लाखदेखि ३० लाखको आम्दानी हुने गरेकामा हवाई सेवा बन्दा हुँदा आम्दानी गुमाउनुपरेको छ ।” कोरोना सङ्क्रमणको अवस्थाले देखिएको तहसनहसको अवस्थालाई अब कसरी व्यवस्थित पार्ने र पुरानै लयमा फर्काउने भन्ने चुनौती रहेको उहाँले बताउनुभयो ।
विमानस्थलको स्तरोन्नति
विमानस्थलको स्तरोन्नति केही वर्षदेखि भइरहेको छ । यसक्रममा विमानस्थलको एक हजार ८०० मिटर लामो र ३० मिटर चौडा धावन मार्गको कालोपत्रको स्तरोन्नति भइसकेको छ । ययस विमानस्थलमा जहाज पार्किङ गर्ने एप्रोनको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । (दमकल राख्ने घर)‘फायर बिल्डिङ’ र ओभरहेड ट्याङ्की निर्माणाधीन छ ।
विमानस्थलमा रात्रिकालीन उडान र अवतरण गर्ने व्यवस्थाका लागि भिओआर-डिएमई (जहाजलाई बाटो देखाउने उपकरण) जडान कार्य पूरा भइसकेको छ । यसको परीक्षण हुन भने बाँकी छ । लामो धावन मार्गको दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि धनगढी विमानस्थल दोस्रो हो ।–रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्