
“पोखरालाई स्मार्ट सिटी बनाउने योजनाअनुसार नै महेन्द्रपुलबाट ट्राफिक लाइट राख्ने प्रक्रिया अघि बढाएका छौँ । यहाँ प्रभावकारी भएमा अन्य चोकहरुमा पनि विस्तार गर्छौँ”, प्रमुख जिसीले भन्नुभयो । ट्राफिक बत्ती राख्नका लागि बिफ्रेण्ड कन्स्ट्रक्शनसँग रु १९ लागतमा सम्झौता गरिएको बताइन्छ । पोखराको महेन्द्रपुलसहित पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, शहीदचोक, जिरोकमी, हल्लनचोक र बुद्धचोकमा बढी जाम हुने गर्दछ ।
पोखरामा यसअघि विसं २०५६ मा तत्कालीन पोखरा उपमहानगरपालिकाले पोखरा कर्मसियल अटो पार्किङसँगको समन्वयमा ट्राफिक लाइट राखे पनि नियमित मर्मतको अभावमाा चार÷पाँच वर्षपछि नै बिग्रिएका थिए । महानगरले पुनः डेढ दशकपछि ट्राफिक बत्ती राख्ने प्रक्रिया अघि बढाएको हो । ट्राफिक लाइट नहुँदा ट्राफिक आइल्याण्डमा बसेका प्रहरीले हातको इशारामा सवारी व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।
जसका लागि एउटै चोकमा दुईभन्दा बढी ट्राफिक प्रहरी परिचालित हुनुपर्ने बाध्यता रहेकामा बत्ती जडानपछि जनशक्ति कम लाग्ने तथा प्रहरीको काममा सहज हुने बताइन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखराको मुख्य बजार क्षेत्रमा मात्र दैनिक ६० को हाराहारीमा ट्राफिक प्रहरी यातायात व्यवस्थापनमा खटिने गरेको जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले ट्राफिक बत्ती जडानबाट शहरको सुन्दरतासँगै प्रहरीको काममा सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार शुरुआतमा बत्तीको नियम पालना गराउनका लागि प्रहरी चोकहरुमा प्रहरी परिचालन गर्नुपर्ने भए पनि पछि कम जनशक्ति भए पुग्छ । कास्कीमा दैनिक ९० देखि १०० को हाराहारीमा ट्राफिक प्रहरी राजमार्ग तथा बजार क्षेत्रमा परिचालित हुँदै आएका छन् । -रासस