- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले बैतडीको सुर्नया गाउँपालिका–५, मडकी २१ वर्षीया गीता विकले जन्माएको अनौठो शिशुदेखि कञ्चनपुरको रानीपुरका किसान महिला खेतवारीमा लगाएको पाकेको तोरी निकाल्दै गरेकोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
बैतडीको सुर्नया गाउँपालिका–५, मडकी २१ वर्षीया गीता विकले जन्माएको अनौठो शिशु । पहिलो सन्तानको रुपमा जन्मिएको छोराको मलद्वार, नाक र ओठ छैन ।
कञ्चनपुरको रानीपुरका किसान महिला खेतवारीमा लगाएको पाकेको तोरी निकाल्दै । व्यावसायिक तरकारी र उखु खेती लगाउनमा किसानले जोड दिन थालेपछि तोरी लगाउने किसान घट्दै जान थालेका छन् ।
शुक्ला गण्डकी नगरपालिका–२ स्थित भुजिकोट गाउँमा रहेको भ्यू टावर । सो टावरबाट आसपासका नौ जिल्ला देखिने स्थानीयवासी बताउँछन् ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित एक्लेफाँटमा नाङ्लो बिक्री गर्न हिँडेका व्यापारी । बाँसको चोयाबाट निर्मित नाङ्लो प्रति गोटा रु २५० देखि ३५० सम्ममा बिक्री हुने व्यापारी बताउँछन् ।
डोटीको दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडामा नगरपालिकाको अनुदानमा गरिएको तरकारी तथा फलफूल खेती अनुगमन गर्दै नगर प्रमुख मञ्जु मलासीसहित टोली ।
खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाटको ‘दूधकोशी जलाशययुक्त जलविद्युत परियोजना’को निर्माणस्थल । एसियाली विकास बैङ्क ९एडिबि०को आर्थिक लगानीमा सञ्चालन हुने उक्त आयोजनाका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०को काम भइरहेको छ ।
गोर्खाको वारपाकबाट पोखरा घुम्न आएका आन्तरिक पर्यटक । पोखरा महानगरपालिका वडा नं ६ बाराही घाटस्थित फेवातालमा डुङ्गा सयरका लागि पालो कुर्दै ।
तनहुँको आँबुखैरेनी बजार क्षेत्रमा बिक्रीका लागि राखिएको मनकामना क्षेत्रको सुन्तला । यहाँको सुन्तला अधिकाँश मानिसहरुले मन पराउने गर्छन् ।
पाल्पा सदरमुकाम तानसेनको एक पसलमा बिक्रीका लागि राखिएको जाडोको न्यानो कपडा ।
लालझाडी गाउँपालिकामा रहेको उखु पेल्ने कोल्हुमा तयार गरिएको गुड बजारमा बेच्न लैजान अघि प्लाष्टिकका थैलिमा प्याक गर्दै कामदार ।
शुक्लाफाँटा नगरपालिका–४ आसापुरका किसान खेतमा लगाएको आलुबालीलाई डढुवा रोगबाट जोगाउनका लागि बिषादी छकैदै ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द्र सिजापति बडीमालिका नगरपालिका–३ रजालीका कृषकले लगाएको तरकारीको अवलोकन अनुगनम गर्नुहुदै ।
पाल्पाको बगनासकाली गाउँपालिकाको मराङमा काली गण्डकी कोरिडोरमा सडक विस्तारले कुलो छिन्नभिन्न भएपछि बाँझो बनेको खेती योग्य जमिन देखाउँदै स्थानीय लीलामणि अधिकारी ।
तनहुँको व्यासनगरपालिका–७ स्थित क्यामिन फाँटमा धान बत्याउँदै र साथमा धान भर्दै गरेका किसानहरु । यतिबेला किसानहरुलाई धान थन्काउन चटारो परेको छ ।
कञ्चनपुरको लालझाडी गाउँपालिका कञ्जका किसान खेतमा उत्पादीत पिडालु सफा गर्दै ।