×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पाँच तारा बचत तथा ऋण सहकारी संस्थाद्वारा एटिएम सेवाको सुरुवात, अध्यक्ष कँडेलले गरे उद्घाटन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा शुरु गरेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले एक कार्यक्रमकाबीच औपचारिक रुपमा एटिएम बुथको उद्घाटन गरेका हुन् । संस्थाका अध्यक्ष भोला नाथ पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि रहेका कँडेलले सहकारी क्षेत्रलाई डिजिटाइजेशनमा जान केहि कानुनहरु परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको जनाए । सहकारीको आफ्नै प्रविधि प्रचलनमा ल्याउन सहकारी कानुन मात्र पर्याप्त नभएको भन्दै महासंघले त्यसका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग पहल गरिरहेको उनले जानकारी दिए ।
सहकारीलाई डिजिटाइजेशनमा जोड्नका लागि राष्ट्र बैंक सम्बन्धी कानुन नै संशोधन गर्नुपर्ने देखिएको उनले बताए । कुनै समय सहकारीहरुलाई एटिएम सञ्चालन गर्न कुरा गर्दा खर्चिलो हुने भन्दै पछाडि हटेको स्मरण गर्दै कँडेलले भने अहिले ५० भन्दा बढि संस्थाले एटिएम मेशिन राखेर सदस्यलाई सेवा दिइरहेका छन् । पूँजी, श्रम र सीपलाई एकिकृत गरेर सदस्यको आर्थिक समृद्धिमा सहकारीले भूमिका थप गर्दै लैजानुपर्ने भन्दै उनले वित्तीय सेवाका अतिरिक्त शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्व जस्ता काम गरेर सदस्यको जीवनस्तरलाई सहज बनाउन सहकारी लाग्नुपर्ने जनाए ।
काठमाण्डौ र मोफसलमा रहेका ओरेण्टल जस्ता केहि सहकारीका कारण कर्मचारीतन्त्र र नेताहरुले सहकारी भन्ने वित्तिकै नाक खुम्च्याउने गरेको तर अधिकांश सहकारीले सदस्यहरुलाई सम्पूर्ण सेवा दिएर दैनिकीलाई सहज बनाउन मद्दत गरेको उनले उल्लेख गरे । समाजवादउन्मुख अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका रहेकाले त्यसतर्फ सहकारीहरु लाग्नुपर्नेमा कँडेलको जोड छ । सहकारीहरु एकिकरणमा नगई नहुने भन्दै पाँच ताराले वरिपरि रहेका संस्थाहरुलाई एकिकरणका लागि पहल गरी सबल संस्था निर्माण गरेर सदस्यहरुलाई अझ गुणस्तरीय थप सेवा प्रदान गर्न उनले सुझाव दिए ।
कार्यक्रमका अतिथि एवं कास्कुनका अध्यक्ष दिपक पनेरुले युगले फड्को मारेसँगै सहकारीहरुले पनि क्रमशः प्रविधिलाई आत्मसात गर्दै अगाडि बढेको बताए । हिजो बचत लिने र ऋण दिने कुरा मात्रै सहकारीबाट हुन्थ्यो भने आज प्रविधिमा जोडिएर सहकारीहरुले सदस्यलाई विविध प्रकारका सेवा दिन थालेको उनले जनाए । प्रविधिको प्रयोगले छिटो छरितो सेवा प्रदान हुनुका साथै युवा पुस्तालाई समेत सहकारीमा आकर्षित गर्न सकिने भएकाले अब क्रमशः सहकारीहरुले प्रविधिलाई अँगाल्दै सेवामा नवीनता ल्याउनुपर्ने पनेरुले जनाए ।
पाँच ताराले दिएको सेवाले सदस्यमाझ मात्र नभई सिंगो अभियानमा नै एउटा छुट्टै पहिचान बनाउन सकेको भन्दै उनले आगामी दिनमा यस्ता प्रकारका आधुनिक सेवाहरु थप्दै जान सुझाए । कार्यक्रमका अतिथि एवं बागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटाले कतिपयले सहकारी कहिले बैंक बन्ने होला भन्दै प्रश्न गरेको तर सहकारीले बैंकले भन्दा बढि सेवा दिइराखेको उल्लेख गरे । नीति, विधि र प्रविधिमा रहेर सहकारीले काम गर्नुपर्ने भन्दै उनले संस्थागत सुशासन कायम राखेर अगाडि बढे सदस्यको विश्वास जित्न सकिने बताए । समुदायमा आधारित र सदस्यकेन्द्रित नभएका संस्थाहरुमा समस्या रहेको भन्दै उनले त्यसको समाधानका लागि नेफ्स्कुन, कास्कुन र प्रदेश बचत संघजस्ता फेडरेशनहरु मिलेर काम गरे शुद्धिकरण ल्याउन सकिने उनले धारणा राखे ।
कार्यक्रममा एसिटि नेटवर्कका एमडी रत्नसुन्दर हाखाजुले एटिएम कार्डको प्रयोगका बारेमा जानकारी गराएका थिए । आफूहरुले सन् २००१ देखि हिमालयन बैंकसँग सहकार्य गरेर डेबिट कार्डको प्रयोग शुरु गरेको बताउँदै उनले एसिटि नेटवर्कसँग आवद्ध जुनसुकै संस्थाबाट स्वाप गरेर भुक्तानी गर्न सकिने जनाए । त्यसैगरी ई–कमर्श, वालेट जस्ता प्लाटफर्ममा कार्ड एड गरेर विभिन्न वस्तु खरिद तथा सेवा उपभोग गर्न सकिनेछ ।
संस्थाका अध्यक्ष भोला नाथ पाठकले यस भेगमा कुनै पनि बैंक तथा वित्तीय संस्था नहुँदा सहकारी स्थापना गरी सदस्यहरुलाई सेवा दिन थालेको स्मरण गर्दै संस्थाले तीनचार वर्ष अगाडि नै एटिएम सेवा शुरु गर्ने योजना बनाएको भएपनि केहि समय ढिला हुन गएको बताए । संस्थाले यस अघि नै मोबाइल बैंकिङ सञ्चालनमा ल्याई सदस्यहरुलाई युटिलिटी पेमेन्ट, ब्यालेन्स चेक तथा ट्रान्सफर जस्ता सुविधा दिँदै आएकोमा हाल एटिएम मेशिन नै राखेर सेवा दिन थालिएकोमा सबै सदस्यहरुलाई सेवा लिन आग्रह गरे ।
एटिएम सेवा सञ्चालनमा ल्याउन त्यति सहज नभएको र खर्चालु समेत रहेकाले त्यसलाई व्यवस्थापन गर्दै जानु थप चुनौति रहेको उनले जनाए । उनले भने ‘एटिएम सेवा शुरु गर्नु ठूलो होइन, तर यसलाई निरन्तरता दिने र सदस्यमाझ पु¥याउनु महत्वपूर्ण हो, सबै सदस्यलाई एटिएम सेवा लिन आग्रह गर्छु ।’ संस्थाले नियमति मासिक बचत गर्ने र उद्यम कोष खाता खोल्ने सदस्यहरुलाई बिना शुल्क एटिएम कार्ड उपलब्ध गराउने जनाएको छ । अन्य सदस्यले भने २५० रुपैया शुल्क तिरेर डेबिट कार्ड लिन सक्नेछन् ।
संस्थाले सहकारी क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान र लिपिवद्ध गर्नुका साथै समुदायको हरेक पाटोमा जोडिएर काम गरेको उनले बताए । संस्थाले सोही अवसरमा सिटिजन्स लाईफ इन्स्योरेन्ससँग सदस्यहरुको ऋणको सुरक्षणका लागि बीमा सम्झौता समेत गरेको छ भने संस्थाको सम्पूर्ण अद्यावधिक कारोबार डिस्प्ले गर्नका लागि डिजिटल बोर्ड समेत जडान गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: