NABIL AD

पर्यटनमा गति लिँदै गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनी, आयआर्जन बढाउने लक्ष्य

GARIMA BANK
आँबुखैरेनी । गण्डकी प्रदेशको पूर्वी प्रवेशद्वार आँबुखैरेनीले पर्यटनमा गति लिँदै गएको छ । प्राकृतिक पर्यटकीय पूर्वाधारमा सम्पन्न आँबुखैरेनी गाउँपालिकामा पछिल्लो समयमा स्थानीय तहले यहाँको पर्यटकीय विकासमा चासो दिएको त छ नै प्रदेश र सङ्घ सरकारको पनि चासो बढ्दै गएको छ । साबिकका आँबुखैरेनी, छिम्केश्वरी र देउराली गाउँ विकास समिति मिलाएर बनेको आँबुखैरेनी गाउँपालिका प्राकृतिक एवम् सांस्कृतिक दुवै रुपमा सम्पन्न रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो । आँबुखैरेनीका पर्यटकीय सम्भावनालाई उजागर गर्दै यहाँको पर्यटन प्रवद्र्धन र विकास उच्च प्राथमिकतामा राखिएको प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिनुभयो । “पर्यटकीय विकासलाई लक्षित गरी गाउँपालिकाले यस आर्थिक वर्षमा करीब दुई करोड रुपैयाँ विनियोजन गरेको छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाको पर्यटकीयस्थल ऐना पहराको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ भने आँधिमूल वाराही र अकला मन्दिरको डिपिआर तयार गर्न लागिएको छ ।” छिम्केश्वरी र हिलेखर्कको प्रवद्र्धनलाई लक्षित गरी योजना अघि सारिएको उहाँले बताउनुभयो ।
प्रकृतिका विभिन्न मनोरम छटाका साथै परापूर्वकालमा ऋषि, महर्षिहरूको तपोभूमिका रुपमा यसको महिमा र गरिमा बढेको पाइन्छ । पौराणिक किंवदन्तीअनुसार प्राचीनकालमा ऋषि महर्षिको तपोभूमिमा रहेका आँपका ठूलाठूला बगैँचाका कारण आँबु र आसपासमा खयरको जङ्गल रहेका कारण खैरहनी भन्ने गरिएकामा पछि अपभ्रंश भई आँबुखैरेनी नाम रहेको भन्ने विश्वास रहिआएको छ । धार्मिक, सांस्कृतिक, प्राकृतिक एवम् जैविक विविधताले सम्पन्न आँबुखैरेनीको पर्यटकीय विकासलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेको पोखरेलले बताउनुभयो । समुद्री सतहबाट करीब २०० मिटरको घुमाउनेदेखि दुई हजार १३४ मिटरमा रहेको धार्मिक पर्यटकीयस्थल छिम्केश्वरी रहेको आँबुखैरेनी १२८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
विभिन्न जातजाति, भाषभाषीको साझा थलो यस ठाउँमा मगर, गुरुङ, क्षेत्री, ब्राह्मण, नेवार, दलित, चेपाङ, भुजेल, तामाङ आदि बसोबास गर्दछन् । गाउँपालिकाको तीनतर्फबाट बग्ने त्रिशूली, मस्र्याङ्दी र सेती नदीका कारण सिञ्चित आँबुखैरेनी कृषि र पशुपछीपालनका लागि पनि उर्वर भूमि मानिन्छ । गाउँपालिका–१ एक हजार ७०० फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने धार्मिक पर्यटकीय गन्तव्य आँधिमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागिएसँगै यहाँका स्थानीयवासी यस क्षेत्रको पर्यटकीय विकास हुनेमा आशावादी छन् । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधिमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् । कञ्चन पानी रहेको पोखरीमा ठूलै सङ्ख्यामा खेल्ने माछा यस तीर्थस्थलको प्रमुख आकर्षण हो । जलदेवताका रुपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्य रुपमा संस्कार (काजक्रिया)गर्नुपर्ने प्रचलनले यहाँको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ ।
मन्दिरका पुजारी युवराज मास्के मगरका अनुसार दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ । गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका ११० पर्यटकीय गन्तव्यमध्येमा आँधिमूललाई राख्दै यसको विकासका लागि पनि चासो दिएको छ । प्रदेश सरकारले तोकेका ११० पर्यटकीय गन्तव्य बम्धेको आँबुखैरेनीको छिम्केश्वरी यहाँको अर्को पर्यटकीय आकर्षण हो । छिम्केश्वरीको पर्यटन प्रवद्र्धनमा गाउँपालिकाले जोड दिँदै आएको छ ।
धार्मिक एवम् सांस्कृतिक पदयात्रा मार्गका रुपमा परिचित छिम्केश्वरी प्राचीनकालदेखि पवित्र तीर्थस्थलका रुपमा रहेको छ । छिम्केश्वरीबाट पाँचसात मिटर माथि बूढीदेवीमाई तीर्थस्थल छ । यहाँबाट धवलागिरिदेखि लाम्टाङ हिमालसम्मको रमणीय हिमाली दृश्यका साथै पहाडी दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ । किंवदन्तीअनुसार सातदेवीमध्ये जेठी बूढीदेवीमाई र माहिली छिम्केश्वरीमाई हुन् । त्यस्तै, साहिली गोरखकालीमाई, काँहिली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाई हुन् । यी सबै देवीका मन्दिरहरू यहीँबाट अवलोन गर्न पाउनुलाई विशेष महत्वका रुपमा लिइएको छ । जनविश्वासअनुसार सातमध्ये अन्य ६ वटै देवीको दर्शन गरेर पनि छिम्केश्वरीको दर्शन नगरेमा मनोकाङ्क्षा पूरा हुँदैन भन्ने मत छ । छिम्केश्वरीमा फागु पूर्णिमा, तमु ल्होसार, नयाँ वर्ष, श्रीपञ्चमीका साथै प्रत्येक पूर्णिमा र सङ्क्रान्तिका दिन यहाँ विशेष पूजाआजा हुने गर्दछ । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीबाट १६ किलोमिटर कच्ची सडक हुँदै ठूलोढुङ्गासम्म जीप र त्यसपछि ४५ मिनेट पदयात्रा गरी छिम्केश्वरी पुग्न सकिन्छ ।
त्यस्तै, बन्दीपुरबाट ठूलोढुङ्गासम्म २३ किलोमिटर कच्ची सडक हुँदै यहाँ पुग्न सकिन्छ । त्रिशूली र मस्याङ्दी नदीको दोभान पुलजीपबाट छिम्केश्वरीसम्मको मार्गलाई पदयात्रा पर्यटनसँग जोड्न सकिने पर्यटनविज्ञ हरिसिंह गुरुङ बताउनुहुन्छ । “पुलजीपदेखि छिम्केश्वरी हुँदै बन्दीपुरसम्मको मार्गलाई तीन दिन दुई रात समयावधिको पदमार्गका रुपमा विकास गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “पदयात्रा पर्यटनसँगै आँबुखैरेनी गाउँपालिकामा पर्यटकीय विकासका धेरै सम्भावना छन् ।” आँबुखैरेनीका आँधिमूल, ऐनापहराको प्रवद्र्धन एवम् विकासका साथै मस्र्याङ्दी बाँधको केही पानीलाई जलक्रिडाका लागि उपयोग गर्न सकिने अवस्थासमेत रहेको उहाँको भनाइ छ ।
आँबुखैरेनीमा रहेको दरौँदी र मस्र्याङ्दी नदीको सङ्गम रामशाहघाटलाई धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्न सकिने उल्लेख गर्दै गुरुङले बन्दीपुर–छिम्केश्वरी हुँदै घुमाउनेसम्म माउन्टेन बाइकिङका सम्भावनासमेत रहेको जानकारी दिनुभयो । गाउँपालिकाले डिपिआर तयार गर्न लागेको वडा नं १ बरादीस्थित अकलाथान यहाँको अर्को धार्मिक पर्यटकीय गन्तव्य हो । मन्दिरको दर्शनसँगै वनभोज एवम् मस्र्याङ्दी जलसरोवर अवलोकन गर्न पर्यटकहरू यहाँ आउने गर्दछन् । डिपिआर तयार भइसकेको ऐना पहरालगायत स्थानलाई आगामी दिनमा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।
गाउँपालिका भित्रका विविध पर्यटकीय सम्भावनालाई उजागर गर्दै त्यसका माध्यमबाट स्थानीयवासीको आयआर्जनसमेत बढाउने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो । “आँबुखैरेनीमा धेरै पर्यटकीय सम्भावना छन् हामी तिनीहरूको उजागर गर्दै प्रवद्र्धन र विकास गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो । -रासस
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal