×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बेनी-दरबाङ सडक अझै खुलेन, श्रमदान गरी यातायात सञ्चालन गर्दै जनप्रतिनिधि र प्रजिअ

म्याग्दी । म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी-दरबाङ सडकको पहिरो पन्छाएर यातायात सञ्चालन गर्न जनप्रतिनिधि, प्रशासक, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र सर्वसाधारणले श्रमदान गरेका छन् । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दूरीको बेनी-दरबाङ सडकखण्ड यही असार १ गतेदेखि अवरुद्ध बनेको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतको पहिरो पन्छाएर यातायात सञ्चालन गर्न आइतबार जिल्लाका सरोकारवाला आफैँले श्रमदान गरेका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, नेपाली सेनाको अर्थुङ्गे गुल्मका सेनानी र सशस्त्र प्रहरीको गलेश्वर आश्रित गुल्मका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङको नेतृत्वमा सुरक्षाकर्मीहरु सडक मर्मतका लागि फापरखेत पुगेका थिए ।प्रशासक र सुरक्षाकर्मीसँगै तातोपानी र बाबियाचौरका जनप्रतिनिधि र सर्वसाधारण पनि श्रमदानमा सहभागी भएका थिए । नेपाल प्रहरीका २२, नेपाली सेनाका १४ र सशस्त्र प्रहरीका १३ सहित स्थानीयवासीले पहिरोले भत्काएको ठाउँमा ग्यावियन पर्खाल बनाउन श्रमदान गरेका हुन् ।
पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी-दरवाङ सडक आयोजनाको ठेकेदार लामा-समानान्तर जेभीको दुई वटा स्काभेटर पनि सडक खुलाउन परिचालन भएको थियो । मङ्गला-२ सिमको पहिरोमा पनि फापरखेतमा जस्तै सुरक्षाकर्मी र स्थानीयवासीले श्रमदान गरेका हुन् । पूर्वाधार विकास कार्यालयले एउटा स्काभेटर परिचालन गरेको छ । फापरखेतको घुमाउनेमा सडक मर्मत गरेर बेनीदेखि सिमसम्म हलुका सवारी साधन आवतजावत गर्न मिल्ने बनाइएको प्रनाउ राईले बताउनुभयो । जिसस प्रमुख, प्रजिअ र सुरक्षा अधिकारीहरुले महत्वका साथ आफैँ उपस्थित भएर सडक खुलाउन प्रयास गर्नुभएको हो ।
यसअघि बेनी-दरबाङ सडक आयोजनाको दोस्रो प्याकेजको ठेकेदार बिरुवा क्याराभान जेभीले मालिका गाउँपालिकाको बाङ्गे पहिरोमा खसेको पहिरो पन्छाएर दरबाङदेखि तोराखेतसम्मको सडकमा यातायात सञ्चालन गराइएको थियो । यसैगरी बेनी-जोमसोम सडकको बेनी-६ जलेश्वर, रघुगङ्गा गाउँपालिकाको चमेरेलगायत ठाउँमा खसेको पहिरो बेनी-जोमसोम-कोरला सडक आयोजनाको ठेकेदार कम्पनीको स्काभेटर परिचालन गरेर हटाई साँझ बेनीदेखि भुरुङ-तातोपानीसम्म यातायात सञ्चालन गराइएको छ । अन्नपूर्ण गाउँपालिकाको रुप्से र मुस्ताङको सिमाना काभ्रेभिरमा खसेको पहिरो पन्छाउने कार्य जारी छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: