×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई करोड ९१ लाख ४९ हजारमा निमार्ण भएको तिजाली-पच्नाली-मुडभारा खानेपानी योजना गुणस्तरहीन

PRIME CA

दुई करोड ९१ लाख ४९ हजारमा निमार्ण भएको तिजाली-पच्नाली-मुडभारा खानेपानी योजना गुणस्तरहीन

२५ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

डोटी । जिल्लाको शिखर नगरपालिका-४, ५ र ६ अन्तर्गत पर्ने तिजाली-मुडभरा-पच्नाली खानेपानी आयोजनाको काम गुणस्तरहीन भएको आरोप लागेको छ । खानेपानी निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले आफूले काम नगरी पेटी ठेकेदारलाई पटक-पटक उक्त योजना बिक्री गरेर काम गराउँदा कम गुणस्तरको काम भएको तथ्य बाहिर आएको छ । ठेक्का पाएको नागार्जुन जेभिआर कम्पनीले उक्त योजनाको काम पेटी ठेक्कामार्फत कमसल खालका सामग्री प्रयोग गरी गराउँदा काम गुणस्तरहीन भएको स्थानीयवासीको आरोप छ ।
ठेक्का पाएको निर्माण कम्पनीले दुई करोड ९१ लाख ४९ हजारमा ठेक्का सम्झौता गरेको थियो । सो कम्पनीले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन विभागको क्षेत्रीय कार्यालय धनगढीसँग छ महिनामा काम सम्पन्न गर्ने गरी विसं २०७७ असोज ९ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले सम्झौता गरेको उक्त योजनाको काम २०७७ चैत ८ गते सम्पन्न गर्ने गरी सम्झौता गरेको भए पनि सम्झौता अवधिभित्र काम सम्पन्न हुन नसकेको स्थानीयवासी बताउँछन् ।
स्थानीयवासीका अनुसार ठेक्का सम्झौताअनुसारको काम गर्नुपर्ने निर्माण कम्पनी जेभिआरले पेटी ठेकेदारलाई ठेक्का बेचेकाले समयमै काम सम्पन्न हुनसकेको देखिँदैन । ठेक्का पाएको सो कम्पनीका प्रतिनिधि तथा दिपायल सिलगढी नगरपालिका-२ का स्थानीयवासी घनश्याम पाठकले उक्त योजना जोरायल गाउँपालिका-१ घण्टेश्वर बस्ने खेमबहादुर मगरलाई बिक्री गरेको तथ्य बाहिर आएको छ । पाठक पहिलो पक्ष बनेर दोस्रो पक्ष खेमबहादुर मगरलाई ठेक्का रकमको ६० प्रतिशत पाउने गरी बिक्री गरेको लिखित प्रमाण फेला परेको छ ।
यसैगरी खेमबहादुरले आफूले पाएको ठेक्का पनि कमिशनका आधारमा तेस्रो व्यक्तिलाई बिक्री गरेको पाइएको छ । यसरी निर्माण कम्पनीले ठेक्का सम्झौताअनुसार काम नगर्दा र कमिशनका आधारमा पेटी ठेकेदारलाई काम बेच्दा समयमा उक्त काम नसकिने र काम पनि गुणस्तरहीन हुने देखिएको स्थानीयवासी रामबहादुर खत्रीले बताउनुभयो । सोही ठेक्कालाई फेरि जोरायल गाउँपालिका-३ सरस्वतीनगर बस्ने लीला ओलीलाई दोस्रो पक्ष बनाएर खेमबहादुरले बिक्री गरेको प्रमाण पनि फेला परेको छ ।
उहाँहरुबीच विसं २०७७ कात्तिक १ गतेका दिन लिखित कागज भएको प्रमाण फेला परेको छ । खेमबहादुरले लीलालाई उक्त योजना रु एक करोड ३० लाखमा बिक्री गरेको देखिन्छ । मगरले पनि ठेक्काको ६० प्रतिशत पाउने गरी तिजाली-पच्नाली-मुडभरा खानेपानी आयोजना बेचेको पाइएको छ । खेमबहादुरले पाएको ठेक्का फेरि कमिशनका आधारमा तेस्रो व्यक्तिलाई समेत बिक्री गरेको पाइएको हो । दुई करोड ९१ लाखको ठेक्कालाई रु एक करोड ७० लाखमा बिक्री गरेर काम गरिरहेको अर्का स्थानीयवासी शिवराज भट्टको आरोप छ ।
यसरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले कमिशन लिएर ठेक्का बेच्दा र कमिशनै कमिशनमा योजना निर्माण हुँदा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरेर काम भएको हुनसक्ने उहाँको बुझाइ छ । सो खानेपानी आयोजनाका अध्यक्षको मृत्यु भएकाले हरेक आर्थिक गतिविधिलाई सञ्चालन गर्न नसकिएका कारण ठेकेदारले अन्य उपभोक्तालाई हातमा लिएर काम गरेकाले गुणस्तरमा खस्किँदो अवस्था देखिएको स्थानीयवासी बताउँछन् ।
यस विषयमा निर्माण कम्पनीका प्रतिनिधि घनश्याम पाठकसँग बुझ्दा उहाँले आफूले उक्त योजनाको काम पेटी ठेक्कामार्फत ४० प्रतिशत निर्माण कम्पनीको हुने र ६० प्रतिशत पेटी ठेकेदारको रहने गरी काम दिएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले पेटी ठेक्कामा काम दिएको हूँ, पेटी दिएकाले के-के गरे थाहा भएन, नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले १५ प्रतिशत रकम मागेकाले समस्या भएको हो ।’ काम पेटी ठेक्कामार्फत दिएको भए पनि लाग्ने सामग्री तथा खर्च आफूले तिर्ने उहाँले जानकारी दिनुभयो ।
उता सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनगढीका प्रमुख प्रकाश रावलले खानेपानीको काम सम्झौताअनुसार नभए र गुणस्तरीय काम नभएको भए बिल पास नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘उक्त योजनाको अनुगमनका लागि दुई कर्मचारी फिल्डमा जानुभएको छ, सम्झौताअनुसारको काम नभएको भए बिल पास गरिन्न ।’ शिखर नगरपालिकाअन्तर्गत पर्ने तिजाली-पच्नाली-मुडभरा खानेपानी आयोजनाको १२ हजार लिटरको फिल्टरेशन ट्याङ्की निर्माणका लागि उक्त बजेट विनियोजन गरिएको थियो । बजेटअनुसारको काम नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन् । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: