×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

व्यवसाय गर्न स्वदेश फर्किएका युवाको लोभलाग्दो केराखेती, एक बिगाह जग्गामा १० लाखसम्मको आम्दानी

कैलाली । कैलालीको टीकापुर नगरपालिका-२ का खेम विक रोजगारीका लागि पहिले भारतमा मजदूरी गर्नुहुन्थ्यो । भारतमा पनि उहाँको कमाइ राम्रै थियो । गाउँघरमा आफूसँगका सहकर्मी व्यवसायमा जोडिँदै गएपछि उहाँ पनि व्यवसाय गर्न स्वदेश फर्किनुभयो । उहाँले १० कठ्ठा जग्गाबाट व्यावसायिक केराखेती सुरु गर्नुभयो । ‘मसँगका साथी केरा व्यवसायमा नै जोडिएका कारण मैले पनि केरा व्यवसायलाई नै रोजेको हुँँ,’ उहाँले भन्नुभयो, ‘१० कठ्ठाबाट सुरु गरेको केराखेती अहिले १४ बिघा गर्दै आएको छु ।’ 
लगानीको करीब ५० प्रतिशत आम्दानी हुने भएपछि उहाँले व्यवसाय थप्दै गएको बताउनुभएको छ । ‘एक बिगाहमा १० लाखसम्मको आम्दानी गरेको छु । त्यो धेरै हो । बढीमा सातदेखि आठ लाखसम्म आम्दानी हुन्छ’, विकले भन्नुभयो, ‘आम्दानी भएकोमध्ये आधा नाफा हो ।’ एकचोटी रोपेको केराले तीन पटकसम्म उत्पादन दिने गरेका कारण पनि युवा केराखेतीप्रति आकर्षित भएका छन् । टीकापुर-९ का हरिहरप्रसाद उपाध्यायले पाँच कठ्ठाबाट सुरु गरेको केराखेती छ वर्षमा नौ बिघा क्षेत्रफलमा बिस्तार गर्नुभएको भएको छ । 
स्नातक तहसम्मको अध्ययन गरेका उहाँको सबै परिवार केराखेतीमै छ । ‘पढाइले मात्र केही नहुने भएपछि पढाइसँगै व्यवसाय सुरु गरेको थिएँ । अहिले त्यसैलाई निरन्तरता दिँदै आएको छु’, उहाँले भन्नुभयो, “एक बिघा केराखेतीबाट कम्तीमा पनि चारदेखि पाँच लाखसम्म आम्दानी गर्न सकिन्छ । त्यतिमा म सन्तुष्ट नै छु ।’ जानकी गाउँपालिका वडा नं ६ का प्रह्लाद बटाला सन् २०११ मा वैदेशिक रोजगारीका लागि कतार गए । वैदेशिक रोजगारीमा राम्रो कमाई नभएपछि प्रह्लाद स्वदेश फर्किएर व्यावसायिक बङ्गुरपालनमा लाग्नुभयो ।
विदेशमा रहँदा कमाएको पैसाले उनले बङ्गुरका लागि फार्म तयार पार्नुका साथै ८० वटा बङ्गुरका बच्चाबाट व्यवसाय सुरु गरेको तीन वर्षमा उहाँले फार्ममा अहिलेसम्म ३५ लाख खर्च गरिसकेका छन् । ‘सुरुमा विदेशबाट फर्किएपछि के गर्ने भन्ने निकै अन्योलमा थिएँ । परिवारकै सल्लाहमा बङ्गुरपालन सुरु गर्ने निधो गरेको हुँ’, उहाँले भन्नुभयो, ‘अहिले राम्रो छ । दानाको समस्या भने निकै छ । तर, उत्पादन भएको वस्तुको बजारीकरणमा कुनै समस्या छैन ।’ उहाँले बङ्गुरका लागि दानाको वैकल्पिकरुपमा अजौलाखेती सुरु गर्नुभएको छ । त्यसले बङ्गुरलाई चाहिने आवश्यक प्रोटिन दिने भन्दै त्यसपछि दानाको आवश्यक नहुने बताउनुभयो । 
उहाँको चार जनाको परिवार नै त्यही व्यवसायमा छ । अहिले मासिक एक लाखदेखि एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको बटाला बताउनुहुन्छ । उहाँले बङ्गुरपालनसँगै बाख्रापालनलाई पनि सँगै अगाडि बढाएका छन् । टीकापुर-४ का वसन्तकुमार जिसी २०६३ सालदेखि बैंकको चौकीदारी गर्दै गर्नुभएको छ । उहाँले गर्दै आएको कामबाट सन्तुष्ट नभएपछि व्यावसायिक बाख्रापालन सुरु गरे । दुई वर्ष अगाडि पाँच बाख्राबाट व्यावसायिक बाख्रापालन शुरु गरेका उहाँको फार्ममा साना ठूला गरेर ७० बाख्रा छन् । 
उहाँले व्यवसाय सुरु गरेको धेरै समय नभएको बताउँदै आम्दानीको स्रोत खुलिनसकेको बताउनुभयो । ‘जागिर बाध्यता हो भने व्यवसाय रहर’, उहाँले भन्नुभयो, “परिवारसँगै बसेर काम गर्न सकिने, जागिरभन्दा आम्दानी पनि राम्रो हुने भएपछि व्यवसायमा जोडिन पुगेको हुँ ।’ उहाँले व्यवसायले आम्दानी दिन थालेपछि जागिर छोड्ने बताउँदै बैंकको किस्ता तिर्नका लागि भए पनि जागिर बाध्यता भएको बताउनुभएको छ । टीकापुर-९ का राजुप्रसाद चौधरी २०६७ सालदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ ।
उहाँको छ जनाको परिवार तरकारी खेतीमै संलग्न छ । ‘पहिले हामीले परम्परागत खेती गर्यौ । त्यसबेला मुस्किलले परिवार पाल्न पुग्थ्यो’, उहाँ भन्नुभयो, ‘व्यावसायिकखेतीमा लागेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । तरकारीबाट राम्रो आम्दानी भइरहेको छ । अहिले व्यवसायमा लागेका परिवारका सबै सदस्य पनि खुशी छन् ।’ उहाँले दुई बिघा क्षेत्रफलमा वर्षे तरकारी लगाउनुभएको छ । एक मौसममा उहाँले सबै खर्च कटाएर दुई लाखसम्मको आम्दानी हुने गरेको बताउनुभयो । कोरोनाका कारण भएको निषेधाज्ञाले भने उत्पादन भएको तरकारीलाई बजारीकरण गर्न भने समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । -रासस
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: