×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक अर्बको लागतमा बृहत् खानेपानी आयोजना सुरु, नौ वटा वडाका पाँच हजार ५०५ परिवार लाभान्वित हुने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

एक अर्बको लागतमा बृहत् खानेपानी आयोजना सुरु, नौ वटा वडाका पाँच हजार ५०५ परिवार लाभान्वित हुने

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा बृहत् खानेपानी आयोजनाको प्रक्रिया थालिएको छ । यसका लागि पहिलो चरणमा ५४ करोडको ठेक्का आह्वान गरिएको हो । गत चैतमा उक्त खानेपानी आयोजनालाई एक अर्ब स्वीकृत भएको थियो । काभ्रेलाञ्चोकको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित एक अर्बको आयोजना स्वीकृत गरिएको हो ।
नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेको नौवटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको उपभोक्ता समितिले जनाएको छ । उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयवासीसँग प्रतिउपभोक्ता एक हजार लिएको छ । नगरसँग खानेपानी आयोजनाका लागि एक प्रतिशत करिब एक करोड लगानी गर्ने सम्झौता गरिएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार खानेपानी आयोजना सम्पन्न गर्न हाल बोलपत्र आह्वान गरिएको छ ।
आयोजनाको बोलपत्रलगायत प्रारम्भिक चरणको प्रक्रियाका लागि हाल नगरले ५१ लाख ६६ हजार उपलब्ध गराएको नगरप्रमुख टोकबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार ठकेदार कम्पनीको छनोट गरी सम्झौतापछि खानेपानी आयोजना तीन वर्षभित्र सक्नुपर्ने योजना बनाइएको छ । खानेपानी आयोजनाबाट नौ वटा वडाका पाँच हजार ५०५ परिवार लाभान्वित हुनेछन् ।
नगरस्थित ७ नम्बर वडाको सोते र १० नम्बरको नारिमखर्क भएर बगेको इन्द्रावती नदीमा इनार बनाएर लिफ्टमार्फत नगरका बासिन्दामा खानेपानी उपलब्ध गराइने योजना बनाइएको विभागका आयोजना प्रमुख राजेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लिफ्टिङ प्रविधिको यस आयोजनाले पाँच हजारभन्दा बढी परिवारका लागि विभिन्न चरणमा खानेपानी उपलब्ध गराउनेछ ।’ इन्द्रावती नदीको विभिन्न स्थानबाट लिफ्ट गरिएको खानेपानी नजिकको गाउँ र तेस्रो स्रोतबाट मुख्य ट्याङ्कीमा जम्मा गरी सम्पूर्ण उपभोक्तामा वितरण गर्ने प्रणालीको व्यवस्थापन गरिने समितिले जनाएको छ ।
खानेपानी वितरणका लागि मुख्यसहित ३५ ट्याङ्की निर्माण गरिनेछ । स्थानीय प्राविधिकका अनुसार लिफ्टिङ प्रविधिमार्फत व्यवस्थित गरिने खानेपानी आयोजनाको मुख्य रिजर्ववेयर ट्याङ्कीमा प्रतिसेकेण्ड १३ दशमलव शून्य पाँच लिटर पानी खस्नेछ । विनाशकारी भूकम्पले पानीका मूल सुकाएपछि खानेपानीको समस्या झेलिरहेका यहँका बासिन्दाले केही वर्षमै खानेपानी अभावबाट उन्मुक्ति पाउने अपेक्षा गरिएको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: