
मकवानपुर । मकवानपुरको सबैभन्दा अग्लो स्थान सीमभञ्ज्याङमा सातवटा ताल निर्माण गरिने भएको छ । बहुवर्षीय योजनाअन्तर्गत सो ताल निर्माण गर्न वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा ३३ लाख बजेट विनियोजन गरेको छ । प्रदेश भौतिक पूवार्धार विकासमन्त्री रामेश्वर फुयाँलले थाहा नगरपालिका-४ सीमभञ्ज्याङ क्षेत्रको सौन्दर्यीकरण र सीमसार क्षेत्र संरक्षणसहित सडक किनारामा ताल निर्माण गर्न लागिएको बताउनुभयो ।
सीमभञ्ज्याङको करीब दुई हजार ५०० मिटरको उच्च क्षेत्रबाट अटुटरुपमा बगिरहने पानीलाई बाँध बनाएर ताल निर्माण गर्नेगरी प्रदेश सरकारले प्रतिवेदन तयार पारिसकेको छ । गत २९ कात्तिकमा मन्त्रालयका सचिव सञ्जीव बराल, भीमफेदी-कुलेखानी पोष्टबहादुर बोगटी सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नवीन सिंह, जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख मनोहर रिजाल, खानेपानी तथा सरसफाइ डिभिजन-१ का प्रमुख बालमुकुन्द श्रेष्ठलगायत प्राविधिक टोलीसहित मन्त्री फुयाँलले स्थलगत अवलोकन गर्नुभएको थियो ।
सोही क्रममा उहाँले डिभिजनका प्रमुख रिजाललाई सीमभन्ज्याङमा पर्वतीय कृत्रिम ताल निर्माण गर्न वैज्ञानिक अध्ययन गर्न आग्रह गर्नुभएको थियो । नेकपा (एमाले) थाहानगर कमिटीले सीमभञ्ज्याङ, दामन, त्रिवेणीधाम, राष्ट्रिय विभूति उद्यान, महाकवि मार्ग, ढुङ्गेधारा, राजकुलो पुनःनिर्माणलगायतका पर्यटकीय पूर्वाधारको विकासका लागि आवश्यक बजेट विनियोजन गर्न सङ्घ तथा प्रदेश मन्त्रालयमा पहल गर्दै आएको थियो ।
अहिले स्थानीयबासी उत्साहित भएका छन् । हालसम्म सीमभञ्ज्याङमा पर्वतीय तालका लागि तत्कालीन स्थानीय विकास मन्त्रालयबाट रु सात लाख, शहरी विकास मन्त्रालयबाट तीन लाख र थाहाबाट तीन लाख गरी १३ लाख खर्च भइसकेको छ । हाल दुई कृत्रिम ताल रहेकामा सो समेतलाई पुनर्संरचना गरी सात ताल निर्माण गर्न लागिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख मनोहर रिजालले जानकारी दिनुभयो ।
समुद्र सतहबाट करीब दुई हजार ५०० मिटरको उचाइमा रहेको सीमभञ्ज्याङमा पर्वतीय सात ताल निर्माणसँगै ‘घुम्न जाउँ सीमभञ्ज्याङ’ कार्यक्रम सञ्चालन गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले तयारी गरेको छ । स ताल निर्माणस्थल त्रिभुवन राजपथसँगै नाङ्गेचुली र ब्योमकुट पर्वतको खोँचस्थित सीमसार क्षेत्रमा रहेको छ । यस वरपर सयौं वर्षदेखिका पुराना खस्रुका रुख रहेका छन्, भने लोक्ता, लौठसल्ला, पाषाणभेद, अलमले झार, रङ्गीविरङ्गी गुराँसका साथै बहुमूल्य जडीबुटी रहेका छन् । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्