काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज सोमबार (असार २१ गते) देखि बिजुली उत्पादन गर्ने भएको छ । कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
उनका अनुसार आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । प्रणालीको मागअनुसार विजुली उत्पादन हुने प्रवक्ता न्यौपानेले जानकारी दिए । आयोजनाले आइतबार विद्युतगृह रहेको गोगरदेखि खिम्तीसम्मको कुल ४७ दशमलब २ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।
यस्तै, जिआइएस समेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । आइतबारसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो भने अब सोमबारदेखि ती उपकरणलाई लोडमा चलाइने छ । आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ ।
प्रवक्ता न्यौपानेका अनुसार ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । उद्घाटनको आवश्यक तयारी पूरा भएको जानकारी दिँदै प्रवक्ता न्यौपानेले नेपाली जनताले विगत १० वर्षदेखि देखेको सपना पूरा भएको प्रतिक्रिया दिए । स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना सम्पन्न भएको हो ।
यस्तै, असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको छ । प्राकृतिक विपत्ति तथा अनेकन समस्यासँग जुध्दै स्वदेशी लगानीकै सबैभन्दा ठूलो आयोजना अन्तिम चरणमा पुगेको हो। आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही असार १३ देखि १९ गतेसम्म आवश्यक तयारी गरिएको थियो । त्यसमा विशेषगरी प्रसारण लाइन व्यवस्थापनको काम गरिएको डा. न्यौपानेले जानकारी दिए ।
माथिल्लो तामाकोशीको विद्युतगृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली सञ्चालन विभागले यही असार १२ गते एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी दिएको थियो ।
उक्त अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबारदेखि कोहरपुरसम्मका सवस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटा समयका लागि विद्युत् कटौती भएको थियो । त्यस समयमा प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी यथाशक्य विद्युत् कटौतीको समय कम गर्न प्रयास गरेको थियो। यसअघि आयोजनाको सुरुङमा पानी हालेर हाल पनि परीक्षणलगायतका काम नियमित गरिएको थियो ।
आयोजनामा कुल ६ युनिट रहेका छन् । स्वदेशी लगानीको ठूलो आयोजना निर्माण सम्पन्न हुन लामो समय लाग्दा अनेकन शंका पैदा भएका थिए । सरकारले सबै खालका साधन र स्रोत उपलब्ध गराएको भए पनि प्राकृतिक विपत्ति, कोरोनालगायत कारण पछाडि धकेलिँदै आएको थियो । योजना अन्तिम चरणमा पुगेपछि स्वदेशी लगानीमा नै ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वाससमेत पैदा गरेको छ । शुरुआती लागत ३५ अर्ब रुपैयाँ रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्ब रुपैयाँ हाराहारी पुगेको छ ।
पछिल्लो पटक प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आयोजनास्थल पुगेर आवश्यक निर्देशन तथा बिजुली उत्पादनको तयारीका बारेमा जानकारी लिएका थिए । पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिना आयोजनास्थल पुगेर समस्या समाधानमा सहजीकरण गरेका थिए । सबैको साथ र सहयोगका कारण माथिल्लो तामाकोशी निर्माणको अन्तिम चरणमा पुगेको भन्दै आयोजनाले प्रसन्नता व्यक्त गरेको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले आयोजनाको शिलान्यास गरेका थिए । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्