कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीका महिला सहकारी सञ्चालन गरी स्वरोजगार बन्दै गएका छन् । बैजनाथ महिला विकास बहुउद्देश्यीय सहकारी संस्था सञ्चालन गरी महिला आयआर्जनका कार्यमा संलग्न हुन थालेका छन् । सहकारीमा रकम बचतसँगै ऋण निकालेर महिलाले व्यवसायीक कृषि, व्यापार र पशुपंछीपालन गर्दै आएका छन् ।
महिलाले नै व्यवस्थापन गर्दै आएको सहकारी संस्थामा नगरपालिका क्षेत्रका एक हजार ११८ महिला आवद्ध रहेका छन् । महिलासँगै सहकारीमा किशोरी ५६ र बालबालिका १४५ समेत आवद्ध छन् । सहकारीका व्यवस्थापक विना क्षेत्रीका अनुसार १९३ महिला व्यावसायिक कृषि, ८१ व्यापार व्यवसाय र ४८ महिला पशुपंछीपालनमा संलग्न रहेका छन् ।
कृषि कर्जा रु ४८ लाख ३३ हजार ८०, व्यापार कर्जा रु २० लाख १४ हजार १६० र पशुपंछीपालनलगायत अन्य कर्जा रु १२ लाख आठ हजार ४९१ गरी जम्मा रु ८० लाख ५६ हजार ६३१ ऋणका रुपमा परिचालन गरिएको छ । आव २०७७/७८ मा मात्रै रु ६४ लाख ५८ हजार कर्जा महिलाले उत्पादनशिल क्षेत्रमा प्रवाह गरेका छन् । सहकारीमा आवद्ध महिलाको रु ५० लाख ८५ हजार ६५५ रकम बचत रहेको छ । सहकारीको सेयर पूँजी रु १४ लाख २१ हजार ९०० रहेको छ ।
“सहकारीमा आबद्ध सदस्यको निधन भएमा परिवारलाई रु दुई हजार किरिया खर्च उपलब्ध गराउने व्यवस्थासमेत गरेका छौँ”, व्यवस्थापक क्षेत्रीले भन्नुभयो, “व्यवसायीक कार्यमा संलग्न महिलालाई विना धितो रु एक लाखसम्मको ऋणसमेत सहुलियत ब्याजमा उपलव्ध गराउँदै आएका छौँ ।”
कार्यालयबाटै कर्मचारीलाई वर्षमा एक पटक पोशाक भत्तावापतको रकमसमेत उपलव्ध गराइँदै आएको छ । कोरोना महामारीबाट मृत्यु भएका सदस्यका परिवारलाई रु पाँच हजारका दरले र विपदमा परी धनसम्पती गुमाएका समेतलाई राहतस्वरुप सोहीअनुरुपको सहयोग रकमसमेत उपलव्ध गराइँदै आएको व्यवस्थापक क्षेत्रीले बताउनुभयो । साठी सेयर सदस्यबाट सुरु गरिएको सहकारीमा हाल एक हजार २२७ सदस्य रहेका छन् ।
“आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र हिंसामा परेका महिला र पछि परेको वर्गका महिलाको उन्नति तथा विकासमा पहुँच बढाउन सहकारीले महत्वपूर्ण योगदान दिँदै आएको छ”, सहकारीका पूर्वअध्यक्ष द्वारिका कुँवरले भन्नुभयो, “महिला अधिकारको संरक्षणसँगै गरीब तथा पिछडिएका महिलाको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउन महत्वपूर्ण योगदान गरेको छ ।” महिलामाथि हुने हिंसा न्यूनिकरणका लागि समाजमा जनचेतना फैलाउने कार्यसमेत सहकारीका तर्फबाट हुँदै आएको उहाँको भनाइ छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्