×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयोजनाको तीन पटक थपियो म्याद सकिएन काम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आयोजनाको तीन पटक थपियो म्याद सकिएन काम

Artha Sarokar

२३ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भजनी । कैलालीको टीकापुर नगरपालिकाको परिसरभित्र माटो पटानी, घेरा पर्खाल निर्माण तथा दुई प्रवेशद्वारलगायतका संरचना निर्माणको कामका लागि नगरपालिकाले २०७७ असार ३ गते एउटा निर्माण कम्पनीलाई ठेक्का दियो ।ठेक्का पाएको कर्णाली निर्माण सेवाले काम सुरुआत गरेको तीन वर्ष पुगेको छ । सम्झौतामा नगरपालिकाले २०७७ असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने जनाउँदै सम्झौता गरेका थिए । अहिलेसम्म नगरपालिकाले त्यहीँ आयोजनाको लागि सम्झौता भएको मितिदेखि हालसम्म तीन पटक म्याद थप गरिसकेको छ ।

निर्माण कम्पनीले नगरपालिकाको भित्री परिसरमा माटो पटानी, ग्राभेल हाल्ने काम सम्पन्न गरेको भने पनि अझै कैयौँ ठाउँमा खाल्डाखुल्डी रहेका छन् । घेरा पर्खालको काम पनि पूर्णरुपमा सम्पन्न भएको छैन । दुईवटा प्रवेशद्वार निर्माण गर्नुपर्ने भए पनि एउटा प्रवेशद्वारको काम यतिबेला भइरहेको छ । पश्चिम तिरको प्रवेशद्वार निर्माणको काम सुरु भएपनि दक्षिणतिरको प्रवेशद्वार निर्माणको अझै टुङ्गो लागेको छैन ।

नगरपालिकाले उक्त आयोजनाको लागि रु. ७५ लाखको ठेक्का सूचना निकालेका थिए । सो निर्माण कम्पनीले ५५ लाख ४० हजार ८७६ रुपैयाँ १३ पैसामा ठेक्का पाएका थिए । आयोजनाको काम सम्झौताको सयमा सम्पन्न नहुँदा नगरपालिकाले २०७७ चैत मसान्तसम्मका लागि ठेक्काको म्याद थपेको योजना शाखा प्रमुख नवराज जोशीले जानकारी दिए । त्यो समयावधिमा पनि काम नसकिएपछि पुनः २०७८ पुस मसान्तसम्म म्याद थप भएका थिए । अहिले आयोजनाको म्याद सकिएको पनि पाँच महिना भइसकेको छ ।

“नगरपालिकाबाट काम छिटो सम्पन्न गर्न ताकेता पत्र समेत पठाइसकेका छौं । मौखिकरुपमा जानकारी गराउँदा त्यसको कार्यान्वयन नभएपछि पत्र नै पठाउनुपरेको हो ।” योजना शाखा प्रमुख जोशीले भने, “अहिले काम गरिरहेको छ । अब प्रवेशद्वार निर्माणको काम छ । काम भइरहेको छ । हेरौँ कतिसम्म गर्न सक्छन् ।”

निर्माण कम्पनीले नगरपालिकाबाट हालसम्म रु. २२ लाख ५२ हजार भुक्तानी भइसकेको छ । नगर उपप्रमुख खडकबहादुर शाह नगरपालिकाका इन्जिनियरहरुलाई कामको गुणस्तर र समयमै काम सम्पन्न नभए त्यसको जवाफ निर्माण कम्पनीका सञ्चालकले नभई नगरपालिकाका इन्जिनियरहरुले दिनुपर्ने बताउँछन् । निर्माण कम्पनीका सञ्चालक नरबहादुर ठकुल्लाले सम्झौता नै आर्थिक वर्षको अन्तिममा भएको जनाउँदै कोरोनाको कारण पनि कामका ढिलाइ भएको बताएका छन् । उनले अन्तिम पटक नगरपालिकालाई आयोजनाको म्याद थपका लागि पत्र पठाएको र मङ्सिरसम्म काम सम्पन्न गर्ने जानकारी दिएका छन् । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी