×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिलाशैनीमा एक मतदाता एक बिरुवा रोपण कार्यक्रम सञ्चालन, आत्मनिर्भरताको बाटोमा डोर्याउन सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डिलाशैनीमा एक मतदाता एक बिरुवा रोपण कार्यक्रम सञ्चालन, आत्मनिर्भरताको बाटोमा डोर्याउन सहयोग

Artha Sarokar

२९ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाले एक मतदाता एक बिरुवा रोपण कार्यक्रम सञ्चालन गरेको छ । पालिकाभर रहेका मतदाता सङ्ख्या बराबर वृक्षारोपण गरिने गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । उक्त गाउँपालिकामा १३ हजार २५२ मतदाता रहेका र सोही सङ्ख्यामा वृक्षारोपण गरिने योजना छ । उनले भने,“मतदाता सङ्ख्या बराबर वृक्षरोपण कार्यक्रम सञ्चालन गरेर पालिकाभर वृक्षारोपण अभियान सञ्चालन गछौँ, वृक्षरोपणमा फलफूलका बिरुवालाई प्राथमिकता दिन्छौँ । यसले गाउँपालिकावासीलाई आत्मनिर्भरताको बाटोमा डोर्याउन सहयोग पुग्छ ।”

कार्यक्रमका लागि गाउँपालिकाले एक सूचना प्रकाशन गर्दै मतदाता सङ्ख्या बराबर वृक्षरोपण कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिन आग्रहसमेत गरेको छ । फलफूलका बिरुवाका लागि अगामी असार २ गतेसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न आग्रह गरिएको र कार्यक्रममा सहभागी हुन चाहने कृषि समूह, कृषि सहकारी, कृषि फर्म र कृषि उद्यमीलाई आग्रह गरिएको छ । अहिलेका लागि बर्खे फलफूलअन्तर्गत कागतीका बिरुवा वितरण गर्ने योजना रहेको जनाइएको छ ।

मतदाता सङ्ख्या बराबर वृक्षरोपण कार्यक्रममा सहभागी हुनेहरुले कम्तीमा ५० बिरुवा रोपणका लागि खाल्डो तयार गरेको हुनुपर्ने गाउँपालिकाको सूचनामा उल्लेख छ । यस्तै कृषि सहकारी, समूह र फर्म दर्ता र नवीकरण भएका प्रमाणपत्र, कार्यक्रम सञ्चालन हुने जग्गाको स्वामित्व खुल्ने प्रमाणपत्र, निवेदकको नागरिकता र कृषि समूहको हकमा समूहको निर्णयको प्रतिलिपि आवश्यक रहेको सूचनामा उल्लेख छ । कृषिमार्फत उद्यमशीलतासँग जोड्नका लागि यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।

वातावरण संरक्षण गर्न सके मात्रै मानव जातीलाई सहज हुने भएकोले यो कार्यक्रमलाई निरन्तर अगाडि बढाइने जोशीको भनाइ थियो । यसअघि विश्व वातावरण दिवसका अवसरमा गाउँपालिका अध्यक्ष जोशीले मतदाता सङ्ख्या बराबर वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी