×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देउराली बहुउद्देश्यीय सहकारी संस्थाले १० हजार पनि भुक्तानी गर्न नसकेपछि टोकन सिस्टमबाट भुक्तानी सुरु

ललितपुर  । ललितपुरको सातदोबाटोमा प्रधान कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्था भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ । आर्थिक कारोबार नै बन्द गरेर पुनः सुचारु भएको सहकारी दैनिक १० हजार पनि भुक्तानी गर्ने नसक्ने अवस्थामा पुगेको हो । प्रति सदस्य १० हजार भुक्तानी गर्दै आएको देउरालीले सिमित संख्यामा मात्र रकम भुक्तानी गर्न थालेको छ । सहकारी प्रधान कार्यालयका कर्मचारीको अनुसार संस्थाले टोकन विवरण गरेर रकम भुक्तानी सुरु गरेको छ ।

कर्मचारीले भने, ‘दैनिक एक सय जनालाई मात्र रकम भुक्तानी गर्न थालेको हो’ । तर, संस्थाका सदस्यहरु भने रुष्ट भएका छन् । टोकन पाउने भन्दा नपाउने सदस्यहरु धेरै रहेका छन् । पैसा फिर्ता दिनुत परको कुरा टोकन समेत नपाएको सदस्यहरुले गुनासो गरेका छन् । संस्थाले कति जनालाई टोकन वितरण गरेको हो , के आधारमा टोकन वितरण गरेको भन्ने आधिकारीक जानकारी दिएको छैन ।  संस्थाका सदस्यहरुले संस्था थप संकटमा गएको र बहाना स्वरुप टोकन वितरण गरेको आरोप लगाएका छन् ।  यस अघि संस्थाले रकम भुक्तानीमा भने सिमा तोकी कारोबार खुला गरेको र प्रति सदस्य १० हजारमात्र भुक्तानी दिने गरी संस्थाको कारोबार खुला गरेको संस्थाका एक कर्मचारीले जानकारी दिए ।

संस्था चरम आर्थिक संकटमा फसेपछि कारोबार नै बन्द गरेको थियो । कारोबार बन्द भएपछि सदस्यहरु आक्रोशित बनेका थिए । सदस्यहरु कार्यालयमा धर्ना दिने क्रम बढेपछि संस्थाले बाध्य भएर कारोबार खुला गरेको  थियो । संस्थाका अध्यक्ष र सञ्चालहरुले सहकारी ऐन, नियमावली विपरित आफूखुसी रुपमा जग्गा, अन्य व्यवसायमा लगानी गर्दा संस्था डुबेको हो । स्रोतका अनुसार संस्थाको पैसा मिटर ब्याजमा समेत लगानी गरेको पाईएको छ । संस्थाले ६ महिने आवधिक बचतमा १६ प्रतिशतभन्दा बढी ब्याज प्रदान गर्ने गरी निक्षेप संकलन गरेको थियो । संस्थाले १ वर्षे आवधिक बचतमै २२ प्रतिशतसम्म ब्याजदर दिनेगरी बचत उठाएको थियो । सहकारीको सन्दर्भ ब्याजदरले १६ प्रतिशत भन्दा बढी ऋणको ब्याज लिन नपाउने व्यवस्था गरेको अवस्थामा उक्त संस्थाले २२ प्रतिशतसम्म ब्याज दिनेगरी बचत उठाएको थियो ।

संस्थाले राष्ट्रिय सहकारी बैंकबाट २३ करोड ५ लाख रुपैयाँ चालु पुँजी कर्जा लिएको छ । संस्थाले १ महिनादेखि उक्त कर्जाको ब्याज समेत तिरेको छैन ।  आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन अनुसार संस्थाको सेयर पुँजी १३ करोड १७ लाख ४९ हजार रुपैयाँ सेयर पुँजी रहेको छ । संस्थाको जगेडा कोषमा ३३ लाख २५ हजार रुपैयाँ छ । उक्त प्रतिवेदन अनुसार ८ करोड ४५ लाख ७६ हजार ९ सय १३ रुपैयाँ नगद र २० लाख ३१ हजार १ सय ७ रुपैयाँ बैंकमा देखिन्छ । नगद देखिएको उक्त रकम अध्यक्ष तथा सञ्चालकहरु आफैले चलाउने गरेको समेत यसैबाट प्रष्ट हुन्छ । अघिल्लो असारमै संस्थाको स्थिती बिजोक रहेको प्रतिवेदनले प्रष्ट देखाउँछ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: