कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ३ जोनापुरका सीताराम चौधरीले १० कठ्ठा जग्गामा चैते धान खेती गरी २५ बोरा धान उत्पादन गर्न सफल भएका छन् । बर्खे धानभन्दा चैते धानको उत्पादन बढेपछि उनी निकै उत्साही भएका छन् । अर्को वर्ष सीतारामले अब एक बिघा जग्गामा चैते धानको खेती गर्ने सोच बनाउनु भएको छ । “चैत महिना अघि नै रोपेर असारको दोस्रो साता भित्र्याइने चैते धानको उत्पादन सोचेभन्दा बढी नै भएकाले अर्को वर्ष जग्गा थप गरेर खेती गर्ने योजना छ” उनी भन्छन्, “खेतमा धान काट्नका लागि पनि असजिलो छैन । गाउँका बासिन्दाले परालकै लागि सित्तैमा धान काटेर चुटिसमेत दिन्छन् । धान भित्र्याउने काम मात्रै हामीले गर्छौँ ।”
चैते धान खेतीबारे यसअघि त्यति धेरै जानकारी नभएको उनी बताउँछन् । “नहरको पानी लाग्ने किसानले चैते धान खेती गरेको देखेर आफूले पनि हर्दिनाथ जातको धान रोपेको हुँ” सीताराम भन्छन्, “यत्तिको उत्पादन हुन्छ भनेर सोचेकै थिइएन । नसोचेको उत्पादन पाएपछि यस खेतीबाट निकै प्रभावित भएको छु ।” सिँचाइका लागि उनले विद्युतीय मोटरको सहायताले खेतमा सिँचाइ गरी चैते धानखेती गरेका हुन् । चैते धान रोपेको पाँच कठ्ठा जग्गा सीतारामको आफ्नो स्वामित्वको हो भने अर्को पाँच कठ्ठा जग्गा भाडामा लिएर खेती गरेका थिए ।
सोही जग्गामा अहिले बर्खे धान रोपिसक्नु भएका उनले केही जग्गामा भने दुई दशकदेखि व्यावसायिकरुपले तरकारी खेतीसमेत गर्दै आएका छन् । गाउँकै मिहेनती किसानका रुपमा सीताराम परिचित छन् । उनी जस्तै जिल्लाका महाकाली सिँचाइको नहर लाग्ने भीमदत्त, बेलडाँडी, बेलौरीलगायत क्षेत्रका किसानले समेत चैते धानखेती गर्दै आएका छन् ।
किसानले चैते धानखेती पछि बर्खे धानखेती गरी दोहरो फाइदा लिँदै आएको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत हरिदत्त जोशी बताउँछन् । यसवर्ष चैते धान खेती गर्ने किसानलाई अनुदानमा बीउ र मल उपलव्ध गराइदा किसानको आकर्षण बढेको छ उनी भन्छन् । “चैते धानमा बर्षे धानको तुलनामा रोगका कीरा कम लाग्ने, मसिनो दाना हुने र धेरै फल्ने भएकाले किसानले यस धानको खेतीलाई रुचाएका छन्” अधिकृत जोशी भन्छन्, “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको वृहत्तर धान उत्पादन कार्यक्रमअन्तर्गत किसानलाई अनुदानका कार्यक्रममा समेटन थालिएको छ । मल, बीउबिजन, कृषि औजार र उपकरणसमेत किसानालाई दिइने गरिएकाले किसानले बर्खे धान खेतीप्ररुचि देखाउन थालेका छन् ।”
उनका अनुसार यस बर्ष चैते धान खेतीका लागि ५० हेक्टर जग्गा थप गरिएको छ । कूल धानखेती हुने ४८ हजार ४९६ हेक्टर जग्गामध्ये २०० हेक्टर जग्गामा मात्रै चैते धानखेती हुने गरेको छ । चैते धानको उत्पादन प्रतिहेक्टर चारदेखि पाँच मेट्रिकटन रहेको छ । यसवर्ष यहाँ चैते धानको उत्पादन एक हजार २७३ मेट्रिकटन भएको छ । चैते धानखेती गर्ने किसानले भण्डारण र बजारीकरणसँगै धान रोप्ने बेलामा मलखादको समस्या समाधान गर्न आग्रह गरेका छन् । चैते धान खेती सहजरुपमा गर्न सकिए बर्खे धानभन्दा दोब्बर बढी आम्दानी लिन सकिने चैते धानखेतीमा सम्लग्न किसान बताउँछन् । कञ्चनपुरमा चैते धान खेती वि.सं २०५७ देखि निरन्तर रुपमा हुँदै आएको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्