Skip to content
LAXMI SUNRISE BANK

सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार, बिरामीको उपचार सेवामा थप सहज

अर्थ सरोकार

सुदुरपश्चिम । सेती प्रादेशिक अस्पताल धनगढीमा मिर्गौला बिरामीका लागि डायलासिस सेवाको विस्तार गरिएको छ । बढ्दै गएका मिर्गौला रोगीको सहज उपचारका लागि उनीहरुले भोग्नुपरेको समस्यालाई मध्यनजर गरी अस्पतालले आफ्नै नवनिर्मित भवनबाट १२ शै्याको डायलासिस सेवा सुरु गरेको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए ।

अस्पतालले आफ्नै आन्तरिक स्रोत जुटाएर उक्त सेवा विस्तार गरेको हो । दुई शै्या थप्ने तयारी भइरहेको छ । यसबाहेक विरङ्ग हेल्थ केयर नामको निजी स्वास्थ्य संस्थाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग गरेको सम्झौता बमोजिम ठेक्का (करार) मार्फत यसै अस्पतालमा १० शै्याको डायलासिस उपचार सेवा सञ्चालन गर्दै आएको छ । ‘‘विरङगले उपलब्ध गराइरहेको डायलासिसको उपचार सेवामा अस्पतालको प्रत्यक्ष संलग्नता छैन । उसलाई हामीले कोठा मात्र उपलब्ध गराएका हौँ’’, सूचना अधिकारी श्रेष्ठले भने, ‘‘उपचार निःशुल्क रुपमा भइरहेको र प्रति बिरामीमा लाग्ने खर्च उसले मन्त्रालयबाट लिने गरेको छ ।’’

अस्पतालमा वि.सं २०७२ देखि डायलासिसको उपचार सेवा निःशुल्क रुपमा हुँदै आएको छ । विरङ्ग हेल्थ केयरको डायलासिस उपचार सेवाका व्यवस्थापक दीपक भट्टले यस क्षेत्रमा मिर्गौलाका बिरामी पछिल्ला वर्षमा बढ्दै गएको अवस्थामा अस्पतालमा गरिएको डायलासिस सेवाको विस्तारले बिरामीको उपचार सेवा थप सहज हुने देखिएको बताए । ‘‘पहिले हप्तामा दुई÷तीन मिर्गौलाका बिरामी उपचारार्थ आउँथे, हाल दैनिक दुई/तीन आउन थालेका छन्’’, भट्टले भने, ‘‘आफ्नो स्वास्थ्य परीक्षण गराउने मान्छे पहिलेको भन्दा बढेको, रक्तचाप र मधुमेह रोगका बिरामी बढेको, बजारमा पाउने ड्राइफुड र जङकफुड जस्ता खानामा मान्छेको ध्यान जाँदा मिर्गौला रोगी बढेको हुनसक्छ ।’’

यो सेवाको विस्तार गरिएसँगै डायलासिसको उपचारका क्रममा रगत चढाउनुपर्ने अवस्थाका कतिपय बिरामीमा बेलाबखत देखिने हेपाटाइटिस बी र सी पोजेटिभको उपचार व्यवस्थापनमा सहजता आउने स्वास्थ्यकर्मीले बताएका छन् । रगत चढाउँदा देखिने हेपाटाइटिस बी र सी का बिरामीले उपचारका लागि यसअघि काठमाडौँ वा भारतमा जानुपर्ने बाध्यता रहेको थियो । मानिसको शरीरभित्र जम्मा हुने विकारलाई बाहिर निकाल्ने महत्वपूर्ण अङ्ग मिर्गौलाले काम नगर्दा यसलाई विषेश प्रकारको मेसिनमार्फत बाहिर निकालेर उपचार व्यवस्थापन गर्ने पद्धतीलाई डायलासिस भनिन्छ ।

कोरोना भाइरसको महामारी फैलिएयता यो अस्पतालमा आइसियु, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर जस्ता स्वास्थ्य उपकरणको व्यवस्थापनमा पहिलेको तुलनामा सुधार देखिएको भए पनि विषेशज्ञ र अनुभवी स्वास्थ्यकर्मी र चिकित्सको अभाव खड्किने गरेको छ । अनुभवी जनशक्ति नहुँदा उपचारका क्रममा प्रयोग गर्नु पर्ने स्वास्थ्य उपकरण कतिपय बेला सञ्चालन गर्न नसकेर त्यसै थन्किने गरेको बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK