कञ्चनपुर । कञ्चनपुर डेङ्गुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेङ्गु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो । गत साता दोधारा–चाँदनी नगरपालिकामा २० जनामा गरिएको परीक्षणमा चारमा डेङ्गु देखिएको थियो । दोधारा–चाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराका अनुसार भारतबाट आएका चार जनामा डेङ्गु देखिएको हो । “तीन पुरुष र एक महिलामा डेङ्गु देखिएको छ”, उनले भने, “पुरुष भारतबाट आएका हुन् भने डेङ्गु देखिएका महिलाको बुवा र दाजु पनि भारतबाटै आएका हुन् ।”
दोधारा–चाँदनी भारतसँग सीमा जोडिएको ठाउँ हो । यहाँ आवतजावत बढी हुने भएकाले पनि डेङ्गु सङ्क्रमणको उच्च जोखिममा छ । जिल्ला स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने बताए । “कञ्चनपुर र कैलाली डेङ्गुको उच्च जोखिममा छन्, पछिल्लो समय डेङ्गुका बिरामी बढ्न थालेका छन्”, उनले भने, “स्वास्थ्य कार्यालयको प्रयोगशालामा लामखुट्टेको लार्भा परीक्षण गर्दा डेङ्गु सार्ने प्रजाति भेटिएको छ ।”
वर्षात्मा पानी जम्ने ठाउँ, पानीको ट्याङ्की, पुराना टायरलगायतमा जमेको पानीमा यो जातको लामखुट्टेले लार्भा पार्छ । यसको वृद्धिबाट डेङ्गुको प्रकोप बढ्छ । “यो लामखुट्टेबाट जोगिन घर वरपर पानी जम्न दिनु हुँदैन”, भट्टले भने, “अहिले डेङ्गु परीक्षण गर्न किट अभाव छ ।” डेङ्गुबाट बच्न विषादी छर्किन र विषादीयुक्त झुलको प्रयोग गनुपर्ने हुन्छ । “उच्च ज्वरो, हाड जोर्नी, टाउको दुख्ने, आँखाको भित्री भाग दुख्ने यसका प्रमुख लक्षण हुन्”, उनले भने, “डेङ्गु देखिए केहीमा श्वासप्रश्वासको समस्या देखिन सक्छ ।” गत वर्ष कञ्चनपुरमा १५ जनामा डेङ्गु देखिएको उनले जानकारी दिए । जिल्लामा डेङ्गु र मलेरियाका बिरामी देखिन थाले पनि परीक्षणका लागि किटको अभाव रहेको छ ।
महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा अर्जुन भट्टले केही दिनयता अस्पतालमा मलेरिया र डेङ्गुका बिरामी देखिन थालेको बताए । “अस्पतालमा ज्वरोका बिरामी बढेका छन्, डेङ्गुका बिरामी अहिले अस्पतालमा भर्ना छैनन् उपचारपछि फर्किसके”, उनले भने, “गत साता डेङ्गुका बिरामी आएका थिए, एकजनालाई धनगढीस्थित सेती अस्पताल रेफर गरेका छौँ ।” अहिले अस्पतालमा भाइरल ज्वरोका बिरामीको अत्यधिक चाप छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्