टीकापुर । गत वर्ष कात्तिकमा आएको बाढीमा घरखेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन् । वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिक रातिको समयमा निदाउन सकेका छैनन् ।
टीकापुरको वैदीकी सुशीला बस्नेतले गत वर्ष धान स्याहार्न नपाएको पीडा भुलेकी छैनिन् । उनीलाई नियमित वर्षा हुन थालेपछि त्रासले सताएको छ । सुशीलाको परिवार र छिमेकी राति वर्षा हुँदा निदाउन सक्दैनन् । ‘मोहना र पथरैया नदीमा पानीको बहाव बढेको छ । नदीको पानी कतिखेर बस्तीमा पस्छ भन्ने त्रास कायम छ’, उनी भन्छिन्, ‘’वर्षा हुन थाले त्रास बढ्छ, राति पानी आएमा त हामी कहिल्यै सुत्दैनौँ, वर्षा हुन थालेपछि छिमेकीलाई फोन गर्ने, म्यासेज गर्ने गरेर एकअर्काको खबर लिएर बस्छौँ ।’
सुशीलाजस्तै प्रतिपुरका बलबहादुर चौधरीको गत वर्ष लटरम्म फलेको थियो । बाढीले चार बिघा जमिनको धान बगायो । उनी बर्सेनि समस्या झेल्नुपरेकाले सरकारले बाढीबाट नागरिक बचाउन प्रयास नगरेको गुनासो गर्छन् । ‘नदीमा पानीको बहाव बढी भएमा बस्तीमा पस्छ, सरकारले तटबन्ध थोरै–थोरै गरिरहेको छ । त्यही तटबन्ध भत्कँदै गएको छ’, चौधरी भन्छन्, ‘हाम्रो सुरक्षाबारे सरकारले ध्यान दिनुपर्छ । हामी धन, सम्पत्ति जोगाउनेभन्दा पनि ज्यान जोगाउने चिन्तामा हुन्छौँ ।’
मीनादेवी चौधरीको पनि गत वर्ष १८ कठ्ठा धान बगेको थियो । मीनादेवीलाई पनि वर्षा हुनेबित्तिकै त्रासले सताउँछ । मीनादेवीको घरमा बढी वर्षा भएमा पानी पस्ने जोखिम रहेकाले उहाँ सरकारले समस्या समाधान गर्नुपर्ने माग गर्छन् । ‘एकातिर मेहेनत गरेर लगाएको खेती डुबान र कटान हुने जोखिम छ । अर्कातर्फ बाढीमा बगिन्छ कि भन्ने त्रास छ’, मीनादेवी भन्छिन्, ‘हरेक वर्ष हामी त्रासमा बाँच्नुपरेको छ । त्रासमा कसरी निद्रा, भोक लाग्छ ।’
सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रप्रसाद रेग्मी नागरिकका विभिन्न समस्या रहेका बताउँदै सरकारले बाढीसँग जोडेर जीविकोपार्जनका कार्य गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् । उनी स्थानीय सरकार, सङ्घसंस्था र विपद् व्यवस्थापन समितिले विभिन्न प्रयास गरिरहेको बताउँछन् । ‘हामीले स्थानीयस्तरमा नागरिक कसरी जोगाउने, कसरी अत्यावश्यक कागजात जोगाउने भनी समुदायलाई तालिम दिएका छौँ, कसरी खोज तथा उद्धारमा खट्ने भनी युवालाई तयारी राखेका छौँ’, रेग्मी भन्छन्, ‘उच्च घरहरु तयारी अवस्थामा राखेका छौँ, कतिखेर बस्ती छाड्नपर्छ थाहा छैन ।’
विपद्बाट बच्न पूर्वतयारीसँगै तीनै तहका सरकार मिलेर नागरिक सुरक्षित बस्न पाउने वातावरण बनाउनुपर्ने स्थानीयको माग छ । बाढीको त्रास बढ्दै गएका बेला टीकापुर नगरपालिकाले गत वर्ष पूर्ण क्षति भएको वडा नं ८ मा खोज तथा उद्धार तालिम गरेको छ । नगरपालिकाले विभिन्न सङ्घसंस्थाको सहयोगमा समुदायलाई विपद्को सामाना कसरी गर्ने भनी तालिम दिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले विपद्को समयमा सूचना महत्वपूर्ण हुने बताए ।
‘विपद्को समयमा समयमै सूचना पाए क्षति हुनबाट जोगाउन सकिन्छ, त्यसैले समुदायमा आफूले पाएको सूचना छिटो दिनुपर्छ’, शाह भन्छन्, ‘खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी, नेपाल जनपद प्रहरी, रेडक्रस र समुदायमा रहेका सबैले संयुक्तरूपमा मिलेर काम गरेमा विपद्लाई न्यूनीकरण र व्यवस्थापन गर्न सकिन्छ । हामी सबै मिलेर विपद्को सामना गर्ने हो ।’
खोज तथा उद्धार तालिममा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मकरूपमा विपद्को समयमा कसरी उद्धार गर्न सकिन्छ भनेर अभ्यास गराइएको थियो । साथै तालिमका सहभागीले स्थानीय स्रोतबाट ढुङ्गा, लाइफ ज्याकेट निर्माण गरेका थिए । गत वर्ष २०७८ कात्तिक २ गतेको वर्षापछि कर्णालीमा आएको बाढीले गरेको क्षतिबाट प्रभावित भएको यस क्षेत्रमा यस वर्ष पनि जोखिम घटेको छैन । यहाँ कर्णाली नदीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरिरहेको तटबन्ध ठाउँ–ठाउँमा भत्किन लागेकाले जोखिम उस्तै छ ।
कर्णाली नदीले बर्सेनि धार परिवर्तन गर्दा थप जोखिम बढेको बताइन्छ । कर्णाली नदी किनारका मसानघाट, जमरा कुलाको मुहान, शिवशक्ति, सामुदायिक वनको क्षेत्र, रानीकुलो मुहान क्षेत्र, भुराखानी सामुदायिक वनको क्षेत्र, टीकापुर पार्क र वनगाउँ, सत्ती कर्णाली सामुदायिक वन क्षेत्रलगायतका स्थान जोखिममा छन् । जोखिममा रहेका यी क्षेत्रमा तटबन्ध बन्न बाँकी र पहिले बनेका तटबन्ध भत्किरहेका छन् । कर्णाली नदीमा तटबन्ध भत्किएका कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका डुबान तथा कटानको जोखिममा पर्ने देखिन्छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्