×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगेर भागेका रामबहादुरको ‘राम कहानी’ : २५ बर्षमै अर्वपति भए, बैंकको ऋण तिर्न नसकेपछि कुलेलाम ठोके !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

सहकारी ठगेर भागेका रामबहादुरको ‘राम कहानी’ : २५ बर्षमै अर्वपति भए, बैंकको ऋण तिर्न नसकेपछि कुलेलाम ठोके !

‘गरिबलाई दिन्छु नभन्नु रे, केजातिलाई लान्छु नभन्नु रे !’ बुढापाकाले के सोचेर, कुन घटनालाई आधार बनाएर यो उखान बनाए थाहा छैन, तर आजकल केहि सहकारीका फटाहा संचालकका कारण, अहिलेको नयाँ पीढी ठट्टा गर्दै भन्छ- ‘साथीलाई दिएको पेनड्राइभ, श्रीमतीलाई दिएको सापटी, र सहकारीलाई राख्न दिएको बचतको कुनै भर नहुने भो । आउँछ भन्ने आशचाहिं गर्दा हुन्छ तर फर्किने सम्भावनाचाहिं सार्है कम।’ सहकारीलाई स्वाहाकारी बनाउने केहि ‘रैती’ स्वभावका ‘फटाहा’हरुले नेपालको सहकारी क्षेत्रकै बेइज्जत गरिरहेका छन् । अलि बढी ब्याज पाउने लोभमा सहकारीमा पैसा राखेकाहरु अहिले लोभले लाभ, लाभले बिलाप गरिरहेका छन् । गाँस कटाएर राखेको बचत लिएर सहकारीका साहु कुलेलाम ठोकेपछि अहिले बचतकर्तासँग रुवाबासी गर्नुको विकल्प छैन । ललितपुरको गौतमश्री सहकारीका निक्षेपकर्ताको हालत पनि यस्तै भएको छ अहिले ।

को हुन् बचतकर्तालाई ठगेर भागेका गौतम ?

काभ्रेपलाञ्चोक जिल्लाको साबिकको पात्लेखेत गाबिस-८ धामीगाउँका रामबहादुर गौतम सानैदेखि चतुर थिए । ‘एनि हाउ, पैसा कमाउ’ भन्ने सिद्धान्तका साथ काभ्रे हुँदै धुलिखेल र धुलिखेल हुँदै काठमाडौँमा आफ्नो व्यापारिक साम्राज्य बनाएका गौतम अहिले भने फरार छन् । २५ बर्षको कलिलो उमेरमै अर्वपति बनेका गौतमको सम्पत्ति हिसाब गर्न सानो समयले पुग्दैन । तर २०५२ सालमा सामान्य खेतीपाती गर्ने गौतम दिन दुईगुणा रात चौगुणा गरेर धनी भए । उनको सम्पत्तिलाई क्यासमा बदलेर ५०० का नोटलाई चाङ्ग लगाउने हो भने पनि सानोतिनो चौरल पुग्दैन । तर यसरी धनी बनेका गौतम अहिले भने जनताको करोडौं रुपैयाँ खाएर, भागेका छन् ।


सामान्य परिवारमा जन्मिएका गौतमको काभ्रेस्थित घर पुग्ने हो भने उनका दाजु अर्जुन गौतम अहिले पनि सार्है सामान्य अवस्थामा छन् । तत्कालीन अवस्थामा देशमा द्वन्द थियो, जागिरको खोजीमा धुलिखेल पसेका गौतमले केहि समय स्टेसनरीमा काम गरे । उनी साहुको स्टेसनरीमा काम गर्थे, तर स्टेसनरीमा काम गर्दा नै उनको लवाई, खवाई सबैमा आएको अचम्मको परिवर्तनले उहीबेला नै गाउँमा चर्चा थियो, बाहिर देखाउँदा कापी कलम बेच्ने हो, ‘भित्रभित्र चीनबाट कापी भनेर सुन ल्याउने हो गौतम ब्रोले’ । यसो त उनको त्यतिबेलाको डेरा, काभ्रेस्थित गाउँतिर र पसलतिर पनि चिनियाँहरुको आवतजावत पनि हुन्थ्यो । स्टेसनरीमा अरुको नोकरी गरेका गौतमले केहि समयभित्रै धुलिखेलमा घर बनाए । पछि काठमाडौँमा सम्पत्ति जोडे । हरेक बर्षजस्तो नयाँ घर, लाखबाट करोड, करोडबाट अर्व, गौतमको सम्पत्ति बेहिसाब हुन थाल्यो । र काभ्रेका पात्लेखेतबासीहरु अहिले पनि ‘गौतमको सबै सम्पति बेच्ने हो भने त हाम्रो सिंगो गाउँ नै दुईवटा आउने रहेछ’ भनेर हिसाब गर्छन् ।गौतमको बेहिसाब सम्पत्ति !
गौतमको काठमाडौँमा ४ वटा घर छन् । चितवनमा जग्गा छ, मकवानपुरमा त झन् ठुलो मात्रामा जग्गा छ । पातलेखेतमै पनि ५० रोपनी जग्गा छ । काठमाडौँ, पोखरा, नारायणघात, हेटौंडा लगायतका ठाउँमा व्यवसाय छन्, कुलेश्वरमा सुपर मार्केट छ । नदेखिएका सम्पत्ति झन् कति हो कति।  तर अत्ति गरे पछि पक्कै हुन्छ खत्ति भनेझैँ यसरी अरवौं मालिक अहिले लुकेर हिंडेका छन्।आवरणमा सहकारी खोलेर विभिन्न व्यापार गर्थे गौतम । त्यहि सिलसिलामा उनले  कुलेश्वरस्थित आफ्नै घरमा गौतमश्री बहुउद्देश्यीय सहकारी खोलेका थिए । झण्डै २५ हजार सदस्यबाट साढे ५ अर्ब बचत गराएका गौतमले त्यहि रकम आफ्नो व्यापारमा लगाए । केही महिनाअघिमात्र उनले ३ अर्वको समान त्यहि पैसा प्रयोग गरेर नेपाल भित्र्याएको बुझिएको छ । अहिले सहकारीका सदस्यहरु रोहिरहेका छन् । गौतम लाज नै पचाएर ‘देशबाहिर छु, नेपाल फर्केर सबैको ऋण तिर्छु’ भनेर बिज्ञप्ति जारी गरिरहेका छन् ।

सरकारी अनुदानदेखि माओवादीको आवरणमा धन्दासम्म !

यसो त रातारात अर्वपति बनेका गौतमको व्यवसायिक काम गराई पनि गतिलो छैन । सरकारी कर्मचारीसँग ‘सेटिङ’ गरेर सरकारी अनुदान फुत्काई पातलेखेतमा ५ सयवटा गाईको फारम खोलेको बात लागेका उनी एकपटक बिजुली चोरीकोसमेत बात लागेका व्यक्ति हुन् । माओवादीको आवरणमा व्यवसाय गर्ने, राम्रो धितो देख्ने नहुने, आफ्नै मान्छेलाई सहकारीबाट ऋण दिने र त्यहि सम्पत्ति सकारेरा आफु धनी बन्ने गरेका व्यक्तिको रुपमा उनको छवि काभ्रेमा बदनाम छ । पात्लेखेतकै एक तामाङ्ग थरका व्यक्ति यस्तै पीडीत थिए । जसले उनको सहकारीबाट १४ लाख रुपैयाँ ऋण लिएका थिए, तर पछि सोहि १४ लाख रुपैयाँ ऋण तिर्नै नसक्ने बनाएर १६ रोपनी जग्गा लिलामी गरिदिएपछि तामाङले आत्महत्या गरे भन्ने चर्चा पातलेखेततिर अझै पनि छ ।

नाताले उनका भाई पर्ने व्यक्ति काठमाडौँमा समातिएका छन् । माओवादीले देश हल्लाएका बेला लुटेको रकम काभ्रेमा यीनैमार्फत परिचालन हुन्थ्यो भन्ने चर्चाका बीच उनी अहिले फरार छन् । बचतकर्ताको सहकारी परिसरमा रुवाबासी छ, उनलाई कसले कहाँ संरक्षण गरेर राखेको छ भन्ने थाहा छैन।

आफ्नो व्यापारमा पैसा नपुगेपछि उनले अस्वाभाविक ब्याज दिएर बचतकर्ताबाट पैसा उठाउने गरेका थिए । त्यसपछि जव उनी भागे अहिले बचतकर्ताको मात्र बिचल्ली भएको छैन, उनको गाउँमा उनको परिवारलाई पनि मुख देखाउन गाह्रो भईरहेको छ । उनी भागेको खबरपछि उनको खोरमा रहेका बस्तुभाऊ उनका दाईले अव बस्तुहरु मर्ने भए भनेर बेचिदिएका छन् ।

एभरेष्ट बैंकको पैसा डुब्ने पीर !
यसो त एभरेष्ट बैंकबाट ऋण लिएका उनलाई बैंकले कालोसूचीमा राख्ने तयारी गरेको थियो । लामो समयदेखि ब्याज र किस्ता उठ्न नसकेपछि बैंक प्रक्रियामा गएको थियो । राजनीतिक पावर लगाएर उनले असार मसान्तको भाखा राखेका थिए । तर असार मसान्तसम्म पनि पैसा नआएपछि बैंकले उनलाई प्रेसर दिएको थियो । उनले केहि दिन अरु समय दिन भनेका थिए । यसका लागि उनले राजनीतिक पावर पनि लगाए । तर जति गर्दा पनि उनको पैसा आएन । उनलाई बैंकले कालोसूचीमा राख्ने पक्कापक्की भएपछि उनी कुलेलाम ठोके ।

अहिले उनी फरार भएपछि सहकारीमा एभरेष्ट बैंकले सूचना टाँसेको छ । म भारतमा छु भन्ने गरेका गौतम नेपालकै कुनै स्थानमा लुकेर बसेको आशंका गरिएको छ । सहकारी विभागले उनलाई खोजिदिन प्रहरीलाई पत्राचार गरेको छ । एभरेष्ट बैंकको करोडौंको ऋण डुबानमा पर्ने सम्भावना छ । बैंकले उनको व्यवसायको गोदाम भनिएको घरमा सिल त गरेको छ, तर सो गोदामभित्र सामान छ कि छैन भन्ने कुरा स्वयम् बैंकलाई थाहा छैन । स्रोतका अनुसार उनले राष्ट्र बैंकमा कार्यरत आफ्ना एक नजिकका मित्रबाट बैंकलाई फोन गराउने र भाखा सार्न लगाउने गरेका थिए । अन्तत: जति भाखा सार्दा पनि ऋण तिर्न नसकेपछि उनी अहिले फरार छन् । उनको १ चौथाईमात्र सम्पत्ति बेच्ने हो भने पनि बचतकर्ताको सबै पैसा तिर्न पुग्छ, बैंकको ऋण पनि तिर्न पुग्छ । तर उनले सो पैसा तिर्छन्, कि यसरी नै भागेर हिड्छन् भन्नेचाहिं भन्न सकिन्न ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: