Skip to content
LAXMI SUNRISE BANK

क्रोएशिया पठाउने भन्दै ५ जना नेपालीबाट २२ लाख ठगी, पीडित भन्छन्- ‘न प्रहरीले समात्छ, न पैसा फिर्ता दिन्छ’

सुदर्शन श्रेष्ठ

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक छिर्नेहरुको लर्को लागेको छ । युरोपियन मुलुक जान पाउने भएपछी महंगो रकम तिर्न तयार हुनेहरुको सस्तो भिड म्यानपावर र कन्सल्टेन्सीमा देख्न सकिन्छ । अझ केही समय यता नेपालीहरुको रोजाईमा रोमानिया, क्रोएशिया, पोर्चुगल, क्यानडा लगायतका देश पर्ने गरेका छन् । र यीनै देश पठाउने भन्दै ठगी गर्नेहरुको जमात पनि कम छैन काठमाडौंमा । र यस्तै ठगीको शिकार भए क्रोएशियाको सपना देखेका पाँच नेपाली ।

भएको के हो ?
धनगढी उपमहानगरपालिका १९ फुलवारी बस्ने रोहन अधिकारी वैदेशिक रोजगारीको प्रोसेसमा थिए । क्रोएशिया जाने सपना देखेका उनीसँगै अन्य ४ जना साथीहरु इटहरीको बिराट ओभर्सिसको असिफमा पुगे । ‘अफिसमा न बोर्ड थियो, न फर्मालिटी’, अधिकारीले भने, ‘बोर्ड बनाउन दिएको छ, सिनामङ्गलमा हेड अफिस छ भनेपछी विश्वास गर्यौं ।’ उनीहरुले आफ्नो सम्पूर्ण कागजपत्र (पासपोर्ट, नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र) गोपाल पोखरेललाई दिए । केही दिनमा ‘वर्क पर्मिट’ पनि आयो, पर्मिट आएसँगै पोखरेलले उनीहरुलाई भिसा प्रोसेसिङका लागि भन्दै भारत लगे ।

‘एम्बेसी जानुभन्दा अघि नै उहाँले हामीसँग केही पैसा माग्नुभयो र हामीले दियौँ पनि’, अधिकारीले भने, ‘भिसाका लागि एप्लाई पनि गर्यौं तर भिसा लागेन, पछी थाहा भयो उहाँले पेश गरेको वर्क पर्मिट नै डुप्लिकेट रहेछ ।’ एम्बेसीको पत्र आउन्जेलसम्म पोखरेल सम्पर्कबिहीन भईसकेका थिए । डुप्लिकेट पर्मिट पेश गरेर ठगेको भन्दै उनीहरु पुनः बिराट ओभर्सिसको हेड अफिसमा पुगे । तर, त्यहाँ पुग्दा थाहा भयो कि इटहरीमा रहेको सो शाखा २०७६ सालमै बन्द भइसकेको रहेछ ।

त्यसपछी उनीहरुले सिधै गोपालसँगै सम्पर्क गर्ने प्रयास गरे । ‘सुरुमा उहाँले हामीलाई १० लाखको चेक र १० लाखको ब्ल्यांक चेक दिन्छु भन्नुभयो तर हामीले मानेनौँ’, अधिकारीले भने, ‘अहिले त नेपाल आएर काम गर्ने वातावरण भएपछीमात्रै पैसा तिर्छु भन्नुहुन्छ ।’ आफुहरु ठगिएको विषयमा उजुरी समेत गर्दा पनि प्रहरीले चासो नदिएको उनीहरुको गुनासो रहेको छ । ‘इण्डिया गएको बेलामा नेपाल आएपछी फलोअप गर्छौं भन्छ, नेपाल आउँदा वास्ता नै गर्दैन’, अधिकारीले भने, ‘कतिपटक नेपाल आईसक्नुभयो तर पनि प्रहरीले चासो नै दिँदैन । कसैगरी न्याय नपाउने भएपछी मिडिया गुहारेका हौँ ।’ अहिले अधिकारीसहित उनका साथीहरुको गरी कुल २२ लाख ७० हजार रुपैयाँ फसेको छ ।

पक्राउ गर्न विभागको निवेदन, प्रहरीको बेवास्ता
आफुहरु ठगीएको भन्दै न्याय खोज्दै वैदेशिक रोजगार विभागसम्म पुगेका उनीहरुलाई केही ढाडस मिल्यो । रोजगार विभागले अनुसन्धानका क्रममा ठगिएको पुष्ठी गर्दै सुनसरी जिल्ला साविकको हासपोसा गाविस २ हालको इटहरी उपमहानगरपालिका १९ बस्ने ५२ वर्षीय गोपाल पोखरेललाई पक्राउ गरी उपस्थित गराउन भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीलाई निवेदन समेत पठायो ।

वैदेशिक रोजगार विभागले पक्राउ गर्नका लागि निवेदन दिँदा समेत प्रहरीले सो विषयमा चासो नदेखाएको उनीहरुको आरोप रहेको छ । ‘पोखरेल नेपाल आउँदा पनि हामीले प्रहरीलाई खबर गरेका हौँ तर हामी अरुको घरमा छिर्न मिल्दैन भनेर उहाँहरु पन्छिन खोज्नुभयो’, अर्थ सरोकारसँग कुराकानी गर्दै अधिकारीले भने, ‘सिबिआईलाई भन्यो, हाम्रो कार्यक्षेत्र होइन भन्छ । प्रहरी कार्यालयमा गयो, चासो दिँदैनन् ।’

आधार कार्डको सहायतामा लुक्दै पोखरेल
यसो त गोपाल पोखरेलले भारतीय आधारकार्ड समेत लिएको पाइएको छ । नेपालमा ठगी धन्दा गर्ने पोखरेलले ‘गोपाल शर्मा’नामबाट भारतीय आधार कार्ड समेत बनाएका छन् । यसरी उनले ठगीपछी लुक्ने ठाउँ नै भारत बनाएका छन् ।

भारत जान पासपोर्ट र भिसा दुवै नचाहिने भएकाले पनि शर्माको ठगीमा यसले निकै सघाएको छ । नेपालमा युवाहरुलाई विदेश पठाउने भन्दै विभिन्न प्रलोभन देखाएर लाखौँ रकम ठगी गर्ने शर्मा अहिले भने फरार छन् । उनको परिवारले घरजग्गा बेचेर भएपनि रकम तिर्ने आश्वासन दिए पनि रकम फिर्ता आउने कुरामा भने शंका देखिएको छ ।

के भन्छ प्रहरी ?
यता जिल्ला प्रहरी कार्यालय सुनसरीले भने सो केस फलोअपको शिलशिलामा रहेको जनाएको छ । ‘यो विषयमा फलोअपमै छ । पिडीत पक्षले उजुरी गरेपछी थप प्रक्रिया अघि बढ्छ’, जिल्ला प्रहरी कार्यालय सुनसरीको मुद्धाफाँटका एक प्रहरीले भने, ‘अहिले चाडपर्वको समय छ । तिहार र छठपछी नै आवश्यक प्रक्रिया अगाडी बढ्छ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK