×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लघुवित्तमा मनपरी- ‘गर्भवती भयो कि सरुवा, गर्लफ्रेण्ड कर्मचारीलाई नियम मिचेर बढुवा !’

काठमाडौं । पछिल्लो समय देशभर लघुवित्तविरुद्धको आन्दोलन चर्किएको छ । गाउँगाउँमा छिरेर लघुवित्त वित्तीय संस्थाहरुले ब्याज आतंक मच्चाएको, ऋणीहरुलाई अनावश्यक तनाव र दुख दिएको, ऋण असुलीका नाममा गैरमानवीय हर्कत गरेको लगायतका कारण देखाउँदै लघुवित्त वित्तीय संस्थाहरु नै खारेज गर्नुपर्ने भन्दै लघुवित्तविरुद्ध आन्दोलन चर्किरहेको छ । यहि बेला लघुवित्तले आफ्ना कर्मचारीहरुलाई दिने तनावका विषयमा पनि लघुवित्तका कर्मचारीहरुले आवाज उठाउन थालेका छन् ।
थरीथरीका तनाव ! असुरक्षित भए महिला कर्मचारी !
यसो त लघुवित्तले आफ्ना कर्मचारीहरुलाई थरीथरीका तनाव दिने गरेको रहस्य एक एक गरी बाहिर आउन थालेका छन् । यतिसम्मकि परिक्षा हुँदा पनि बिदा नदिने, अतिरिक्त तलव नदिई बढी काम लगाउने र यस विषयमा आवाज उठाउनेहरुलाई लघुवित्तले पागल करार गर्ने काम भएको पाइएको छ । यसको ज्वलन्त उदाहरण आफैं भएको बताउँदै मेरो माइक्रोफाइनान्सका कर्मचारी नवीन शाह यतिबेला काठमाडौँमा आएर न्याय मागिरहेका छन् । उनलाई उनी कार्यरत लघुवित्तले उनी मानसिक असन्तुलन भएको व्यक्ति भएको भन्दै प्रहरीमा निवेदन दिएको छ, जवकि उनको मानसिक अवस्था ठिक छ ।
‘लघुवित्तमा माथिल्लो तहका कर्मचारीले तल्लो तहका कर्मचारीलाई दोषारोपण गर्ने र बिना कारण टर्चर दिने प्रवृत्ति नयाँ होइन । अहिले जति टर्चर भयो भन्दै लघुवित्तका ऋणीहरु आन्दोलनमा छन्, त्यो भन्दा धेरै टर्चर लघुवित्तका सीईओले कर्मचारीलाई दिन्छन् । तर, जागिर जाने पिरले कोही बोल्दैनन् ।’ अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘बिज एण्ड ब्रेन’मा बोल्दै शाहले भने, ‘अझ संस्थाभित्रका समस्या अनेक छन् । विहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म काम गराइन्छ, तर अतिरिक्त तलव सुविधा हुँदैन । कर्मचारीले कहिले पनि बिदा पाउँदैनन् । बिदा माग्नेको सरुवा भईहाल्छ ।’
कार्यक्रममा उनले लघुवित्तमा काम गर्ने महिला कर्मचारीको स्थिति झनै जर्जर भएको दाबी गरेका छन् । ‘संस्थामा  कार्यरत महिला कर्मचारी गर्भवती हुँदा सुत्केरी बिदा दिनुपर्ने र थप बोनस दिनुपर्ने भएकाले नियोजित रुपमै ती कर्मचारीलाई सरुवा गरिन्छ । जानै नसक्ने ठाउँमा सरुवा गरेपछि जागिर छोड्ने स्थिति ल्याउने बदनियतका साथ काम हुन्छ । तर यस विषयमा आजसम्म कसैले बोल्ने आँट गरेको छैन ।
यता महिला अधिकारकर्मीहरुले भने गर्भवती भएकै कारण कसैलाई जागिरबाट सरुवा गर्ने काम गलत भएको दाबी गरेका छन् । ‘प्रचलित श्रम ऐनले दिएको सेवा सुविधा दिनुपर्ने ठाउँमा उल्टै जागिरबाट निकाल्न खोज्नु गलत मात्र होइन कसुरजन्य कार्य हो ।’ महिला अधिकारकर्मी सावित्रा सुवेदी भन्छिन्- ‘यस्तो कसुर गर्नेलाई कानुनअनुसार कारवाही मात्र गरेर पुग्दैन, सामाजिक बहिष्कारसमेत गर्नुपर्छ ।’
जागिर खान पूर्जा धितो, गर्लफ्रेन्ड कर्मचारीलाई बढुवा छिटो !
लघुवित्तमा यो हदसम्मको मनपरी देखिएको छ कि, काम गर्ने कर्मचारीहरुले जागिर खान आफ्नो जग्गासमेत कम्पनीमा धितो राख्नुपर्छ । यसरी जग्गा रोक्का गरिदिने र कार्यालयले भने अनुसार नभए जग्गा फुकुवा नै हुनेगरेको प्रमाणसमेत भेटिएको छ । समिट लघुवित्तले यसरी मनपरी गरेको प्रमाणसहितको खबर अर्थ सरोकार डटकमले यस अघि पनि प्रकाशित गरिसकेको छ । समिटममात्र होइन, देशका विभिन्न लघुवित्तले हिसाबकिताब बिग्रिएको खण्डमा सोहि जग्गाबाट भरपाई गराउने भन्दै नियम विपरित यसरी कर्मचारीको जग्गा रोक्का राख्ने गरेको पाइएको छ ।
अझ अचम्मको कुरा त के छ भने, हिसाब बिगारेका कतिपय आफ्ना कर्मचारीलाई भने लघुवित्तले बढुवा गरिदिएको पाइएको छ । महिला लघुवित्तकी एक कर्मचारीलाई संस्थाका एक अर्का कर्मचारीले आफ्नी प्रेमिका भएकै कारण बढुवा सिफारिस गरेको आरोपसमेत यतिबेला लागेको छ । अहिले यो प्रकरण पनि सतहमा छ, जहाँ महिला लघुवित्तमा कार्यरत एक साखाकी कर्मचारीले हिसाब निकै बिगारेकी छिन् । तर उनीबाट पैसा असुल गर्नुको सट्टा उनलाई संस्थाका एक उच्च अधिकारीकि प्रेमिका भएकै कारण बढुवा गरिएको पाइएको छ ।
लघुवित्त बैंकर्स संघका अध्यक्ष भन्छन्, ‘समस्या छन्, सुधार्नुपर्छ’
यता लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले भने लघुवित्तमा विभिन्न खालका समस्या भएको जानकारी आफुलाईसमेत भएको र बैंकर्सहरु पनि सच्चिनुपर्ने बताएका छन् । ‘लघुवित्तमा समस्या छन् । कतिपय कर्मचारीका जग्गाका पूर्जा राखिएको खबर पनि नभएको होइन । तर कतिपय संस्थाहरुले कर्मचारीले हिसाब बिगारेर नभागुन् भनेर यसो गरिएको हुनसक्छ । बाँकी बढी काम लगाएर तलव सुविधा नदिने जस्ता समस्याहरुको समाधान गरिनुपर्छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै शर्माले भने, ‘प्रचलित कानुनविपरित कसैलाई पनि काम गराईनु हुँदैन । सबै काम नियमानुसार नै हुनुपर्छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: