×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन, सञ्चालकले रकम अपचलन गरेपछि बचकर्ता मर्कामा

BIZBAZAR

काठमाडौं । खोटाङको दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिले ऋण चुक्ता नगर्ने आठ ऋणीको नाममा रहेको जग्गा रोक्का गरिदिन जिल्ला मालपोत कार्यालयमा निवेदन दिएको छ ।

ऋण चुक्ता गर्न नआएको खण्डमा सोही चल-अचल सम्पत्ति बिक्री गरी असुलउपर गर्ने भन्दै सञ्चालक समितिले प्रदेश सहकारी ऐन, २०७६ को दफा ६९ को उपदफा-२ बमोजिम ऋणीको जग्गा रोक्का गरिदिन मालपोतमा निवेदन दिएको हो । रकम चुक्ता गर्नका लागि पटक-पटक पत्र पठाउँदा, फोन संवाद गर्दा र जमानीलाई पत्राचार गर्दासमेत चुक्ता नभएपछि सहकारीको यही माघ १३ गते बसेको बैठकको निर्णयानुसार पहिलो चरणमा आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन दिएको सञ्चालक समितिका सदस्य धनीराम नछुङले जानकारी दिएका छन् ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, सुनसरीले ऋण असुल गर्नका लागि सबै खालका कानुनी कारबाही गर्न माघ ३ गते पठाएको आदेशका आधारमा जग्गा रोक्काका लागि मालपोतमा पुगेको उनले बताए । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशी र व्यवस्थापक रुकु जोशीले बचत रकम अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । आफूहरूले थोपाथोपा गरेर जम्मा गरेको बचत रकम डुबेको भन्दै बचतकर्ता सङ्घर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

‘बचत रकम फिर्ता गर्न पटक-पटक माग गर्दा पनि सुनुवाइ भएन’, नछुङले भने, ‘बचत फिर्ता गराउने विषयमा जिल्ला प्रशासन र नगरपालिकाले समेत कुनै चासो दिएन ।’ बचत रकम फिर्ताका लागि बचतकर्ता दैनिकजसो सहकारीको ढोका ढकढक्याउन कार्यालय पुग्ने गरेका छन् । बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समिति ऋण असुल गर्दै बचत फिर्ता गर्ने प्रयासमा जुटेको हो ।

वित्तीय कारोबारबाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ २०७२ मा दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको सञ्चालक समितिले जनाएको छ । सञ्चालक समितिले जग्गा रोक्काको सूचिमा परेका ऋणीको नाम र ठेगाना भने खुलाएको छैन ।

तत्कालीन अध्यक्ष जोशीको कोरोना भाइरसको सङ्क्रमणका कारण २०७८ वैशाख १५ गते कास्कीको पोखरामा निधन भएको थियो । जोशीको निधनपछि निक्षेपकर्ताहरू निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal