×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘नियामक र नीतिगत तहमा भएकाहरु सिरियस देखिएनन्, सबैले चाहेमा अर्थतन्त्रमात्र नभई देश नै सुधार हुन्छ’ : पूर्व गर्भनर नेपाल

काठमाडौं । देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा सरोकारबालाहरुले जोड दिएका छन् । आइतबार पोखरामा आयोजित लथालिङ्ग अर्थतन्त्र कहाँसम्म कहिलेसम्म विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सरकार र नीति निर्माताहरुले तत्काल ध्यान दिनुपर्ने बताएका हुन् ।

कार्यक्रममा पूर्व गर्भनर डा. चिरन्जीवी नेपालले सरकारमा बस्नेहरुले ध्यान नदिँदा अर्थतन्त्रको अवस्था यस्तो भएको बताए । उनले यसको लागि नीतिगत सुधार गर्नुपर्ने बताए । ‘मैले धेरैपटक नियामक र नीतिगत तहमा भएकाहरु सिरियस भएको जस्तो देखिँदैनन् । अझै सरकार सुधार गर्न सचेत छैनन्।,‘ पूर्व गर्भनर नेपालले भने ।

उनले मौद्रिक नीतिमार्फत सरकारले अर्थतन्त्रलाई सुधार गर्नुपर्ने भन्दै मौद्रिक नीति राम्रो नभएसम्म सुधार हुन नसक्ने बताए । पूर्व गर्भनर नेपालले सबैले चाहेमा अर्थतन्त्रमात्र नभई देश नै सुधार हुनसक्ने भन्दै त्यसको लागि संकल्पका साथ अगाडि आउनुपर्नेमा जोड दिए । व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्नेमा उनले जिकिर गरे ।

‘व्यापार व्यवसाय उत्थानका सप्लिमेन्ट बजेट ल्याएर राहत दिनुपर्छ । अहिले बैंकमा अधिक ब्याज हुँदा रकम लिन नचाहेको हुँदा यसमा ध्यान दिनुपर्नेछ,‘ पूर्वगर्भनरले भने, ‘अहिले पैसा बाहिर बाहिर नै छ । त्यसलाई च्यानलमा ल्याउन पनि सप्लिमेन्ट्रि बजेट ल्याउनुको विकल्प छैन् । यो सत्य हो ।’

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टि नेपालका सांसद मनिष झाले देश तदर्थवादमा अल्झिएको हुँदा समस्या आएको बताए । उनले आफ्नो पार्टि सरकारमा हुँदा र आाफू स्वयं उद्यम क्षेत्रमा रहेको अनुभवले पनि अझ संकटतर्फ उन्मुख भएको बताए । ‘हामीकहाँ विश्लेषक धेरै तर विज्ञ कम भए र राजनीतिमा पनि त्यस्तै भएको छ । हामीले तदर्थवादलाई नहटाएसम्म समस्या घट्दैन् । हामीसँग योजनाहरु धेरै छन् तर रणनीतिहरु केहि छैन्,‘ सांसद झाले भने । उनले देशमा सँधै राजनीतिक योजनाहरु बन्ने गरेको तर अर्थतन्त्रका लागि कुनै योजनाहरु नबनेकोमा रोष प्रकट गरे ।

त्यस्तैगरी कार्यक्रममा पोखरा अनुसन्धान केन्द्रका सुजन रेग्मीले पूँजीगत खर्च नबढाएसम्म अर्थतन्त्र सुधार नहुने बताए । उनले पूँजीगत खर्च बढाउँदै सरकारले अर्थतन्त्र वृद्धि गर्न सुधारका कदम चाल्नुपर्ने बताए । उनले कार्यक्रममा भने, ‘गण्डकी प्रदेशमा कृषि र पर्यटनको ठूलो संभावना छ। कृषिलाई पर्यटनसँग जोडेर अभियान चलाउन सकिएमा प्रदेशको आर्थिक वृद्धिमा सकारात्मक सुधार हुनेछ ।‘ रेग्मीले यसबाहेक प्रदेशमा जलविद्युत र पूर्वाधारमा समेत संभावना भएको भन्दै यसको लागि नीतिगत स्थीरता आवश्यक हुनेमा जोड दिए ।

यसैगरी नेपाल उद्योग बाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यापार व्यवसाय सुनसान भएको र सामान्य खर्च धान्न समेत कठिन भएको बताए । उनले बजार सुनसान भएको, उद्योगको उत्पादन घटेको रोजगारी कटौती भएको र खर्च धान्ने अवस्था नभएको बताए । ‘हामीले सामान्य खर्च धान्नै सकेका छैनौं। अझ अहिलेको अवस्थामा बैंकको ऋण र ब्याजदर तिर्ने त कल्पना भन्दा बाहिरको कुरा हो,‘ उपाध्यक्ष श्रेष्ठले भने ।

उनले अर्थतन्त्र धरासायी भएको र बजार पिडामा बाँचिरहेको गुनासो गर्दै त्यसलाई समाधान गर्न नियामक र सरकारले तत्काल योजना ल्याउनुपर्ने माग गरे। यो समस्या कसले निराकरण गर्ने भनेर व्यवसायीहरु चिन्तित भएको उनले स्पष्ट पारे । ‘बेस रेट तोकिसकेपछि फेरी बैंकहरुले प्रिमियम ब्याज तोकेर थप किन लिने ? ब्याजदर १० प्रतिशत भन्दा धेरै गर्न हुँदैन र साना तथा मझौला व्यवसायीहरुका लागि अझ ब्याज घटाउनुपर्दछ,‘ उनले जोड दिए ।

श्रेष्ठले उद्योगी व्यवसायीहरुको हरेक समस्यासँग जुधेर आफू अगाडि बढिरहेको भन्दै नेपाल उद्योग बाणिज्य महासंघको आगामी नेतृत्व लिनका लागि अग्रसर भएको भन्दै त्यसमा सहयोग गर्न आग्रह गरेका थिए । उनले आगामी दिन युवाहरुकै भएको भन्दै उद्योगी व्यवसायीहरुलाई मार्गदर्शन गर्न अनुरोध गरेका थिए । श्रेष्ठले उद्योग व्यवसाय गर्ने र लगानी मैत्री वातावरणका लागि सँधै अग्रसर रहने स्पष्ट पारेका थिए ।

यस्तै उद्योगी किशोर श्रेष्ठले अहिले उद्यमीहरुको मन रोएको र कसरी उद्योग व्यवसाय चलाउने भनेर रुने अवस्थामा भएको बताए। उनले व्यवसायीहरुलाई आगामी २ वर्षसम्म बैंक ऋण र ब्याज तिर्न सहजता र सहुलियत दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले अहिलेको अवस्थामा व्यापार व्यवसाय गर्न कठिन भएको भन्दै त्यसमा सरकारले हेर्नुपर्ने सुझाब दिएका थिए । व्यवसायीहरुले अहिले बजारमा नगद अभाव हुँदा भएको वस्तु तथा सेवा समेत खपत नभएको भन्दै बजारमा सहजरुपमा नगद प्रवाह गर्नुपर्ने वातावरण र नीति आवश्यक भएको बताएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: