×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आलु र प्याजमा कालोबजारी बढ्यो, दिनदाहाडै उपभोक्ता ठगिँदा सरकार भने कस्मेटिक र कपडा बजारमा अनुगमन गर्दै !

PRIME CA

आलु र प्याजमा कालोबजारी बढ्यो, दिनदाहाडै उपभोक्ता ठगिँदा सरकार भने कस्मेटिक र कपडा बजारमा अनुगमन गर्दै !

८ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बजारमा आलु र प्याजमा कालोबजारी मौलाइरहेका बेला सरकार भने कस्मेटिक र कपडा पसलको अनुगमनलाई तिव्र पारेको छ । आगामी आर्थिक वर्षको बजेटमार्पत सरकारले कृषिजन्य उपज तथा आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि अहिले बजारमा आलु र प्याजको मूल्य दिन दुईगुणा र रात चौगुणाका दरले बढिरहेको छ । केही पसलहरुमा त यतिसम्म कालोबजारी देख्न पाइन्छ कि पसलमा राखिएको मूल्य सूचीमा एउटा मूल्य हुन्छ, पसलेले सामान अर्कै मूल्यमा बेच्ने गर्छन् ।

अझ त्यसैमाथि पछिल्लो समय बजारमा आलु र प्याजको कालोबजारी झन् ह्वात्तै बढेको छ । सरकारले आलु र प्याजको आयातमा १३ प्रतिशत कर लगाउने घोषणा गरेकै भोलीपल्ट प्याजको मूल्यमा उछाल आयो । बजेट प्रस्तुत गर्ने अघिल्लो दिन अर्थात १४ जेठसम्ममा कालीमाटी तरकारी बजारमा प्याजको मूल्य ३८ रुपैयाँ प्रतिकिलो थियो भने सोही दिन आलुको मूल्य प्रतिकिलो ३० रुपैयाँ थियो । तर, बजेट प्रस्तुत भएको भोलीपल्टैदेखि बढ्न थालेको मूल्य हालसम्म आईपुग्दा बजारमा प्याज प्रतिकिलो १ सय ३० रुपैयाँ र आलु प्रतिकिलो ४५ रुपैयाँ पुगेको छ ।

कतिपय खुद्रा पसलहरुमा त झन् पसलेहरुले मूल्यसूचीमा प्याज प्रतिकिलो ५५ र आलु प्रतिकिलो ४० रुपैयाँ लेखेका छन् । तर, बेच्ने बेलामा उपभोक्तालाई ‘त्यो पुरानो मूल्यसूची हो’ भन्दै महंगोमा दिने गरेको पाइएको छ ।

बजारमा आलु र प्याजमा महंगी र कालोबजारी अचाक्ली बढ्दा पनि सरकारले भने अनुगमन तथा मूल्य नियन्त्रणमा खासै चासो देखाएको छैन । बजारमा आलु र प्याजमा कालोबजारी बढेको भन्ने व्यापक गुनासोपछि १ असारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ती जारी गर्दै आलु र प्याज लगायतका वस्तुको मूल्य नबढाउन र बढाए कार्वाही गर्ने चेतावनी दियो । तर, वाणिज्य विभागको विज्ञप्तीपछि पनि बजारमा व्यापारीहरुले आलु र प्याजको मुल्य बढाईरहेका छन्, उपभोक्ता चर्को मुल्यको मारमा परिरहेका छन् ।

तर, बजारमा आलु र प्याजको अभाव देखाएर कालोबजारी हुँदा वाणिज्य विभाग भने कस्मेटिक, कपडा र मदिराको बजार अनुगमनमा निस्केको छ । दैनिक उपभोग्य वस्तु आलु, प्याजको आपूर्ति र मूल्यमा कालोबजारी बढ्दा पनि जिम्मेवार निकाय भने अन्यत्रै भौँतारिदा उपभोक्ताहरु थप महंगीको चपेटामा परेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: