Skip to content
LAXMI SUNRISE BANK

सूर्यदर्शन सहकारीमा सञ्चालकको बदमासीः करोडौँ फसेपछि न्याय माग्दै काठमाडौं पुगे पीडित, सहकारीमा हिसाब गोलमाल !

सुदर्शन श्रेष्ठ

काठमडौं । सूर्यदर्शन सहकारीमा सञ्चालकको बदमासीका कारण हजारौँ बचतकर्ता बिचल्लीमा परेका छन् । पोखराको नागढुँगास्थित उक्त सहकारीमा झण्डै साढे एक अर्ब रकम हिनामाना भएपछि अहिले बचतकर्ताहरु न्याय माग्दै पोखराबाट काठमाडौं आएका छन् ।

सुर्यदर्शन सहकारीमा समस्या देखिएको करिब एक वर्ष पुग्न लाग्दा पनि आफूहरुको बचतको टुंगो नभएको पीडितहरु बताउँछन् । गत भदौदेखि नै सहकारीमा समस्या आएको भए पनि बचतकर्तालाई गुमराहमा राखेर सहकारीले मनपरी गरेको पोखरा वैदम ६ की अनुराधा श्रेष्ठले बताएकी छिन् । ‘भदौमा समस्या देखिएको सहकारीले कात्तिक, मंसिरमा पनि निक्षेप संकलन गरिरहेको थियो । पैसा फिर्ता गर्नै नसक्नगरी समस्या परेको भए किन पैसा संकलन गरेको ?’, उनले भनिन्, ‘यसमा सहकारीका सञ्चालकको बदमासी छ । खाईनखाई गरी जम्मा गरेको पैसा डुब्न लागेको छ । पैसा नभए पनि हामीलाई हाम्रो बचत सुरक्षित छ भन्ने प्रत्याभूति गराउनुपर्छ ।’

त्यस्तै, सूर्यदर्शन सहकारी पीडित समूहका संयोजक किरण श्रेष्ठले पनि आफूहरुले पैसा नै नभएर बचत सुरक्षाको प्रमाण माग गरेको बताएका छन् । ‘पैसा त अहिलेको परिस्थितिमा कसैले पनि दिन सक्दैन । हामीले बोराका बोरा पैसा चाहियो भनेका छैनौँ । केवल हामीलाई हाम्रो बचत सुरक्षित छ भन्न प्रमाण दिए पुग्छ ।’, उनले भने, ‘अहिले सबै सहकारीमा समस्या छ । सूर्यदर्शनसँगै समस्यामा परेका अरु सहकारी चलायमान हुन थालिसके तर यो सहकारीको केही पनि टुँगो भएन । हामी पोखराबाट यहासम्म आएका छौँ, बचत सुरक्षाको प्रत्याभूति नभएसम्म फर्किदैनौँ । हाम्रो बचतको जिम्म सहकारीका सञ्चालकले लिनुपर्छ ।’

सहकारी सञ्चालनको सुरुवातमा सूर्यदर्शन सहकारीले विभिन्न प्रलोभन देखाएर रकम जम्मा गर्न बाध्य बनाएको पीडितहरुको भनाई छ । ‘बालबच्चाको बर्थडे पर्यो भने केक ल्याइदिन्थे, वृद्धवृद्धालाई सम्मान गर्थे । यतिसम्म की मलाई १६ प्रतिशतसम्म त्यो पनि घण्टा-घण्टाको हिसाब गरेर दिन्छौँ भनेर झुक्याए ।’, सहकारी पीडित होमबहादुर गुरुङले भने, ‘आपतै पर्दा पनि पैसा फिर्ता दिएन । ५ लाखको चेक साट्न जाँदा एकपटक ५० हजार दियो त्यसपछि एक रुपैयाँ पनि पाएको छैन ।’

सूर्यदर्शन सहकारीको घोटाला प्रकरणबारे थप तथ्य भिडियोमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK