×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अडियो प्रकरणबारे आरजु राणाको प्रष्टीकरण- ‘मेरो नाम जोडिएको अडियो झुठो हो, मलाई फसाउने षड्यन्त्र हुँदैछ’

PRIME CA

अडियो प्रकरणबारे आरजु राणाको प्रष्टीकरण- ‘मेरो नाम जोडिएको अडियो झुठो हो, मलाई फसाउने षड्यन्त्र हुँदैछ’

२५ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको बताएकी छिन् । उक्त अडियोको अनुसन्धान गर्न उनले प्रहरीमा दिएको उजुरीको छानविनबाट पनि सो प्रमाणित भएको आरजुको भनाई छ ।

उक्त अडियो संवादमा एक व्यक्तिले अर्का कोही व्यक्तिसँग डा.राणा र मञ्जु खाँडलाई रकम बुझाएको बताएका थिए । त्यो आवाज हाल अनुुसन्धानमा रहेका दाङका सन्देश शर्माकै भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सो अडियोको छानविन गर्न डा.राणाले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । आफूलाई जोडेर ‘फेक अडियो’ बद्नियतपूर्णरुपमा रेकर्ड गराइएको भन्दै सो अडियो कसले बनाएको हो र सामाजिक सञ्जालमा कसले राखेको हो भन्ने विषयको अनुसन्धान गरी दोषीमाथि कार्वाहीको माग गर्दै उनले गत वैशाख २७ मा उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा अनुसन्धान गरेको प्रहरीले सो आवाज शरणार्थी प्रकरणका आरोपी सन्देश शर्माको आवाजको ‘स्याम्पल’सँग मेल खाएको जनाएको थियो । सोही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्नेबारेमा भने टिकटक सिङ्गापुरसँग जानकारी मागेको तर प्राप्त नभएको पनि नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् ।

उता थुनमा रहेका अभियुक्त शर्माले गत वैशाख ४ गते नेपाल प्रहरीमा दिएको र अदालतमा दिएको बयान एउटै छ । तर, आरजु राणाको नाम लिइएको सो अडियो सो बयानपछि मात्रै सार्वजनिक भएको थियो । त्यसपछि डा.राणाले अनुसन्धानका लागि प्रहरीसमक्ष उजुरी दिएको बताएकी छिन् ।

प्रहरी अनुसन्धानबाट सो आवाज शर्मासँग मिलेको भए पनि आफूलाई लेनदेनका बारेमा केही थाहा नभएको भन्दै सांसद डा.राणाले सो अडियो नै बद्नियतपूर्णरुपमा आफूलाई यस मुद्दामा जबर्जस्ती तान्न गरिएको षड्यन्त्र भएको दाबी गरेकी छिन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: