×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘महिलामाथि दुर्व्यवहार गरेको छैन, ऋण नपाएपछि मेराविरुद्ध भ्रम छरियो, अनुसन्धानमा सघाउँछु’- डेपुटी सीईओ ढकाल

PRIME CA
GLOBAL IME BANK

‘महिलामाथि दुर्व्यवहार गरेको छैन, ऋण नपाएपछि मेराविरुद्ध भ्रम छरियो, अनुसन्धानमा सघाउँछु’- डेपुटी सीईओ ढकाल

३ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिनियर डेपुटी सीईओ महेश शर्मा ढकालले ‘ऋणी महिलामाथि अभद्र व्यवहार गरियो’ भन्ने आरोप गलत भएको दाबी गरेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै ढकालले आफूले कसैलाई पनि ऋण स्वीकृत गर्छु भन्दै अभद्र व्यवहार नगरेको दाबी गरेका हुन् ।

आरोपित महिला र बैंकसँगको कारोबार आफू नेपाल इन्भेष्टमेन्ट मेगा बैंक आउनुभन्दा अघिको भएको ढकालको भनाई छ । ढकालका अनुसार ती महिलाले बैंकमा तिर्नुपर्ने ठूलो ऋणको किस्ता र ब्याज तिरेकी छैनिन् । ऋणमाथि ऋण माग्दा बैंकले स्वीकृत नगरेपछि आफूमाथि गलत प्रचार गरेको ढकालको भनाई छ । आफू विरुद्ध महिला सेलमा परेको दुर्ववहारको उजुरीबारे ढकाल भन्छन् -‘ती महिला र बैंकबीचको कारोबार पुरानो हो । उनले बैंकको ठूलो ऋण चलाएकी छिन् । तर, तिरेकी छैनिन् । यसभन्दा अघि पनि उनले बैंकमा यसैगरी दुःख दिने गरेकी थिइन् । बैंकमा उनले दिएको ऋण खराब कर्जामा गणना भएको छ । खराब कर्जामाथि कसैले ऋण दिन्छ ? दिन मिल्छ ?’

खराब कर्जामाथि कर्जा माग्दा बैंकले ऋण दिन अस्वीकार गरेपछि आफू र बैंकविरुद्ध यस्तो हतकण्डा अपनाइएको ढकालको भनाई छ । बैंकबाट लिएको ऋण तिर्न नपरोस् भनेर यस्तो षडयन्त्र रचिएको दाबी उनको छ । यो घटनामाथि छानबिन हुनुपर्छ । सत्यतथ्य कुरा बाहिर आउनुपर्छ ।’ ढकालका अनुसार ती महिलाले यसअघि विभिन्न नम्बरबाट फोन गरेर बैंकमा आफ्नो ऋण सेटलमेन्ट गर्न दबाब दिँदै आएकी थिइन् ।

ढकालविरुद्द ऋणी महिलामाथि अभद्र व्यवहार गरेको आरोप लागेको छ । ऋण स्वीकृत गरिदिने भन्दै डेपुटी सीईओ ढकालले आफ्नै कार्यकक्षमा एक महिलामाथि अभद्र व्यवहार गरेको आरोप लागेको हो ।

ढकालले आफ्नो नाममा ऋण स्वीकृत गरिदिने भन्दै अभद्र व्यवहार गरेको भन्दै पीडित महिलाले राष्ट्रिय महिला आयोगमा उजुरी समेत दिएकी छिन् । उनले दिएको उजुरीमा बैंकका सिनियर डेपुटी सीईओ ढकालले कार्यकक्षमा बोलाएर ‘तपाईको कर्जा छिट्टै स्वीकृत हुँदैछ, त्यसका लागि मैले भनिसकेको छु’ भन्दै अभद्र व्यवहार गरेको भन्ने अरोप लगाइएको छ ।

यता राष्ट्रिय महिला आयोगले पनि डेपुटी सीईओका विरुद्धमा उजुरी परेको पृष्टी गरेको छ । तर, उजुरी अभद्र व्यवहारको भएकोले उक्त मुद्धा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पठाइएको आयोगकी प्रवक्ता चमिला भट्टराईले बताएकी छिन् । ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका डेपुटी सीईओले अभद्र व्यवहार गरे भन्दै एकजना महिला हामीकहाँ उजुरी लिएर आउनुभएको थियो ।’, उनले भनिन्, ‘तर, उक्त उजुरी अभद्र व्यवहारको थियो । अभद्र व्यवहारको मुद्धा जिल्ला प्रशासन कार्यालयले हेर्ने भएकोले सम्पूर्ण कागजातसहित हामीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पठाएका छौँ ।’

राष्ट्रिय महिला आयोगले उक्त मुद्धा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पठाइएको बताए पनि उक्त विषयमा आफूलाई खासै जानकारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी खडक बहादुर श्रेष्ठले बताएका छन् । मुद्धासँग सम्बन्धित विषय मुद्धा फाँटमा जाने भएकाले प्रशासन फाँटमा जानकारी नहुन सक्ने उनको भनाई छ । ‘यो मुद्धा शाखासँग सम्बन्धीत विषय होला, मलाई पनि त्यति याद चाहिँ भएन ।’, उनले भने, ‘अहिलेसम्म प्रशासन शाखामा यो विषय पुगेको छैन, कुरा के हो बुझ्नुपर्छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: