×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फलोअपः ९० लाख घुसका आरोपितमाथि बैंकले आन्तरिक अनुसन्धान गर्दै, निलम्बनका विषयमा हाकिमहरुकै मत बाझियो !

PRIME CA

फलोअपः ९० लाख घुसका आरोपितमाथि बैंकले आन्तरिक अनुसन्धान गर्दै, निलम्बनका विषयमा हाकिमहरुकै मत बाझियो !

१३ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । सहकारी ठगी प्रकरणमा हाल प्रहरी हिरासतमा रहेका शिव शिखर सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्माले सीआईबीलाई बयानका क्रममा नेपाल एसबिआई बैंकका साखा प्रबन्धक मनोज गौतमलाई ९० लाख घुस दिएको बताएपछि र सो बयानसहितको अभियोगपत्र अदालतमा पेश भएपछि बैंकले पनि मनोज गौतमका विषयमा आन्तरिक अनुसन्धान थालेको छ । सीआईबीले हचुवाका भरमा बैंक र बैंकका कर्मचारीको नाम उल्लेख नगरेको हुनुपर्ने निष्कर्षसहित गौतममाथि अनुसन्धान सुरु भएको हो ।

‘हामीले पनि सीआइबीमा केदारनाथ शर्माले गरेको बयान हेर्यौं । हाम्रो बैंक र बैंकका कर्मचारीकै नाम मुछिएपछि हामीले यस विषयमा अनुसन्धान गर्ने नै भयौँ । अझै केहि दिन आन्तरिक छानविन हुन्छ ।’ नेपाल एसबिआई बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने- ‘जुन विषय उठेको छ, त्यो गम्भीर छ । बैंकको ब्राण्डमाथि नै धक्का पर्ने खालको कुरा उठेपछि हामीले यस विषयमा थप छानविन आवश्यक ठानेका छौँ ।’ उनका अनुसार यस विषयमा आरोपित गौतमसँग बैंकले विभिन्न चरणमा सोधपुछ गरिसकेको छ । सोधपुछका क्रममा गौतमले आफुले एक रुपैयाँ पनि नलिएको दाबी गरेको ती अधिकारीको भनाई छ ।

बैंकका सूचना अधिकारी रितेश अर्यालले पनि बैंकले यस विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाएको पुष्टी गरे । ‘यो भर्खरको न्युज हो । सबै कुरा अनुसन्धान गर्नुपर्ने हुन्छ । बैंकले आफुले गर्नुपर्ने काम गरिरहेको छ । हामी छिट्टै प्रेस रिलिज पनि जारी गर्ने तरखरमा छौँ ।’ बैंकका सूचना अधिकारी अर्यालले अर्थ सरोकारसँग भने– ‘यस विषयमा आन्तरिक छालफल भईरहेको छ ।’

निलम्बनका विषयमा हाकिमहरुकै मत बाझियो !
यता यो प्रकरणमा गौतमलाई निलम्बन गरेर मात्र अनुसन्धान गर्नुपर्छ भन्ने विषयमा बैंकका उच्च तहका हाकिमहरुकै मत बाझिएको पाइएको छ । बैंकका केहि हाकिमहरु गौतमलाई तत्काल निलम्बन गरी अनुसन्धान गर्नुपर्ने र जे भएको हो त्यही तथ्य बाहिर ल्याउनुपर्ने बताईरहेका छन् भने बैंक भित्रकै केही उच्च अधिकारी यो घटनालाई नलम्ब्याएर सामसुम पार्नुपर्ने, गौतमले घुस खाएको प्रमाणित भए पनि उनलाई आन्तरिक कारवाही गरेर यो कुरा बाहिर लैजान नहुने बताईरहेको बुझिएको छ ।

तर, ‘गौतमलाई जोगाउन खोजेको भन्ने हल्ला पनि बाहिरिएका छन् नि, कुरा के हो ?’ हाम्रो प्रश्नमा बैंकका सूचना अधिकारी अर्यालले भने, ‘यी कुराहरु गर्न अलि हतारो भयो कि भन्ने बुझ्नुपर्छ । बैंकले आन्तरिक छलफल गर्दैछ, अनुसन्धान गर्दैछ । के भएको हो त्यो त बाहिर आईहाल्छ ।’ आरोपित भईसकेपछि अनुसन्धान नसकिउन्जेलसम्म सम्बन्धित कर्मचारीलाई निलम्बन गर्नुपर्दैन ? भन्ने अर्थ सरोकारको प्रश्नमा उनले बैंकले छानविनका क्रममा निकालेको निष्कर्ष अनुसार नै बैंक अघि बढ्ने बताएका छन् ।

यता घुस खाएको आरोप लागेका गौतमले भने आफुले एक रुपैयाँ पनि कहिँकतैबाट घुस नखाएको र घुस खाएको प्रमाणित भए आफु सुलीमा चढ्न तयार भएको बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले आफुले कसैसँग पनि घुस नखाएको र सीआइबीको बयानमा कसरी आफ्नो नाम उल्लेख भयो भन्ने तथ्य आफुले पनि नबुझेको दाबी गरेका छन् ।

यता सीआईबीले भने केदारनाथ शर्माको बयान अनुसार नै अभियोगपत्रमा बैंकका कर्मचारीले घुस खाएको तथ्य उल्लेख भएको बताईरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: