Skip to content
LAXMI SUNRISE BANK

सुर्यज्योति र युनाईटेड अजोडसहित डेढ दर्जन बीमा कम्पनीको विवरण नै ‘फेक’, कार्वाहीको तयारीमा बीमा प्राधिकरण !

अर्थ सरोकार

काठमाडौं । डेढ दर्जन बीमा कम्पनीले नियामक बीमा प्राधिकरणमा बुझाएको विवरण नै झुटो भएको पाइएको छ । विवरण फेक रहेको पाइएपछि ती बीमा कम्पनीलाई कार्वाही गर्ने तयारी प्राधिकरणले गरेको छ । बीमा कम्पनीहरुले बुझाएको विवरण र स्थलगत निरीक्षणका क्रममा भेटिएको विवरणमा ठुलो भिन्नता भएपछि प्राधिकरणले ती बीमा कम्पनीहरुलाई कार्वाहीको तयारी गरेको हो ।

डेढ दर्जन बीमा कम्पनीलाई कार्वाहीको तयारी गरिएको प्राधिकरणका एक संचालकले पुष्टी गरे । ‘१९ वटा बीमा कम्पनीलाई कारवाहीको तयारी भएको छ । त्यसमध्ये एक जनालाईचाहिं यो पटक छोड्ने कि भन्ने कुरा पनि भएको छ ।’ ती सञ्चालकले अर्थ सरोकारसँग भने- ‘सबैलाई प्रचलित व्यवस्था अनुसार जनही २ लाख रुपैयाँका दरले जरिवाना हुनेछ ।’ उनका अनुसार सो निर्णय आगामी संचालक समितिको बैठकबाट हुनेछ । बैठकमा सो एजेण्डा लैजाने सबै तयारी भईसकेको छ ।
ती संचालकका अनुसार गलत विवरण पेश गरेको भेटिएपछि प्राधिकरणले सम्बन्धित बीमा कम्पनीहरुलाई स्पष्टीकरण सोधेको थियो । तर ती कम्पनीहरुबाट चित्तबुझ्दो स्पष्टीकरण नआएपछि प्राधिकरणले कार्वाहीको तयारी गरेको हो ।  ‘फेक विवरण बुझाउने कम्पनीहरुलाई प्रचलित बीमा ऐन, २०७९ को दफा ८३ समेतको उल्लंघन गरेको भनी बीमा ऐन, २०७९ को दफा १३८ बमोजिम जरिवानाको कारबाही गरिएको छ । हुन त यो ठुलो अपराध नै हो, र पनि कानुनले झुटो विवरण पेश गर्नेलाई पहिलोपटक २ लाख रुपैयाँ जरिवाना तिराउने भनेको छ । त्यसैले कानुनबमोजिम ती बीमा कम्पनीहरुलाई २ लाखका दरले जरिवाना तिराउने तयारी भएको हो ।
ती संचालकका अनुसार जीवन बीमातर्फ सुर्य ज्योति लाइफ इन्स्योरेन्स,प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ नेपाल लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्सलाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स लगायतका छन् भने निर्जिवन बीमा कम्पनीहरुमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल, लगायत छन् । यसरी फेक विवरण बुझाउनेहरुमध्ये सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीसमेत रहेको पाइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK