Skip to content
LAXMI SUNRISE BANK

हाकिमको हेपाईले हद नाघेको भन्दै एनएमबि लघुवित्तका सयौँ कर्मचारीले दिए सामुहिक राजिनामा, दर्जनौँ साखा ठप्पप्राय !

अर्थ सरोकार

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थामा कार्यरत सयौँ कर्मचारीले एकसाथ सामुहिक राजिनामा दिएका छन् । लघुवित्तको कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका सय बढी कर्मचारीले सामुहिक राजिनामा दिएका हुन् । राजिनामा दिनेहरुमा अधिकांश साखाका प्रमुखहरु पनि छन् । कर्मचारीहरुले सामुहिक राजिनामा दिएपछि अहिले सो लघुवित्तका अधिकांश साखामा काम कारवाही ठप्प भएको छ।

लघुवित्तको व्यवस्थापन पक्षले आफूहरुलाई गाली–बेइज्जती गरेको, हेपाहा प्रवृति देखाएको, कामचोर भनेर मनपरी बोलेको, पटक पटक निकाल्ने धम्की दिएको लगायतका कारण आफुहरुले राजिनामा दिनुपरेको कर्मचारीहरुको दाबी छ । सामुहिक राजिनामा दिएर उनीहरु अहिले लघुवित्तमा धर्नासमेत बसेका छन् । उनीहरुले आफ्ना हाकिम कमल पोखरेलको राजिनामा बटमलाइन भएको भन्दै काम ठप्प पारेका हुन् । पोखरेललाई संस्थाले निकाल्नुपर्ने माग गर्दै उनीहरुले शाखा कार्यालयहरु बन्दको घोषणासमेत गरेका छन्।

पोखरेलले आर्थिक मन्द र लघुवित्त क्षेत्रमा देखिएको संकटकाबीच कर्मचारीलाई काम गर्ने वातावरण बनाउनुपर्नेको साटो उल्टै कर्मचारीलाई गाली बेइज्जती गरेको उनीहरुको आरोप छ । ‘संस्थाको व्यवस्थापन पक्षले यस्तो परिस्थितिमा कर्मचारीको मनोवल बढाउनुपर्ने हो । तर, कमल पोखरेल सरले काम गरे गर नगरे संस्था छोडेर जा सम्म भन्नुभयो । यति मात्रै होइन, उहाँले तिमीहरुलाई ज्वाईं पालेजसरी पाल्न सकिन्नसम्म भन्नुभएको छ ।’, संस्थाका कर्मचारीलेहरुले अर्थ सरोकारसँग भने, ‘संस्था छोडेर जा, होइन भने असोजसम्म निकालिदिन्छौँ भनेर पटक पटक धम्की आएको छ । यसरी त कसरी काम गर्न सकिन्छ र ? त्यसैले हामीले सामुहिक राजिनामा दिएका छौँ ।’

कर्मचारीहरुले संस्थामा नयाँ कर्जा प्रोडक्ट खारेज गर्नुपर्ने, पुरानो कर्जा प्रोडक्टमा सुधार गर्नुपर्ने, सीआईबी रिपोर्ट साखाबाट नै हेर्नुपर्ने व्यवस्था हुनुपर्ने, क्याड खारेज हुनुपर्ने, केवाईसीको सिष्टम सुधार हुनुपर्ने, सेवा सुविधामा परिमार्जन हुनुपर्ने, कर्मचारी पदपूर्ति व्यवस्था परिमार्जन हुनुपर्ने, ग्राहकलाई दिनुपर्ने सेवा सुविधा परिमार्जन हुनुपर्ने र दैनिक कामहरुमा परिवर्तन हुनुपर्नेलगायतका मागसमेत राखेका छन् ।

नयाँ ग्राहक वृद्धि गर्नुपर्ने किसिमको नीति संस्थाले लिनुपर्नेमा एनएमबि लघुवित्तको व्यवस्थापनबाट लागू गरिएको कर्जा निती, केन्द्रीय कार्यालयबाट जारी निर्देशनले उल्टै ग्राहकको सुविधासमेत खोसिएका कारण हाकिमसदस्यहरुले एनएमबि छोड्ने क्रम बढेको राजिनामा पत्रमा उल्लेख छ ।

यसो त उनीहरुले आफूहरुले राखेका माग पूरा भए र पुनः संस्थामा कामा गर्ने वातावरण सृजना भए संस्थामा काम गर्ने बताएका छन् । ‘माथि उल्लेखित बुँदाहरुमाथि आवश्यक सुनुवाई भएमा पुर्नवहाली भई काम गर्न तयार छौँ । अझै पनि हामीलाई संस्थाप्रति माया छ । र संस्थालाई प्रततिपथमा लैजान कुनै कसुर नराखी कार्य सम्मादन गर्न तयार छौँ ।’, राजिनामा पत्रमा भनिएको छ ।

यता बैंकका हाकिमहरु यस विषयमा बोल्न चाहिरहेका छैनन् । बैंकका सबैभन्दा बढी आरपका आरोपित कमल पोखरेलले यस विषयमा बुझ्न फोन गर्दा फोन उठाएनन् भने बिरु राम जैशी पनि सम्पर्कमा आउन चाहिरहेका छैनन् । संस्थामा लफडा देखिएपछि संस्थाका सीइओ आनन्द राज पाण्डे यतिबेला बिदामा बसेका छन् । संस्थाका एचआर प्रमुख सुर्यबहादुर थापाले फोन उठाए पनि कर्मचारीका विषयमा कुरा गर्नेबित्तिकै ’म मीटिङमा छु, आवाज नै सुनिएन’ भन्दै फोन काटेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK