Skip to content
LAXMI SUNRISE BANK

पैसा र साथी समातिएपछि भागेका कर अधिकृत प्रहरीको सम्पर्कमा, ‘पहिला नै थियो एउटा समातिए अर्को भाग्ने योजना’

अर्थ सरोकार

दाङ । विभिन्न स्थानमा अनुगमनका नाममा गएर पैसा असुलेर फर्केका दुई करअधिकृत मध्ये एक पक्राउ परेपछि भागेका अर्का कर अधिकृत प्रहरीको सम्पर्कमा आएका छन् । स्रोत नखुलेको रकमसहित प्रहरीले आफ्ना सहकर्मी खगेन्द्र सापकोटालाई पक्राउ गरेपछि भागेका अर्का कर अधिकृत दीपक पौडेल प्रहरीको सम्पर्कमा आएका हुन् । दुबैजना आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा कार्यरत अधिकृत हुन् ।
प्रहरीले स्रोत नखुलेको २६ लाख रुपैयाँसहित सहकर्मी सापकोटालाई पक्राउ गरेपछि अधिकृत पौडेल भागेका थिए । उनी अहिले प्रहरीको सम्पर्कमा आएको बाँके प्रहरीले पुष्टी गर्यो । ‘फोनमा उहाँले आफैं प्रहरी कार्यालय आउने बाचा गर्नुभएको छ ।’ बाँके प्रहरीले अर्थ सरोकारसँग भन्यो, ‘हामीले गर्नुपर्ने अनुसन्धान गरेर अख्तियारलाई केस बुझाएका छौँ । बाँकी अनुसन्धान उतैबाट हुन्छ ।’
जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार सोमबार बिहान ७ बजे बाँकेको राँझा विमानस्थलबाट श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौं जान लागेका सापकोटालाई विमानस्थलमा खटिएको सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको थियो ।
यता सापकोटाले आफु निकटका व्यवसायीहरुलाईसमेत आफुहरु दुई जना भएको र कसैले समातेको खण्डमा एक जना भागेर बाँकी केस मिलाउने काम हुन्छ भन्ने गरेको व्यवसायीहरुको भनाई छ । ‘पैसा दिंदा केहि व्यापारीहरुले यो पैसा समातियो भने के हुन्छ भनेर उनका सहयोगीहरुलाई सोध्दा एउटालाई पक्रिए अर्को भागेर बाँकी सबै केस मिल्छ भनेका थिए ।’ स्थानीय एक व्यापारीले भने, ‘हदै दु:ख दिएका थिए । त्यसपछि सल्लाहमै सुराकी दिएका थियौँ । अन्तत: प्रहरीले उनीहरुलाई पक्राउ गरेछ ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK