काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाका १९७ कर्मचारीले सामुहिक राजिनामा दिएर आन्दोलन थालेका छन् । आशा र राष्ट्र उत्थान मर्जरपश्चात् बनेको आशा लघुवित्त वित्तीय संस्थाका हाकिमहरुले मर्जर पछाडि एक निश्चित समूह र कर्मचारी हेरेर कर्मचारीमाथि पेलान भएको, अभद्र व्यवहार गरेको लगायतका आरोप लगाउँदै साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीले सामुहिक राजिनामा दिएर आन्दोलन थालेका हुन् । उनीहरुले ११ बुँदे माग राख्दै राजीनामा दिएका छन् । सामुहिक राजिनामा दिएर उनीहरुले आन्दोलन थाल्दा लघुवित्तको काम प्रभावित बनेको छ ।
भएको के हो ?
मर्जरपछि साबिकको आशा लघुवित्तका कर्मचारीलाई मात्र काखी च्यापेर साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीहरुमाथि अन्याय गरिएको कर्मचारीको आरोप छ । संस्थाका निमित्त प्रमुख कार्यकारी निर्देशक बद्रीप्रसाद दुलालको नेतृत्वमा कर्जा असुली तथा अनुगमन विभागका विभागीय प्रमुख रविन खतिवडा र शाखा सञ्चालन तथा तालिम विभागका विभागीय प्रमुख पुष्कर मिश्रले राष्ट्र उत्थानको शाखा निरीक्षण गर्ने बहानामा मादक पदार्थको सेवन गरी सम्पूर्ण कर्मचारीहरूमाथि अनावश्यक रूपमा नीति नियम विपरीत अभद्र व्यवहार गरेको कर्मचारीको आरोप छ । ‘जाँड खाएर दिउँसै रमिता देखाउने काम भयो । कर्मचारीमाथि अश्लील शब्द प्रयोग गरेर गाली गलौज गर्ने काम भयो ।’ राजिनामा बुझाएकामध्येका एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘हदै भएपछि हामीले राजिनामा बुझाएका छौँ । हाम्रो माग सम्बोधन नभएसम्म कुनै पनि काम हुन पनि नदिने भनेका छौँ ।’
‘अनि राजिनामा पनि बुझाउने, आन्दोलन पनि गर्ने गरेको ?’ हाम्रो प्रश्नमा ती कर्मचारीले भने, ‘हो । यसो गर्नुको कुनै विकल्प नै भएन ।’ उनका अनुसार राष्ट्र उत्थानका कर्मचारीहरुलाई छानी छानी अनावश्यक दबाब दिईएको छ भने राष्ट्र उत्थानका कर्मचारी आवश्यक छैन भन्दै कर्मचारीलाई हतोत्साहित बनाउने काम भएको छ । ‘कर्मचारीलाई छानीछानी जागिरबाट निकालिदिने, अरु संस्थामासमेत काम गर्न नमिल्नेगरी कार्वाही गर्ने लगायतका चेतावनीमात्र आईरहेपछि, अव यसरी हुन्न भनेर हामीले राजिनामाको बाटो रोजेका हौँ ।’
कर्मचारीहरुले एक विज्ञप्ति नै जारी गरेर सेवा सुविधा समायोजन गरी आफ्ना मागहरू पूरा गरेमा कामलाई निरन्तरता दिन सकिने जानकारी दिएका छन् ।
कर्मचारीको सामुहिक राजिनामापछि लघुवित्तका उच्च तहका कर्मचारीहरु छलफलमा जुटेका छन् । छलफलका क्रममा अनुगमन गर्दा र बिग्रिएको काम सुधार्न सुझाव दिँदा उच्च तहका कर्मचारीहरुमाथि गलत आरोप लगाइएको धारणा केहि हाकिमहरुले राखेका छन् भने केहिले समस्याको समाधान खोजेर अघि बढ्नुपर्ने राय राखेको बताइएको छ । ‘कर्मचारीले लगाएका आरोपहरु ठिक होइनन् । ऋण बिग्रिएको छ, अवस्था गाह्रो छ । ऋण उठाउन अलि लागौँ भन्दा अनावश्यक आरोप थुपारियो ।’ संस्थाका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘अफिसमा जाँड खाएर गएको भन्ने कुरा पूर्ण रुपमा निराधार हो । बोल्न थालेपछि जे पनि बोल्ने काम भएको छ । भलै, हामी यो समस्याको समाधानको प्रयास गर्दैछौँ ।’







